प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । आज (३ मङ्सिर) ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । ‘नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो । त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेल्नुभएको स्मरण गर्नुहुँदै उहाँको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताउनुभयो ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
photo: rss
प्रतिक्रिया