श्रृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ

श्रृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ


महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर श्रृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी घर भई हाल महोत्तरीको गौशाला बजारमा डेरा भाडा लिएर डाक्टरी पेसा गर्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोदकुमार साह, निजकी पत्नी २६ वर्षीया सञ्जुदेवी साह, भारत सीतामढीकै ५२ वर्षीय रंधिर साह र सुधीर भण्डारी माली रहेका छन् ।

त्यस्तै, गौशाला नगरपालिका-६ बस्ने २६ वर्षीय राकेशकुमार यादव र वडा नम्बर-९ बस्ने २८ वर्षीय ललन साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

पक्राउ परेका ६ जना र अन्य चार जना गरी १० जनाको समूहमा गौशाला र औरही नगरपालिकाको विभिन्न वडामा बन्दुक, पेस्तोल र अन्य घरेलु हतियार प्रयोग गरेर आधा दर्जन बढी चोरी र डकैतीको शृङ्खलाबद्ध घटना घटाएर लाखौँको नगद र सुनचाँदीका गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

सार्वजिक गरिएका ६ जनाकै समूहमा संलग्न अन्य चार जना त्यस्तै प्रकारको घटनामा भारतको विहार राज्यमा पक्राउ परेको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट बरामद गरिएको दुई थान पेस्तोल, एक थान नलकटुवा, २३ राउण्ड गोली, विभिन्न फलाम र स्टिलको हतियार, औजार, सुन र चाँदीका गरगहना, मोबाइल ६ थानलगायत सामग्री पनि सार्वजनिक गरेको छ ।

लुटेराले यी सामान जिल्लाको औरही नगरपालिकाको औरही बजार, गौशाला नगरपालिकाको निगौल, बटौवा, इमली बजार, रजखोरलगायत स्थानमा हतियार देखाएर लुटपाट गरेका थिए ।

त्यसैगरी पक्राउ गरेका छ जनामाथि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजाना, चोरी डाँका (लुटपाट) र सङ्गठित अपराध मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।