- युरोप प्रतिनिधि
नवलपुर समाज बेल्जियमको सोमबार (११ नोभेम्वर) बसेको विशेष बैठकले समाजको सम्मेलन आगामी वर्षको पहिलो महिना अर्थात् २०२५ जनवरी ६ तारिक सोमबारको दिन लुभेन शहरमा गर्ने निर्णय गरेको छ। बैठकले दिनेश पाठकलाई अधिवेशनको संयोजक तोकेको छ ।
अध्यक्ष विजय मल्लको सभापतित्वमा बसेको बैठकमा नवलपुर समाज बेल्जियमले बिगतका सांगाठनिक गतिविधिहरुको समीक्षा गर्दै नवलपुर समाज बेल्जियमको चौथो अधिवेशनको मिति तोकेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशका ११ जिल्लाहरूमध्ये एक हो । २०१८ सालमा पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टाछुट्टै नवलपुर र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको थियो। त्यहि कारण नवलपरासी समाजको तेश्रो अधिवेशनले आफ्नो पुरानो नामको सट्टा नयाँ नाम नवलपुर समाज प्रयोग गर्ने निर्णय गरेको हो।
यो समाजले संसारभर दर्जनौँ नवलपुर समाजहरुको संजाल बनाइसकेको छ । बेल्जियममा रहेका नवलपुर जिल्लाबासिबीच पारिवारिक सम्बन्धको बिस्तार गर्दै जिल्लाको स्वास्थ्य, शिक्षा तथा खेलकुदमा सहयोग गर्ने उद्देश्य गठन भएको यो समाजले नवलपुरको विविध क्षेत्रको विकासमा विशेष सहयोग पुऱ्याइरहेको छ । यसले प्रवाशमा रहेका जिल्लाबासीबिच प्रगाढ सम्बन्ध बनाउन पनि अहोरात्र खटिरहेको समितिका अध्यक्ष बिजय मल्लले बताएका छन् ।
नवलपुर जिल्लामा स्थानीय तहको नयाँ विभाजनअनुसार गैँडाकोट, देवचुली र मध्यविन्दु गरेर चार नगरपालिका छन् भने बौदिकाली, बुलिङटार, विनयी त्रिवेणी र हुप्सेकोट गरेर चार गाउँपालिका रहेका छन् । मुख्य भाषा नेपाली रहेको यस जिल्लामा थारू, अवधी, गुरुङ, तामाङ्ग, बोटे, मगर, नेवारी लगायतका भाषाहरु पनि बोलिन्छ । १४२६ बर्गमाइल क्षेत्र ओगटेको यो जिल्लामा ३,७८,०७९ जनसंख्या रहेको छ भने यसको सदरमुकाम कावासोती हो।
स्मरण रहोस्, नवलपुर समाज बेल्जियमका संस्थापक अध्यक्ष अमृत प्रधान थिए भने दोश्रो र तेश्रो कार्यकालमा क्रमशः रमेश सापकोटा र बहालवाला अध्यक्षको रुपमा विजय मल्ल कार्यरत छन् ।
प्रतिक्रिया