समुन्नत नेपालको सपना-रिसब गौतम

समुन्नत नेपालको सपना-रिसब गौतम


राजनीतिक अस्थिरता, अराजकता र सङ्कटले देशको समग्र वस्तुस्थिति घाइतेझैं भएको छ । सङ्घर्ष र त्यागबाट प्राप्त लोकतन्त्र, सङ्घीयताजस्ता महत्त्वपूर्ण उपलब्धिसमेत मासिने सम्भावना बढेर गएको छ । नागरिकले आफ्नो जीउ, धन र अधिकारको उचित सम्बर्धन गर्न सकेको अवस्था छैन । नयाँ नेपाल त एउटा सपना मात्र बन्यो । जनताले राज्यबाट पाउनुपर्ने सुरक्षा, सुशासन, विकास र आश्वासन पाउनु त कता हो कता उल्टै चरम निराशा पाउँदै गए । म देशको स्वाधीन, स्वावलम्बी र अधिकारसम्पन्न नागरिक हुँ भन्ने अवस्था कोही कसैलाई पनि रहेन । विकास निर्माण र समृद्धिका कुरा पनि काल्पनिक नै बन्दै गए । एउटा नेपालीले अर्को नेपालीलाई सम्मान र सदभाव प्रकट गर्नु त कता हो कता जातीय, राजनीतिक दलीय अधारमा आफ्नो र अर्को छुट्याउने र अन्याय गर्ने संस्कार तीव्र विकास हुँदै गयो । हुँदाहुँदै अहिले सत्ताकै लागि दलहरू एकआपसमा सहमति र बहस नै गर्न नसक्ने र युद्ध नै गरी जितहारको फैसला गर्ने स्थितिमा पुगे । दलहरूमा विकसित नकारात्मक सोचकै कारण आज सिङ्गो मुलुकले सोमालिया, अफगानिस्तानकै रूप धारण गर्दै छ । जताततै अस्तव्यस्तता र अराजकताले जकडिएको छ मुलुक यतिबेला । आर्थिक, राजनीतिक, सामाजिक, धार्मिकजस्ता सबै क्षेत्र कोलाहल र गन्जागोल भएको छ । पर्यटकीय दृष्टिले संसारकै अनुपम देश भएर पनि असुरक्षा र अशान्तिले पर्यटकको बाटो बन्दझैं भएको छ । मनमा शान्ति र सद्भाव कायम हुने आशमा बुद्धको देश भन्दै नेपाल आएका विदेशीहरूले समेत बुद्धकै देशमा अशान्ति ? भनेर प्रश्न उठाउँदै छन् । तर, हामी नेपालीहरू किन लाचार छौँ – कर्तव्यविमुढ छौँ, अधिकार खोज्छौँ, कर्तव्यको हरण गर्र्छौं । नाम र सम्मान खोज्छौँ तर बेइमान गर्छौं । लक्षित उद्देश्य हासिल गर्ने सजिलो बाटो इन्कार गर्र्छौं तर अप्ठ्यारो अराजक बाटो रोज्छौं अनि आपसमा जुझ्छौँ, लुछाचँुडी गर्छार्ंै । परिआए अर्काको करङ गन्छौँ, ढाड सेकाउँछौँ । के त्यही हो हाम्रो चिनारी ? के त्यही थियो हाम्रो इतिहासले सुम्पिएको दायित्व ? हामीमा मृत्युशोकमा भावुक हुने अदृश्य क्षमता छ । केहीअघि काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइरालाको मृत्यु हुँदा हाम्रा नेताहरू भावविभोर भएको कति नरमाइलो थियो । त्यतिबेला नेताहरूले भावविभोर मुद्रामा देशलाई अग्रगति दिने, शान्ति र संविधान निर्माण गर्न मिलेर अघि बढ्ने आशय व्यक्त गर्दा सारा जनता हरि्षत थिए । तर फेरि के भयो नेताहरूको मानसमा ? कहाँ खोपियो पदचाप देशको ? के यसरी नै सधैं देशको बेहाल भएको हामीलाई सैह्य छ त ? अवश्य छैन न । त्यसो भए देशको बारे कहिले सोच्ने ? कहिले हामीले समृद्ध नयाँ नेपालको सपना पूरा गर्ने ?
आन्दोलन नै आन्दोलन, समस्यैसमस्या अनि रोग, भोक, अशिक्षा, अराजकतामा हाम्रा पूर्वजहरू, अग्रजहरू प्रताडित भए भइनै रहे । तर हामीले प्रकृतिले दिएको यो सुन्दर जीवनको सार्थकता कहिल्यै बुझ्न सकेनौँ । हाम्रा पुर्खा र अग्रजहरूले कहिल्यै सुख र शान्तिको स्वास फेर्न सकेनन् । जीवनभर बिहानबेलुकीको हात-मुख जोर्ने समस्यामै कैयौँ हाम्रा पुर्खाहरू स्वर्गीय भए । त्यो दु:ख, त्यो दर्दनाक पीडा अझै हामी झेल्दै छौँ निरन्तर रूपमा । र, अझै कति झेल्नुपर्ने हो भविष्यको गर्भमा छ । तर २१औँ शताब्दीको यो आधुनिक साइबर युगमा संसारमै नेपाल सबैभन्दा पिछडिएको गरिब मुलुक हुनुले हाम्रा आत्माहरू चिन्ताले छियाछिया भएका छन् । युवाहरूको ठूलो जमातले केही बुझ्ने हुनासाथ आफ्नो आँगनभन्दा सम्पन्न मुलुक सपनाको महलमा सजाउन पुग्छन् । र क्रमश: टाठाबाठा अनि आर्थिक रूपले केही सम्पन्न, केही बुझेका, जानेकाहरू बाहिरिन्छन् सदा सदाका लागि ।
स्वदेशमै केही गर्छौं भन्नेहरू, राजनीतिमा लागेर जनताको सेवा गर्छु भन्नेहरू स्वार्थको घेराबाट माथि उठ्न नसक्दा देश बिमारग्रस्त भएको छ । राजनीति सेवा हो भनिन्छ र्समर्पण हो भनिन्छ तर गरिब दुखिया, किसान, मजदुर, हलीलाई बेवास्ता गरिन्छ । बरु उनीहरूलाई राजनीतिक सङ्क्रमणको जोखिममा प्रयोग मात्र गरिन्छ । आफ्ना राजनीतिक अभीष्ट पूरा भएपश्चात् आफू र आफ्नाहरूबाहेक आमजनतालाई बिरि्सइन्छ । विगत ६० वर्षयता हुँदै आएका आन्दोलन, उपलब्धि र सरकारी कार्यसम्पादन हेर्दा यस्तो लाग्छ जनता भनेका दु:खका सारथि मात्र हुन्, सुखका होइनन् । अरू नै टाठाबाठा छट्टुप्रसादहरू हुन् । जनताले रगत मागे रगत दिन्छन्, बलिदान मागे बलिदानी गर्छन्, श्रम मागे श्रमदान गर्छन् तैपनि देश खाडीको मरुभूमिजस्ता जताततै उजाड उदास किन – दु:खको बेलामा जनताको साथ लिने र सुखको बखत जनतालाई बेवास्ता गर्ने नेता महोदयहरूलाई खै कुन शब्दले धिर्क्काने † उनीहरूले बुझून्, रोग, भोक, अशान्ति, अराजकताले आक्रान्त बनेको मुलुकको आमूल पुनर्संरचनाका निम्ति विगतका तमाम दलीय रिस, राग र कटुता बिर्सनैपर्छ । सबैले आ-आफ्नातर्फबाट आवश्यक त्याग गर्नैपर्छ र सहमतिको राजनीतिलाई खुराफातीमा उडाउने होइन कार्यान्वयन तहमा ल्याउनैपर्छ । होइन भने आमजनताले नेतृत्वलाई सधैं घृणासिवाय केही गर्ने छैनन् ।