- इन्दिरा खनाल, टोकियो (जापान)
जापानमा नेपालीहरुको जनसङ्ख्या बढेसँगै अन्तर्राष्ट्रिय स्तरको स्कुलको माग पनि बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै आउँदो अप्रिल महिनाबाट एसियन ब्रिज इन्टरनेशनल स्कुल संचालनमा आउने भएको छ ।
गत आइतबार टोकियोमा पत्रकार सम्मेलन गरी आउँदो अप्रिलबाट प्रि-प्राइमरीदेखि कक्षा ४ सम्म पढाइ संचालन हुने जानकारी गराइयो । नेपालीहरुकै लगानीमा संचालन हुने उक्त विद्यालय टोकियोको किता कु खामीनाकाजातो स्टेशननजिक रहेको छ ।
टोकियो र साइतामामा बसोबास गर्ने नेपाली लगायत अन्य एसियन समुदायका बालबालिकालाई जापानमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यका साथ विद्यालय संचालनमा ल्याइएको विद्यालयका अध्यक्ष डा. बलराम श्रेष्ठले जानकारी गराउनुभएको थियो । नेपाली पाठ्यक्रम र जापानको प्रविधिमा आधारित रही पठनपाठन गरिने उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अमेरिका र युरोपका विद्यार्थीसँग प्रतिस्पधा गर्न सक्ने नागरिक तयार पार्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अभिभावकलाई तपाईंका बालबालिका हाम्रो विद्यालयमा भर्ना गर्नुस्, हामी सक्षम, अनुशासीत, लगनशिल र विश्वसमुदायसंग प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार पार्छौं ।’
विद्यालयकी एकेडमिक डिरेक्टर दुर्गा पौड्यालले गुणस्तरीय शिक्षा दिनेमा प्रतिवद्ध रहेको बताउनुभयो । लामो समयदेखि शिक्षण पेसामा आवद्ध पौडेलले बालबालिकाहरुको सर्वाङ्गीण विकासमा ध्यान दिँदै सुन्दर भविष्य निर्माण गर्ने जिम्मा आफ्नो काँधमा आएको र पूरा गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, हालका अध्यक्ष शान्त पहरी, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा लगायतले विद्यालयको सफलताको शुभकामना दिनुभएको थियो ।
सुरुवाती चरणमा प्रि-प्राइमरीदेखि ४ क्लाससम्म संचालन गर्ने एसियन ब्रिजमा प्रत्येक वर्ष क्लास थप्दै विश्वविद्यालयसम्म संचालन गर्ने योजना रहेको विद्यालयले जनाएको छ । जापानमा लामो समयदेखि कानुनी व्यवसायमा आबद्ध रहनुभएका डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समितिको सदस्यहरुमा दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार र मनिराज सिलवाल रहनुभएको छ भने एकेडेमिक डिरेक्टर दुर्गा पौड्याल रहनुभएको छ ।
१० करोडको लगानीमा संचालन हुन लागेको उक्त विद्यालयमा ७० जना सेयर होल्डरहरुको संयुक्त लगानी रहेको बताइएको छ ।
प्रतिक्रिया