सिलीगुडी-झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

सिलीगुडी-झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल


भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

सोमबार (१७ मङ्सिर) अपराह्न भएको भेटवार्तामा दुईपक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

दुई मन्त्रीबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी-झापा र अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरिएको थियो ।

यसैबीच, सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताउनुभएको मन्त्री भण्डारीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएको र भारतीय पक्षले नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीको भनाइ छ।

photo: rss