एमाले-कांग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारको समीक्षा

एमाले-कांग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारको समीक्षा


नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ ।

एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामका बारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका थिए । एमाले-कांग्रेस संयुक्त सरकाले अघिसारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँचवर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको जिकिर उनले गरे ।

यस्तै, बैठकमा संसदीय क्षेत्रमा भएका कामका बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारे । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिए ।

प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै, मङ्सिर २० गते एमाले-कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।

एमाले-कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज अर्याल, मुख्यमन्त्री आचार्य र प्रदेश अध्यक्ष कँडेल रहेका छन् । यस्तै, कांग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल रहेक छन् ।

file photo