भ्रष्टाचार नियन्त्रणमा युवा समूह

भ्रष्टाचार नियन्त्रणमा युवा समूह


-शिवराम न्यौपाने
भ्रष्टाचारको प्रवृत्तिले सार्वजनिक पद धारण गरेका व्यक्तिदेखि गैरसरकारी एवम् निजी क्षेत्रसम्मका व्यक्ति तथा संस्थाहरूलाई प्रभाव पारेको छ । अर्थात् यो सरकारी निकायहरूमा मात्र सीमित नरही अर्धसरकारी, सामुदायिक, सहकारी, साझेदारी, निजी उद्यम व्यवसायसम्म फैलिएको छ । सरकारको नेतृत्व गर्ने राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व गर्ने उच्चपदस्थ कर्मचारी, सामाजिक एवम् आर्थिक सुधारमा संलग्न गैरसरकारी निकायका प्रमुखहरू, न्यायालय, सहकारी एवम् सामुदायिक संस्थाका व्यवस्थापकहरू, विकास निर्माणमा संलग्न ठेकेदार तथा उपभोक्ता समूहसमेत भ्रष्टाचारको विवादवाट मुक्त हुन सकेका छैनन् । यसरी मुलुकका हरेक क्षेत्र एवम् पदाधिकारीहरूसम्म व्याप्त भएको भ्रष्टाचारको नियन्त्रणमा सरकारको प्रयासमा देशको सबल, सक्षम, सक्रिय शक्तिको सहयोग अपरिहार्य भएको छ । भ्रष्टाचारजस्तो जटिल र चुनौतीपूर्ण कार्यमा देशका युवाहरू तथा युवा समूहको सहभागिता र सक्रियता प्रभावकारी हुन सकेको छैन । यस सन्दर्भमा भ्रष्टाचारजस्तो जटिल र सङ्गठित अपराधलाई नियन्त्रण गर्न युवा, युवाहरू संलग्न भएका संस्थाहरूको प्रत्यक्ष र सक्रिय योगदान अत्यन्त जरुरी भएको छ ।
नेपाली युवा पुस्तावाट भ्रष्टाचार नियन्त्रणको अभियानमा ठोस योगदान प्राप्त हुन नसकेको तथ्य यथार्थ हो । युवापुस्ताको सक्रिय सहभागिता नभई यस कार्यमा सफलता हासिल हुन नसक्ने तथ्य पनि सत्य हो । यस पर्रि्रेक्ष्यमा युवा, युवाहरूका विभिन्न सङ्घसंस्थाहरूलाई भ्रष्टाचार हुने क्षेत्रहरू, भ्रष्टाचारका शैलीहरू साथै भ्रष्टाचारमा संलग्न व्यक्ति वा समूहहरू र भ्रष्टाचारबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा हुने नोक्सानीका बारेमा विस्तृत जानकारी गराई यसको नियन्त्रणमा सहभागिता वृद्धि गर्नु अपरिहार्य भएको छ ।
नेपालको सन्दर्भमा मूलत: भ्रष्टाचार हुन सक्ने क्षेत्रहरूमा प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, न्यायिक क्षेत्र, विकास निर्माणको क्षेत्र, शैक्षिक क्षेत्र, आर्थिक क्षेत्रहरू मुख्य रूपमा रहेका छन् । यस्ता क्षेत्रहरूमा नीतिगत भ्रष्टाचार, कार्य सम्पादनबापत सेवाग्राहीबाट गैरआर्थिक लाभ हासिल गर्ने, राजस्व वा कर छली गर्न सहयोग गरेबापत घुस लिने, सबुद प्रमाण गायव गरी वा कानुनलाई गलत व्याख्या गरी गलत निर्णय गर्ने, गलत निर्णय वा आदेश गरेबापत घुस लिने, शैक्षिक योग्यता ढाँटी नियुक्ति लिने वा पदोन्नति लिने, बढी रकमको बिल बनाउने वा सामानबिनाको बिल बनाई आर्थिक हिनामिना गर्ने, कमिसन लिनेजस्ता भ्रष्टाचारका कार्यहरू सामान्यत: पाइने गरेको छ । यस कार्यमा सार्वजनिक पद धारण गरेको व्यक्तिमात्र सहभागी नभई सेवाग्राही वा ग्राहक, दलाल, लेखापढी गर्नेहरूसमेतको सहभागिता हुन सक्दछ ।
देशको आर्थिक तथा सामाजिक विकासमा तीव्रता प्रदान गर्न आम्दानीका स्रोतहरूलाई चुस्त-दुरुस्त राख्नुपर्ने आवश्यकता एकातर्फ रहेको छ भने अर्कातर्फ विनियोजित आर्थिक बजेटको उचित र उच्चतम उपयोग हुनुपर्ने अपरिहार्यता रहेको छ । जटिल कानुन बनाउने, अस्पष्ट र दोहोरो अर्थ लाग्ने किसिमको निर्णयहरू गर्ने, लागतभन्दा बढी इस्टिमेट गर्ने, समयमै काम नगरी आर्थिक वर्षको अन्ततिर हतारमा काम गर्ने, बजेट फि्रज हुन नदिन अनावश्यक खर्चहरू गर्ने, जिम्मेवारी पन्छाउने, अनावश्यक गोप्यता र प्रक्रियाहरू देखाउने, कर्मचारी प्रशासनमा अनावश्यक राजनीतिक चलखेल हुने गरेका कारण भ्रष्टाचारका कार्यहरू विस्तार भएका छन् ।
केन्द्रीय स्तरमा जनताले प्रत्यक्ष नदेख्ने तर ठूला-ठूला नीतिगत भ्रष्टाचारहरू हुने गरेका छन् भने स्थानीयस्तरमा प्रक्रियागत वा कार्यान्वयनका सन्दर्भमा आर्थिक तथा भौतिक स्रोत-साधनहरूको दुरुपयोग हुने गरेका छन् । यस्ता क्षेत्रहरूमा हुने अख्तियार दुरुपयोगका सम्भावनाहरूलाई निगरानी गर्ने वा सुपरीवेक्षण गर्ने कार्य निष्त्रियप्राय: छ । साथै अख्तियार दुरुपयोगका उजुरीका साथै अनुसन्धान र अभियोजनको कार्य कमजोर हुने साथै यसविरुद्धको फैसलासमेत गलत हुने गरेका कारण पनि भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता हासिल हुन नसकेको अनुमान गरिएको छ । देशका युवापुस्ताहरूले यस्ता विषयका जानकारी राखी भ्रष्टाचारका सम्भावित क्षेत्रहरूमा निगरानी बढाउनु जरुरी भएको छ ।
भ्रष्टाचारलाई न्यूनीकरण गर्नका लागि मुलुकको युवा तथा युवा संस्थाहरूको भूमिका अपरिहार्य भएको छ । घर, परिवार, समाजका युवाहरूका साथै राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक क्षेत्रका युवा संस्थाहरूको योगदान यस कार्यमा प्रभावकारी हुन सक्छ । घर, परिवार, समाजका युुवाहरूले व्यक्तिगत रूपमा जनसम्पर्क हुने तथा विकास निर्माणका कार्यहरू हुने सरकारी वा गैरसरकारी केन्द्रहरूमा निगरानी गर्ने भ्रष्टाचारविरुद्धका उजुरी, सूचना, चियोचर्चो, विरोधलाई मजबुत गराउनेजस्ता कार्यमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । राजनीतिक भ्रातृ संस्थाहरूले राजनीतिक दलमा हुने साथै राजनीतिक नेतृत्ववाट सरकार एवम् अन्य सार्वजनिक पदहरूमा हुनसक्ने भ्रष्टाचारको निगरानी गर्ने, भ्रष्टाचारीहरूको संरक्षणका लागि हुने गरेका प्रशासनिक हस्तक्षेप नियन्त्रण गर्ने, नेताहरूको आयस्रोतको नियमित रूपमा सार्वजनिक गराउने, राजनीतिक स्वार्थका कारण हुने प्रशासनिक अन्योललाई नियन्त्रण गर्न दबाब दिनेजस्ता क्षेत्रहरूमा भूमिका प्रबल गराउनु आवश्यक छ ।
सामाजिक क्षेत्रका युवा संस्थाहरूवाट स्थानीय समाजमा भ्रष्टाचारविरुद्ध सङ्घर्ष समिति बनाउने युवा क्लबले यस कार्यमा भूमिका निर्वाह गर्ने, सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य पेसामा संलग्न व्यक्तिहरूको अस्वाभाविक जीवन शैलीको निगरानी गरी आयस्रोतको खोजतलास गर्ने, भ्रष्टाचारीलाई समाजमा बेइज्जत गर्ने वातावरण तयार गर्ने, स्थानीय क्षेत्रमा हुने विकास निर्माणको कार्यमा सहभागी भई नियमित रूपमा निगरानी गर्ने, अनावश्यक र खर्चिलो सामाजिक क्रियाकलापलाई क्रमश: नियन्त्रण गर्दै जाने, भ्रष्टाचारका गतिविधिहरूका बारेमा स्थानीय प्रशासनलाई जानकारी गराउने क्षेत्रहरूमा युवा संस्थाहरूको भूमिका प्रभावकारी गराउनुपर्छ । साथै शैक्षिक क्षेत्रका युवा संस्थाहरूले नैतिक शिक्षा, अनुशासनका बारेमा व्यापक प्रचारप्रसार गर्ने, भ्रष्टाचारविरुद्ध शैक्षिक संस्थाहरूका साथै समाजमा छलफल, अन्तरक्रिया गराउने, नैतिक शिक्षाका विषय र पाठ्यक्रमलाई शिक्षण-प्रक्रियामा संलग्न गराउन दबाब दिने, शैक्षिक संस्थाहरूमा हुन सक्ने अख्तियार दुरुपयोगका कार्यहरूमा निगरानी गरी उजुरी गर्नेजस्ता कार्यहरूमा भूमिका सबल गराउनपर्छ ।
युवाहरूको ऊर्जालार्इ र्र्भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा लगाउनु अत्यन्त जरुरी भएको छ । युवा तथा युवा संस्थाहरूको नेटवर्किङ विस्तार गरी, राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रलगायत गैरसरकारी क्षेत्रमा कार्यरत युवा संस्थाहरूको समेतको आपसी समन्वयबाट भ्रष्टाचारको विरुद्धमा आवाज तथा कार्यक्रमहरूलाई प्रभावकारी गराउनु आवश्यक भएको छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत यस कार्यमा संलग्न सरकारी केन्द्रीय तथा स्थानीयस्तरका निकायहरूले भ्रष्टाचार नियन्त्रणका आफ्ना कार्यक्रमहरूलाई युवा संस्थाहरूसँग सहकार्य हुने गरी सञ्चालन गर्नुपर्ने साथै युवा संस्थाहरूसँग नियमित रूपमा समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । साथै भ्रष्टाचार नियन्त्रणको कार्यमा उल्लेखनीय कार्य गर्ने युवा वा युवा संस्थाहरूलाई सम्मानित र पुरस्कृत गरी निरन्तर रूपमा ऊर्जा पद्रान गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।