पुनः शक्तिशाली माओवादी आन्दोलन सृष्टि हुने प्रचण्डको दाबी

पुनः शक्तिशाली माओवादी आन्दोलन सृष्टि हुने प्रचण्डको दाबी


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताएका छन् ।

माओवादी केन्द्र काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको शनिबार (१ मङ्सिर) काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनःआवश्यक भएकामा जोड दिए ।

‘हामीले संविधान जारी हुँदा जे ‘नोट अफ डिसेन्ट’ लेखेका थियौँ, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगतको अनुभवले देखाइसकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प लिएको छु ।’ उनले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहित नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गरे ।

पार्टी छाडेर बाहिर बसेका पूर्वसहकर्मीलाई गोलबन्द गरी समाजवादी अभियान अघि बढाउन सकारात्मक पहल भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘छिट्टै माओवादी धारहरू एकताबद्ध हुनेछन् र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुनेछ ।’

photo: rss