उपनिर्वाचन परिणाम : कहाँ-को उम्मेदवार विजयी बने ?

उपनिर्वाचन परिणाम : कहाँ-को उम्मेदवार विजयी बने ?


गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा नगरपालिका–५ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विष्णुबहादुर रानामगर विजयी बनेका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरे ।

विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

रौतहटको ईशनाथ–७ मा कांग्रेसका खलिक विजयी

रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका खलिकले ६ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख असराजले ६ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छन् ।

झापा कन्काई–६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मत प्राप्त गरी विजयी भएका हुन् । त्यहाँ नेकपा (एमाले)का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले)का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए ।

ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन् । उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएकी हुन् । सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो ।

गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै विजयी बन्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दलबहादुर थापालाई नौ सय ३० मत प्राप्त भयो । साथै, नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गरेका छन् ।

मुसिकोट–१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी

दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका छन् । उनी पाँच सय ७४ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत प्राप्त गरे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे ।

रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी

रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी बनेका छन् । कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत प्राप्त गरेको आयोगले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका यादव विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी बनेका छन् । यादवले तीन सय ७२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे । साथै जनमत पार्टीका उदय नारायण पण्डितले दुई सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भागवत रामले नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले ६, नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले तीन र जनता समाजवादी पार्टीका रविन्द्र रायले तीन मत प्राप्त गरेका छन् ।

बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी

बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् । उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त रे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेका छन् ।

रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ६ सय ४३ मत प्राप्त गरेका छन् । मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वेगम पुनलाई पाँच सय ३५ मत प्राप्त भएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी बनेकी छन् । भण्डारीलाई एक हजार सात सय ४० मत प्राप्त भएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरेकी छन् ।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् । केवट ६ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यहाँ नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६ सय दुई मत प्राप्त गरे भने जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् ।

सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी

सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । उनलाई आठ सय १६ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शन्तु उरावले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविता कुमारी उरावले ८७ गरिन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त गरेका छन् ।

तेह्रथुपको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी

तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । उनले चार सय ४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत प्राप्त गरेका छन् ।

विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

नुवाकोटको ककनी–२ मा माओवादी केन्द्रका घिमिरे विजयी

नुवाकोटको ककनी गाउँपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी(का मानबहादुर लामाले २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४, स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक÷एक मत पाए ।

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उनले एक हजार एक सय सात मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गरे । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले एक सय २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले एक सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गरे ।

हेटौंडा–१२ मा कांग्रेसका तिवारी विजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रविकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नु गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विरबलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरिन् ।

कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन् । उनले एक हजार एक सय ५० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । साहले ६ सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरिन् ।

उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । उनलाई नौ सय २३ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीलाई ६ सय आठ मत हासिल भएको छ ।

दैलेखको महाबुमा एमाले

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाही तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६ सय ७५ मत प्राप्त गरे ।

सुनसरीको गढी–६ मा कांग्रेस

सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साह आठ सय १६ मत गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरे ।

डाक्नेश्वरी १ र ४ मा जसपा

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी–४मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।

सुर्मा–४ मा कांग्रेस

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजारा ६ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।