क्रिप्टो करेन्सीलगायत गैरकानुनी धन्दामार्फत ५५ करोडको कारोबार गर्ने पक्राउ

क्रिप्टो करेन्सीलगायत गैरकानुनी धन्दामार्फत ५५ करोडको कारोबार गर्ने पक्राउ


अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।

‘बेटिङ’ कारोबारमा सङ्लग्न रहेका पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् । उनलाई बुधबार (१२ मंसिर) सार्वजनिक गरिएको हो ।

अनुसन्धान गर्दा उनले ७५ वटा बैंक खाता, एक सय २८ वटा ईसेवा वालेट प्रयोग गरी रु ५५ करोड २० लाख कारोबार गरेको फेला परेको प्रहरीको भनाइ छ ।

राईले २५ भन्दा बढी जिमेल खोलेको पाइएको तथा अरुको नागरिकता प्रयोग गरी नक्कली खाता खोलेको, हुलियासमेत परिवर्तन गरी अवैध कार्य गर्ने गरेको फेला परेको प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा उल्लेख छ ।

राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता, १५ थान राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्डसमेत बरामद गरिएका छन् । उनले बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम, जुवा (सट्टाबाजी) गर्ने/गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो करेन्सीलगायत गैरकानुनी कार्य गरेको प्रहरीको निष्कर्ष छ ।

उनमाथि मुलुकी अपराध संहिताको व्यवस्थाबमोजिम अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।