नक्कली फेसबुक आइडीको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
आचार्यले भनेका छन्, ‘पक्राउ परेका रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब रु २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’
सूचना अधिकारी आचार्यका अनुसार निजले सोही आइडिको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
निजलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
प्रतिक्रिया