उपनिर्वाचन परिणाम : दुहुँ-५ मा कांग्रेसका कुँवर विजयी

उपनिर्वाचन परिणाम : दुहुँ-५ मा कांग्रेसका कुँवर विजयी


दार्चुलाको दुहुँ गाउँपाका-५ को वडाध्यक्ष पदमा आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन् ।

वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयीभएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेका निर्वाचन अधिकृत पाण्डेले बताए । निर्वाचनमा १५ मत बदर भएको थियो ।

उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो । दुहुँ-५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ ।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।

जाजरकोटको कुशे-७ मा कांग्रेसका सिंह विजयी

यस्तै, जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । उक्त पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गरे ।

त्यस्तै नेकपा (एमाले) का डम्बरबहादुर घर्तीले दुई सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लालबहादुर खत्रीले आठ मत ल्याए । उक्त निर्वाचनमा १७८ मत बदर भएको थियो । कूल एक हजार तीन सय दुई मतदाता रहेकामा नौ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

तस्बिर : रासस