स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सोमबार राति अबेरसम्म आइसक्ने, हालसम्म कहाँ को निर्वाचित ?

स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सोमबार राति अबेरसम्म आइसक्ने, हालसम्म कहाँ को निर्वाचित ?


स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै (१७ मङ्सिर) राति अबेरसम्म आइसक्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल तीन हजार आठ सय ३४ मतका साथ अग्रस्थानमा छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका सुरेन्द्र मानन्धरले दुई हजार नौ सय १३, माओवादी केन्द्रका शिवशरण महर्जनले दुई हजार तीन सय १७ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले एक हजार दुई सय सात, दिनेशकुमार अधिकारीले नौ सय ७५, कविकुमार महर्जनले नौ सय ९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धुव्र महर्जनले पाँच सय ५४ मत प्राप्त गरेका छन् ।

दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रकी निम लेकी शेर्पाले एक हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायम राखेकी छन् । उनको प्रतिस्पर्धी एमालेका उमा लुङ्गेली मगर शेर्पाले एक हजार १३, कांग्रेसका सात सय ९६, स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले ६०, एकीकृत समाजवादीका रविना खड्काले ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले २९ मत प्राप्त गरेकी छन् ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का देवकी तिमल्सिनाले सात सय ६ मतसहित अग्रता कायम गरिरहेकी छन् । उनको प्रतिस्पर्धी कांग्रेसका सविता बुढाले चार सय ९३ मत पाएकी छन् । एमालेका जाना शाहीले चार सय ७१ मत हासिल गरेकी छन् ।

उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आइतबार साँझ ५ बजेदेखि सुरु भएको छ । सो वडामा एमालेका मोहन खड्का, कांग्रेसका नवराज बस्नेत, माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद फुयाँल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरे तामाङ र जनता समाजवादी पार्टीका राजकुमार राई उम्मेदवार हुन् ।

कहाँ को निर्वाचित ?

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत मात्रै प्राप्त भयो । दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याए ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित भइन् । उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत पाइन् ।

रुकुम (पूर्व भाग)को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाए । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाइन् ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरिन् ।

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी भए् । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाए ।

तेह्रथुमको लालीगुराँस नगरपालिका-८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी भए । उनसँग एमालेका बुद्धबहादुर लिम्बु तीन सय ६० मत प्राप्त गरी पराजित बने ।

सुनसरीको गढी गाउँपालिका-६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित भए ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल एक सय ७७ मत पाएर पराजित भए । उदयपुरको त्रियुगा नगरपालिका-१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भइन् । उनले नौ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय आठ मत प्राप्त गरिन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उजसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत मात्र प्राप्त गरी पराजित भइन् । डाक्नेश्वरी-४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाए ।

धनुषाधाम नगरपालिका-१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६ सय ८४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६ सय दुई मत प्राप्त गरे ।

महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६ सय ३१ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरिन् ।

रौतहटको ईशनाथ नगरपालिका-७ मा कांग्रेसका शेख अब्दुल खलिक ६ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गरी पराजित भए । गढीमाई नगरपालिका-८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले ६ सय ५५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले ५ सय ३१ मत हासिल गरे ।

रौटहटकै राजपुर नगरपालिका-६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित भए ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए । कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गरे ।

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधर दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित भइन् ।

काठमाडौंका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाए । वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी बने । उनले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले चार सय ९५ मत पाइन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी बने । उनका प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित भए ।

गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले चार सय दुई मत मात्र पाए ।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत पाए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत प्राप्त गरे।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६ सय ७८ मत पाए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित भए । उनको प्रतिस्पर्धी नरबहादुर रोकाले एक सय १६ मत पाए ।

कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित भए ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाए ।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाए ।

रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले पाँच सय ३७ मत पाए ।

बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा चार सय ८७ मतमा सीमित भए ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले तीन सय एक मत पाए ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित भए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याए ।