बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए । बत्ती बालेर हिँड्न चाहनेका लागि कोषले नै रु. दुई हजार एक सयको रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको उनले जानकारी दिए । रातभर बसेर बत्ती बाल्नेलाई शुल्क लिन नपाइने र लिएमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने कोषाध्यक्ष सुवेदीको भनाइ छ ।
बालाचतुर्दशीका अवसरमा महँगा गहना लगाएर नआउन, सिसा एवं काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा सद्बीज नछर्न कोषाध्यक्ष सुवेदीले भक्तजनलाई आग्रह गरेका छन् ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरुले अनधिकृत रुपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गरे । बत्तीको सङ्कल्प गरेर फर्कनेलाई मात्र रु दुई हजार एक सय शुल्क लिने उल्लेख गर्दै उनले सो शुल्क कोषका कर्मचारीले लिने बताए ।
विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवङ्गत पितृका नाममा मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ । यस अवसरमा वनकाली क्षेत्रमा भने पसल राख्न दिइने छ । पसल राख्न ठाउँअनुसार केही शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । पसल राख्ने शुल्क कोषअन्तर्गतको अमालकोट कचहरीले लिने छ ।
बालाचतुर्दशीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले त्रिपाल उपलब्ध गराएको छ । बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा हालै बसेको बैठकले यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।
दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ-आफ्ना बालबालिकालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।
मेला शनिबार अपराह्न १२ बजेसम्म सञ्चालन हुनेछ । मेला सकिए लगत्तै पशुपतिनाथ मूल मन्दिर क्षेत्रको फोहर व्यवस्थापन सुरु गरिने छ । अन्य स्थानको फोहर व्यवस्थापनका लागि भने केही समय लाग्ने कोषले जनाएको छ ।
प्रतिक्रिया