‘पपुलिज्म’, सहकारी ठगी र ‘रवि छोडो’ आन्दोलन !

‘पपुलिज्म’, सहकारी ठगी र ‘रवि छोडो’ आन्दोलन !


‘पपुलिज्म ग्लोबल फेनोमेना’ भएपनि क्षणिक र घातक मान्यता हो । राजनीतिमा देखिएको ‘पपुलिज्म’ले भूराजनीतिमा हानी नोक्सानीबाहेक केही गरेन । नेपालमा त्यसले झन् ठूलो घाटा पाऱ्यो । दार्शनिक, सैद्धान्तिक र सांगठानिक आधारबिना नै मतदाताले किन र कसरी घन्टीमा यसरी मत जाहेर गरे ? के यो नेपाली राजनीतिमा देखिएको सामाजिक विद्रोह थियो ? जे होस् त्योबेला त्यसखाले ‘नेगेटिभ पपुलिज्म’ बिक्यो । रवि लामिछानेजस्ता ‘स्टन्टबाज’को चटक त्यतिबेला बिक्यो । गृहमन्त्री भएपछिका सबैजसो गतिविधि र क्रियासमेत एउटा चटकेले देखाउने चटक जस्ता मात्र देखिन्थे । अहिले अदालतको विधि र प्रक्रियाअनुसार सहकारी ठगी र अन्य फौजदारी आरोपमा थुनिएपछि भए/गरिएका सडकका ‘फन्टुस हर्कत’ पनि त्यस्तै छन् । राजनीतिलाई ‘मौसमी व्यापार’को सोचले खुलेको रविको समूहले अहिले ‘थुनुवा छोडो आन्दोलन’ गर्दैछ । इतिहासमा कहिल्यै भएन यस्तो ! पञ्चायतमा पनि फौजदारी अभियोगमा थुनिएकालाई कसैले जुलुस लगाएर ‘छोडो’ भनेन । एकातर्फ देशभर हजारौँ सहकारीपीडित सडकमा रोएर बसेका छन् । उता ‘थुनुवा छोडो’को नाटक चल्दैछ । विडम्बना !

यसअघि नेपाली नागरिकता त्यागेर अमेरिका भासिएका लामिछानेले ढाँटेर आफ्नो पुरानो नागरिकताको गैरकानुनी प्रगोग गरी दुरुपयोग गरे । पासपोर्टको दुरुपयोग गरे । चितवनमा आफ्ना सहयोगी पुडासैनीलाई मर्न विवश पारेर आत्महत्या दुरुत्साहन गरे । चितवनमा चालक मारिए । आधा दर्जनजति श्रीमती भित्र्याए । तैपनि ‘भेडाजुलुस’को भरमा बच्दै आएका थिए । अनेकौँ अपराधमा प्रत्यक्ष मुछिएपनि चटक गरेर पानीमाथिको ओभानो भइरहे । ठगीखाने सोच, चटके प्रवृत्ति, व्यवहार, शैली, सोच, चिन्तन र तरिका धेरै टिक्दैन भन्नेचाहिँ अब प्रष्ट देखियो ।

कानुनले ‘स्ट्रीक’रूपमा लिने नागरिकता जस्तो संवेलनशील विषयमा खेलाँची गरेपनि सत्ताको संख्याको कारण बचे । मान्छे वा व्यक्ति पद वा हैसियतमा जतिसुकै ठूला वा चर्चामा भए पनि कानुनभन्दा माथि कोही पनि हुँदैन र छैन भन्ने कुरा सर्वाेच्चका विभिन्न फैसलाले फेरि प्रमाणित गरेको छ । हालैको सरकारी अनुसन्धानका क्रममा रविलाई थपिएका म्यादथपसम्बन्धी कार्यले पनि त्यो पुष्टि गरिआयो ।

राजनीति भनेको नीतिको पनि नीति हो । राजनीतिका माध्यमबाट राज्य सञ्चालन हुने हो । राजनीति एउटा दर्शन र मान्यता हो । यही दर्शन र मान्यतालाई वैचारिक, सांगठानिक, सैद्धान्तिकतामा ढाल्दै विचार, कार्यक्रम, संगठन र दृष्टिकोणको माध्यमबाट गरिने संगठित तथा सचेत अभियान र आन्दोलन हो राजनीति । तर आपराधिक र राजनीतिलाई ‘मौसमी व्यापार’ बनाउने सोचका ‘पपुलिष्ट’ जोकरहरूले राजनीतिलाई ठगीखाने भाँडो बनाए । उल्लिखित पक्षलाई पूरै अनदेखा गर्दै लामिछानेले ठगी र अपराध लुकाउन आफूलाई ‘स्वतन्त्र’ देखाउन र भन्न खोजे । राजनीतिमा विचारको, संगठनको, दृष्टिकोणको तथा कार्यक्रमको दलीय पक्षधरता हुन्छ, हुनुपर्दछ, तर लामिछाने यही आधारभूत मान्यता र मूल्यमा नै चुके ।

केवल चटक देखाएको भरमा उनी संसद् र सत्तामा पनि पुगे । जहिल्यै गृहमन्त्री आफैंले खानुपर्नाको कारण दिनदिनै बढी प्रस्टसँग खुल्दैआएका छन् । उनलाई राजनीति गर्न, देशको उन्नति, प्रगति र समृद्धिमा सहयोगी बन्नको लागि दल र पार्टी खोल्न कसैले रोक्ने थिएन, रोक्दैन । भ्रम छर्न र ठग्न मात्र दलको नाम नै ‘स्वतन्त्र’ राखे । त्यो भन्दा सस्तो भद्दा तरिका केही होइन । ‘कमन नेम’लाई ‘प्रपरनेम’मा प्रयोग गरियो । लुकेर, लुकाएर, ढाँटेर दल बनाउनुपर्ने अवस्था दलीय प्रजातन्त्रमा छैन, हुँदैन । नेपाली नागरिकलाई कानुनी विधि पूरा गरेपछि सबै गर्ने अधिकार हुन्छ । त्यसरी आफूलाई ढाँटेर, लुकाएर ‘स्वतन्त्र पार्टी’ खोल्नुपर्ने आवश्यकता किन पऱ्यो ? स्वतन्त्रको जामा लगाएर आफूलाई ढाँट्नुपर्ने थिएन, तर उनले ढाँटे, ढाँट्दैछन् । अपराधको आरोपमा थुनिएका बेलासमेत आफूलाई छुटाउन गैरकानुनी हर्कत र नारा सडकमा लगाउन आफ्ना ‘हनुमान’लाई भन्नु लाजमर्दाे भयो । दलीय प्रजातन्त्रमा कसैले पनि आफूलाई पूर्ण स्वतन्त्र हुँ भन्छ भने कि राजनीतिक चेतना र विचारशूल्य मान्छे हो, होइन भने ऊ ढँटुवा र मतलबी हो । अर्थात् चटके हो । रवि चटके हुन् । चटकेले केही तातोपानी लाउन सक्दैनन् ।

राजनीतिशास्त्रले कुनै खास अवस्था र समयमा पूरै मौन रहनु पनि कुनै विचार, दल र पक्षको समर्थन वा विरोध गर्नु हो भन्ने मान्यता राख्ने भएकोले दल खोलेर चुनावमा भाग लिने स्वतन्त्र भन्नु आवश्यक छँदैथिएन । प्रष्टै फलानो दल भन्दा हुन्थ्यो । यसो नगर्नु रवि लामिछानेको पहिलो विचारधारात्मक कमजोरी, चटक र चुनौती एवम् दुःख भयो । यसैले उनी आफ्नै ढाँट, छल र अपराधबाट घेरिएका हुन् । सहकारी ठगीमा संलग्न हुने तर आफूलाई थाहा भएन भन्ने बच्चापाराले उनको भ्रम धुलो भयो । उनी सकिन्छन् । रविलाई जेलजानबाट कसैले रोक्न सक्दैन ।

राजनीतिक संगठन र पार्टी अघि बढ्ने, टिक्ने र जनतामा बिक्ने मूल आधार भनेको वैचारिकता, दर्शन र सैद्धान्तिक आधारले हो । विचारधारा, दर्शन, दृष्टिकोण, संगठन, राजनीतिक मूल्य र दर्शनको सहारा नलिइ कुनै पनि पार्टी अगाडि बढाउन खोज्नु भनेको अराजक, आक्रोशित र उद्दण्ड भीड जम्मा गर्नु मात्र हुन्छ । भीडको बुद्धि, विवेक, ज्ञान र योजना हुँदैन । जनावर जस्तो तत्कालको अघिको मात्र देख्दछ भीडले । रविको समूह त्यही हो, जो कुनै पनि दिन वा समयमा आफैँ छिन्नभन्न हुन्छ, हुन्छ । रविले पार्टी राजनीतिमा जान चाहेको हो भने लोकतान्त्रिक, संवैधानिक, संघीय गणतन्त्र, प्रजातन्त्र, विधिको शासनका आधारभूत मूल्यलाई स्विकार गर्नु सक्नुपर्दछ । कानुनभन्दा माथि कोही हुँदैन । रवि लामिछाने को हुन् जसलाई अनुसन्धान गर्न हुँदैन ? तत्कालीन उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमले माइतीघरमा संविधान जलाएर त्यै नारा र नाममा पार्टी बनाएर संसदमा ५२ सिट जितेपनि पछि बिलाए । त्यो तरिका अब टिक्दैन । ‘राजा… राजा’ भन्दै अर्का लिङ्देनले चटक देखाए । यस्ता चटक समयक्रममा आफै समाप्त हुन्छ, हुन्छ ।

राजनीतिक शक्ति मूलतः राजनीतिक संघर्ष, क्रान्ति, सामाजिक-राजनीतिक परिवर्तनमा सचेतनतापूर्वक सहभागी भई जनताको नेतृत्व लिएको हुनु आवश्यक हुन्छ । राजनीतिक/सामाजिक संघर्ष र क्रान्तिले नै राजनीतिक दललाई जनताको साथी बनाउने हो । क्रान्ति र संघर्षसँग कुनै सम्बन्ध र राइनो नभएको संगठन र नेता अस्थायी हो । रविसँग नागरिक, सामाजिक र राजनीतिक आन्दोलनको कुनै साइनो छैन । चटक र भ्रम मात्र हो । थुनुवाबाट छुट्न गरिएका हर्कतले उनको केटाकेटीपना उदाङ्गो पार्दैछ । विवेकशील साझा हुने बाटो उनी हिँड्दैछन् ।

लोकतन्त्रका खम्बा दल

लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक पार्टी लोकतन्त्रका खम्बा हुन् । संघर्षको इतिहास भएका दल घरका ‘पिलर’ जस्ता हुन् । त्यस्तो पिलर आफैं संगठित हुन अत्यावश्यक हुन्छ । चुनावमा भोट बढी आउनु र आधारभूत जनताको तहमा संगठन हुनु वा नहुनुमा ठूलो अन्तर हुन्छ । संगठनको आधार नभएको राजनीतिक दल र शक्तिले ल्याएको कुनै पनि कार्यक्रम सफल हुन कठीन हुन्छ । संगठन नभई जनताले दलको अपनत्व लिने कुरा पनि हुन्न । यसैले लामिछानेको सोच, कार्य र हालैका हर्कतले उनी राजनीतिको ‘हाट बजार’मा ‘मौसमी फल’ बेच्न र खान आएका रहेछन् भन्ने प्रस्ट देखायो । आपराधिक सोचले भरिएका भ्रम, फन्डा र भीडको आधारमा जितेको चुनाव अर्को निर्वाचनसम्म रहँनै सक्दैन । यसर्थ जनतासँग प्रत्यक्ष सम्बन्ध र अन्तरक्रिया गर्ने भनेको जनताको संघर्षको जगमा स्थापित भएका राजनीतिक संगठनको माध्यमबाटै हो ।

सहकारी ठगीमा रवि

सहकारी ठगीमा प्रत्यक्ष जोडिएका रविको दलचाहिँ फिल्म र टेलिभिजनको चटक नाटक जस्तो मात्र हो । यसअघि कार्यकारी पदमा पुग्दा पनि लामिछानेले उही चटक तथा चटकेशैली देखाए । सहकारी ठगीमा उनी हिलोमा फसेको भैँसी जस्तोगरी फसेका छन् । ‘होइन’, ‘थाहाछैन’ भनेर कानुनले प्रमाणको आधारमा छोड्न सक्दैन । नागरिकलाई चटकसटक होइन, काम र परिणाम चाहिएको हो । देखिनेगरी हुने परिवर्तन चाहिएको हो । गएको सत्तामा उनी गृहमन्त्री बन्दा पनि अर्काको मन्त्रालयको कार्यक्षेत्रमा प्रवेश गरी पासपोर्टको दुःख हटाउने भन्दै पासपोर्ट विभागमा गएर अर्थहीन चटक गरे । त्यो चटकको कारण त्यसबेला नागरिकले थप दुःख पाए ।

खासमा अहिले पनि एउटा सवारी लाइसेन्स लिन महिनौँ धाउनुपर्ने अवस्था छ । चटकैचटकका बीच उनको सहकारीसम्बन्धी ठगीको मुद्दा वा विषयले उनी समेतलाई प्रस्ट दोषी देखाएपछि आफूलाई ‘जुलुस लगाएर’ छोडाउने ‘बच्चा सोच’ राखेको देखिन्छ । सारमा स्टन्ट, भ्रम र चटकको आयु धेरै हुँदैन भन्नेचाहिँ नेपाली राजनीतिमा देखिएका विभिन्न घटनाहरू, पात्र र प्रवृत्ति समेतबाट थप प्रष्ट हुँदै आएको छ । ‘पपुलिज्म’को भरमा अपराधमा संलग्न भएका कोही पनि बच्न सक्दैन । सालिकराम पुडासैनी काण्डमाजस्तो जुलुस लगाएको भरमा आरोपितलाई गैरकानुनी तरिकाले छोड्ने हो भने मुलुकमा अराजकता बढ्न पुग्दछ । सरोकार पक्ष सबैलाई हेक्का रहोस् !