पार्टीविरोधि गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरी निलम्बित

पार्टीविरोधि गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरी निलम्बित


पार्टी अनुशासनविपरीत काम गरेको भन्दै नेकपा (एमाले) बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीको सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ ।

पार्टीलाई हानिनोक्सानी पुऱ्याउने मनसायका साथ पार्टीअध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्य-मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउनेजस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८ (३) र (४) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरूङले जानकारी दिएका छन् ।

अध्यक्ष गुरूङले लगातार पार्टी नेता र पार्टीविरूद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् । प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारूले लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पूर्वमाओवादी सेनामा रहेका थारू नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिवसम्म भएका थिए ।

प्रदेश सदस्य चौधरीले निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।