‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’

‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताउनुभएको छ ।

सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं. ३ मुसहर्नियामा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा उहाँले भन्नुभयो, ‘वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौँ । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौं ।’ पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र सङ्गठन निर्माणलाई जोड दिएको उहाँको भनाइ थियो ।

नेता श्रेष्ठले पाँच वटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताउनुभयो । ‘राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो’, उहाँले भन्नुभयो, ‘सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउनु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु हाम्रो मूल अभिष्ट र मुख्य कार्यभार हो ।’

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरीलगायत नेताहरु प्रशिक्षकका रुपमा सहभागी छन् ।

माओवादी केन्द्रका नगर समिति सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्तालाई समसामयिक विषयमा प्रशिक्षिण दिइने जनाइएको छ ।

file photo