कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई


प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नुभएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गर्नुभएको हो । एमालेको विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।