‘हतियारको ब्यापार गर्ने पश्चिमा डिपस्टेट नै युद्धको कारक हो’
हामी सबैले सबैखाले युद्धबाट संसारलाई मुक्त राख्ने आवाजलाई अझै घनिभूत गराउनु टड्कारो आवश्यकता छ । अन्यथा आणविक युद्धपछि हामी आफैं नरहने त निश्चित नै छ, संसारको प्राणी जगत नै मानव अहङ्कारको आगोमा जलेर भष्म हुने खतरा छ ।
✍ डिल्ली अम्माई
युद्धको सबैतिरबाट ब्यापक विरोध हुनुपर्ने हो, तर हामी किन सम्भावित आणविक युद्धबाट कम चिन्तित छौँ ? यो कहालीलाग्दो विषय हो । वर्तमान विश्व परिवेश हेर्दा तेस्रो विश्वयुद्धको खतरा असीको दशक भन्दापनि बढेर गएको छ । विश्वभरिका राजनीतिज्ञहरूले फेरि आणविक युद्धका मुद्दाहरूमाथि छलफल गरिरहेका छन् र, केही नेताहरूले युद्धको पक्ष वा विपक्षमा आफ्नो संजाल-सब्रहरू हल्लाइरहेका छन् । सामान्य नागरिकहरू आणविक युद्धको डर, प्रकोप र दैनिक जीवनमा पार्ने गम्भीर मानसिक अवस्थाबाट गुज्रन बाध्य छन् । तर शक्तिशाली शासकहरू आफ्नो वर्चस्व लाद्ने ध्याउन्नमा युद्धको खेती गरिरहेका छन् । अमेरिकी ‘डिप स्टेट’ हतियार बेचेर अकुत नाफा कमाउनको लागि नयाँ नयाँ बजार निर्माण गर्दै हिँडेकैले गाजामा नरसंहार मच्चिएको हो । उता, रुस युक्रेन युद्धले रोकिने नामै लिएको छैन । अहिले युरोप र मध्यपूर्व मात्र नभएर युद्धको बिस्तारले संसार हायलकायल छ । महँगीले आकाश छोएको छ । सामान्य जनजीवनको अवस्था साङ्ग्लाको जस्तै गएगुज्रेको तुल्याइँदै छ । अहिले रुसलाई आणविक हतियार प्रहार गर्न बाध्य पार्ने अमेरिकी निर्णयबाट युरोपमा एक खालको कम्पन पैदा भएको छ ।
केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दुरीका अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिएका छन् । बाइडेनको उक्त निर्णयको लगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो आणविक हतियारको प्रयोगको सीमा घटाउने नीतिमा हस्ताक्षर गरेका छन् । त्यसको लगत्तै जर्मनी चान्सलर ओलाफ सोल्जले पुटिनलाई फोन गरेर आणविक हतियार प्रयोग नगर्न अनुरोध गरेका कुराहरू पनि बाहिर आएका छन् । आणविक हतियार प्रयोग गर्नसक्ने रुसको तयारीबाट डराएर नेटो देशहरूले आफ्ना नागरिकलाई तेस्रो विश्वयुद्धको लागि कसरी तयारी गर्ने भनेर सल्लाह दिँदै विज्ञप्ति नै जारी गरिसकेका छन् ।
आणविक युद्ध हुनसक्ने दुई कारणहरू-
१) युद्धमा अमेरिकी संलग्नता :
अमेरिकाले युक्रेनलाई दिए भनिएका ती मिसाइलहरू यति परिस्कृत छन् कि जसलाई चलाउन तालिमप्राप्त अमेरिकी आर्मीकै आवश्यकता हुन्छ । अमेरिकानिर्मित ती हतियार चलाउने जनशक्ति युक्रेनमा छैन भनेर रुसले भनिरहेको छ । युक्रेनतर्फबाट रुसको ब्रायान्स्क क्षेत्रमा अमेरिकानिर्मित ६ वटा लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । यस घटनापछि रुसले अब आणविक हतियार प्रयोगको कुनै विकल्प नरहेको बताइसकेको छ । अमेरिकाको निर्देशनमा रुसमाथि भएको यो प्रहारबाट युक्रेन-रुस युद्ध खतरनाक मोडमा पुगेको संकेत गर्दछ । क्रेमलिनले आणविक हतियारको प्रयोगको थ्रेसहोल्ड घटाएलगत्तै अमेरिकी युद्धउन्मादको कारण आणविकनीतिमा परिवर्तन गर्नुपरेको बताएको छ । अब रुसले सहन नसक्ने जानकारी दिँदै एक बलियो प्रत्युत्तरको लागि नाटो देशहरूलाई चेतावनी दिइसकेको सन्दर्भले युरोपमा खैलाबैला मच्चिन थालेको छ ।
२) रुसको भित्री भागमा मिसाइल प्रहार र रुसद्वारा आणविक नीतिमा परिवर्तन :
युक्रेनले अमेरिकी लामो दूरीका मिसाइलहरू रुसको भित्री भागमा प्रयोग गरेपछि यो भयावह स्थितिको सृजना भएको हो । त्यसको लगत्तै नेटो देशहरूले आफ्ना नागरिकहरूलाई आणविक युद्धबाट बाँच्नको लागि तयारी थाल्न निर्देशन दिएका हुन् ।
आणविक युद्धको खतरा पहिलेभन्दा अति नै उच्चरूपले बढेको देखिन्छ । बाइडेनले लामो दूरीका मिसाइल हान्न युक्रेनलाई अनुमति दिएपछि युक्रेनले रुसभित्रका सामरिक लक्ष्यमा ६ वटा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रहार गरेलगत्तै नोभेम्बर १९ मंगलबार मात्रै राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आणविक हतियार प्रयोगबारे बनाइएको निर्देशिकाको थ्रेसहोल्ड घटाएका थिए । त्यसपछि नेटो देशहरूले आणविक युद्धको खतरा महसूस गर्दै आफ्ना नागरिकहरूलाई आणविक युद्धबाट बाँच्नको लागि तयारीमा लाग्ने निर्देशन जारी गरेका हुन् ।
भारतको ‘इन्डिया टुडे’ र बेलायतको ‘मिरर’ पत्रिकाले दिएको जानकारीअनुसार, स्वीडेनले आफ्ना बासिन्दाहरूलाई आणविक युद्ध भड्किने बित्तिकै भूमिगत ‘आश्रय’ लिन अनुरोध गरेको छ । नाटोमा आबद्ध धेरै युरोपियन देशहरूले आफ्ना नागरिकहरूलाई युद्धको अवस्थामा आफ्नो लागि खाद्यान्न, आवश्यक औषधि तथा पानीको ब्यवस्था गर्दै भूमिगत आश्रयको पनि सफाई र मर्मत गर्न आग्रह गरेका छन् । धेरै नेटो देशहरूले आफ्ना नागरिकहरूलाई सम्भावित युद्ध र पर्नसक्ने असरको लागि तयार रहनसमेत आग्रह गरिरहेका छन् ।
डेनमार्कले पहिले नै आफ्ना नागरिकहरूलाई सुक्खा खानेकुरा, पानी र औषधिहरू भण्डार गर्न इमेलहरू पठाएको छ ताकि उनीहरूले आणविक आक्रमणपछि तीन दिनसम्मको आपतकालिन अवस्थाको व्यवस्थापन गर्न सकून् । फिनल्याण्डले पनि बढ्दो रुस-युक्रेन युद्धको बीचमा ‘सम्भावित घटना र संकटहरूको लागि तयारी’ भन्दै आफ्नो अनलाइन ब्रोसर अपडेट गरिसकेको छ ।
फिनल्याण्ड गत वर्ष अमेरिकी नेतृत्वको नेटो सैन्य समूहमा सामेल भएको थियो भने रुस युक्रेन युद्धपछि गत मार्चमा स्वीडेन उक्त युद्धमा सामेल भएको थियो । अहिले युक्रेनलाई प्रोयोग गर्ने अनुमति दिएका भनिएका अमेरिकी निर्मित ती घातक मिसाइलहरू आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) भनेर चिनिन्छन् र, यसको प्रहार गर्न सक्ने दुरी ३०० किलोमिटरभन्दा बढी हुन्छ ।
युक्रेनी राष्ट्रपति भ्लादीमिर जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू रुसविरुद्ध प्रयोग गर्ने आफ्नो मनसाय प्रष्ट पार्दै भनेका थिए, ‘आज हामीले लामो दुरीका मिसायल प्रयोग गर्न अनुमति लिएको कुरा मिडियामा सार्वजनिक भैसकेको छ । तर लक्ष्यहरूबारे शब्दमा भन्न आवश्यक हुँदैन । त्यस्ता कुराहरू घोषणा हुँदैनन् । मिसाइलहरूले आफैं बोल्नेछन् ।’
यसको जवाफमा पुटिनले रूस-युक्रेन युद्धको १०००औँ दिनमा आणविक हतियार प्रयोग गर्ने थ्रेसहोल्ड घटाएका हुन् । संशोधित आणविक नीतिअनुसार, यदि आणविक शक्तिसम्पन्न देशको सहयोगमा कुनै पनि देशले रुसको सीमाभित्र आक्रमण गरेमा त्यसलाई संयुक्त आक्रमण मानिने र त्यसमाथि रुसले आणविक बम प्रहार गर्न सक्नेछ (एसोसिएटेड प्रेस रिपोर्ट) ।
यसलाई सरल शब्दमा भन्नुपर्दा, परमाणु शक्तिहरूद्वारा समर्थित भएमा रूसले आफ्ना परमाणु हतियारहरू गैरआणविक राज्यविरुद्ध पनि प्रयोग गर्न सक्नेछ ।
थप जानकारी :
रूस एक आणविक शक्तिराष्ट्र हो, जोसँग संसारको सबैभन्दा ठूलो आणविक वारहेड छ । सोभियत संघबाट अलग हुने बेलामा अर्थात् सन् १९९४ मा सुरक्षा र सम्भारको झन्झटले सोभियत संघबाट विरासतमा प्राप्त गरेको आणविक हतियार युक्रेनले स्वच्छिक रुपमा रुसलाई बुझाएको थियो । त्यसपछि रुससँग अमेरिकालगायत नाटोले सोभियत संघबाट अलग भएका राष्ट्रहरूमा नाटोको बिस्तार रोक्ने सहमति गरेका थिए । पछि पश्चिमाहरूले त्यो सहमतिको उल्लंघन गर्दै रुस घेर्न रुसका छिमेकी देशहरूमा नाटोको बिस्तार गरे । युक्रेनलाई पनि त्यसमा ल्याउने प्रयत्न गरिरहे । अहिलेको सङ्कट मुख्यतया त्यही सम्झौताको उल्लंघनलाई मानिन्छ । त्यसपछि सन् २०१४ मा भएको मिन्स्क सम्झौता (Minsk agreements)को युक्रेनबाट भएको उल्लंघनलाई पनि अहिलेको युक्रेन संकटको अर्को कारण मानिन्छ । जसमा डोनबास र क्रिमियालाई आंशिक स्वायत्तता दिने कुरा थियो । तर सम्झौताको पालना गर्न युक्रेनले चासो देखाएन र धेरै रुसीभाषीहरूको ती क्षेत्रहरूमा कत्लेआम गऱ्यो ।
बाइडेनले लामा दुरीका हतियार प्रयोग गर्न दिएको अनुमतिपछिका प्रतिक्रियाहरू :
मेरा बुबाले पदभार सम्हाल्नुअघि बाइडेनले तेस्रो विश्वयुद्ध सुरु गर्न खोजिरहेका छन् भनेर अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले ट्वीट गरेका छन् । उनले ‘मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्स (हतियार माफिया वा डिप स्टेट)ले मेरो बुबालाई शान्ति सिर्जना गर्ने र जीवन बचाउने मौका पाउनुअघि नै संसारले तेश्रो विश्वयुद्धमा प्रवेश गरोस् भन्ने चाहेको देखिन्छ । ती उक्साहटपूर्ण सहयोगहरू बन्द गर्नुपर्छ । उसको जीवन धिक्कार छ !!! मूर्ख !’ भनेर सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।
यस्तै गरेर एलन मक्सलगायत संसारभरिका बुद्धिजीवीहरूले युद्धको लागि पश्चिमाले गर्ने उक्साहटको खुलेर निन्दा गरेका छन् । यसले आगामी अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि सङ्कटमा पार्ने खतरा बढाएर लागेको छ ।
सन् २०२२ को फेब्रुअरी २४ मा सुरु भएको रुस र युक्रेनबीचको युद्धले विश्वको संकटलाई खतरनाक मोडमा पुऱ्याएको छ । उत्तर कोरियाली सैनिकहरू रुसको पक्षमा लड्न रुसी मोर्चामा आइपुगेको बताइन्छ । यो युद्धको अन्तर्य भनेको एकातिर पश्चिमा डिप स्टेटको हतियार बेचेर अकुत नाफा कमाउने चालबाजी हो भने अर्कोतिर गुम्न लागेको पश्चिमा बर्चस्वलाई युद्धद्वारा लम्ब्याउनु पनि हो ।
विश्वका जनताहरूले युद्ध चाहिरहेका छैनन् भन्ने कुरा युद्धविरुद्ध विश्वभरि भैरहेका प्रदर्शनले पनि बताउँछ । त्यसैले हामी सबैले सबैखाले युद्धबाट संसारलाई मुक्त राख्ने आवाजलाई अझै घनिभूत गराउनु टड्कारो आवश्यकता छ । अन्यथा आणविक युद्धपछि हामी आफैं नरहने त निश्चित नै छ, संसारको प्राणी जगत नै मानव अहङ्कारको आगोमा जलेर भष्म हुने खतरा छ । चेतना जागोस् !!
प्रतिक्रिया