राष्ट्रियगानको धुन बजाएर कार्यसम्पादन आरम्भ
- कृष्णपक्ष थापा, इजरायल
इजरायलस्थित नेपाली राजदूतावासले सेवा सुचारु गर्नुपूर्व अनिवार्य रूपमा राष्ट्रियगानको धुन बजाएर कार्यसम्पादन आरम्भ गर्ने परम्पराको थालनी गरेको छ।
नेपाली राजदूतावास, तेल अविवका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको दूतावासको मिति २०८१ असोज २१ गतेको बैठकले पारित गरेबमोजिम नेपाली राजदूतावास, तेल अविवले मिति २०८१ मङ्सिर ०२ गते आइतबारबाट दूतावासको कार्यालय समय ठिक ०९ बजे राष्ट्रिय झन्डाको साथमा “नेपालको राष्ट्रिय गान” बजाइ कार्यालयको कामको शुभारम्भ गरिएको छ । नेपाली टोपी लगाएका दूतावासका कर्मचारीहरूको उपस्थितिमा राष्ट्रिय गान बजाइएको थियो ।
कार्यालयको काम नेपालको राष्ट्रिय गान बजाएर सुरुवात गर्ने प्रचलन पहिलो पटक यस राजदूतावासमा लागू गरिएको हो ।
इजरायलका लागि कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले यस्तो अभ्यासले कूटनीतिक नियोगका कर्मचारीहरूमा राष्ट्र प्रेमको भावना अभिवृद्धि गराउनुका साथै अनुशासन र सेवा भावको सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । यसका साथै नेपाली दूतावास परिसरमा निरीक्षण गर्न या विविध कार्यक्रमको सिलसिलामा आइपुगेका अन्य देशका विदेशी प्रतिनिधिहरूलाई समेत नेपाल र नेपालीप्रति सम्मान वृद्धि हुने उहाँको धारणा छ ।
नेपालको राष्ट्रियगानको सुरुवातसँगै नेपालको आफ्नै प्राचीन संवत् “नेपाल संवत् ११४५” लाई दूतावासको सरकारी कामकाजका चिठ्ठी पत्रहरूमा प्रयोग गर्नेगरी नेपाल सरकारबाट भएको निर्णयबमोजिम यस राजदूतावासले मिति २०८१ मङ्सिर ०२ गते आइतबारबाट सरकारी पत्राचार गर्दा अनिवार्य रूपमा नेपाल संवत् उल्लेख गर्ने कार्यको सुरुवात गरेको छ ।
विक्रम संवत् उल्लेख हुने आफ्ना सरकारी डकुमेन्ट, विज्ञप्ति लगायत पत्राचारका लागि प्रयोग हुने लेटर हेडसहितका सम्पूर्ण कागजातमा नेपाल संवत् समेत समावेश गर्ने निर्णय नेपाली दूतावास इजरायलले गरेको हो ।
नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत श्रेष्ठका अनुसार सङ्घीय मन्त्रिपरिषद्ले अघिल्लो वर्षदेखि नै सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको भएता पनि व्यवहारिकता या विविध कारणले सम्पूर्ण कूटनीतिक नियोग तथा निकायहरूमा यसको अभ्यास भइसकेको थिएन । विगत लामो समयदेखि नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । नेपाली दूतावास इजरायलको यस निर्णयबाट अन्य देशका कूटनीतिक नियोगहरूमा पनि यस अभ्यासको सकारात्मक सन्देश जाने उहाँले बताउनुभयो ।
प्रतिक्रिया