छोराको बिहेको निम्तो र चारदिने नेपाल-यात्रा
(संस्मरणात्मक निबन्ध)
भनिन्छ, यात्राले हाम्रा आँखामा एक विशिष्ट सौन्दर्य भावनाको विकास गर्दछ र हामीलाई ती अनुभव र अनुभूतिहरूमा लैजान्छ जहाँ हामी प्रकृति, वातावरण र समाजको अंश मात्र नभइ साथीको भूमिका पनि खेल्छ । यात्राले जति बाहिरी दुनियाँको खोजी गर्छ, त्यति नै हाम्रो भित्री आत्मालाई पनि जगाउँछ । यात्राभित्र अस्तव्यस्तता पनि छ र अलमल पनि छ । रोमाञ्चक र थकान दुवै छ । थकानसँगै ऊर्जा पनि छ ।
✍ डिल्ली अम्माई
यात्रा भनेको वास्तवमा नयाँ स्थानको घुमाइमात्र रहेनछ । यो त मनो-चैतन्यभित्र खास प्रकारको अनुभूति ग्रहण गर्ने सिप विकासको गोरेटो पनि रहेछ । मानिसले भन्दा बासस्थानबाट टाढाको गन्तव्यमा पाइला राख्नु र त्यहाँ भेटिएका मानिसहरूबाट गन्तव्यको पृष्ठभूमि बुझ्दै अन्तरमनलाई अनुभूतिले भिजाउनु यात्रा हो भनेर बुझिन्छ । यात्राबाट देखिने दृश्यले भन्दा आत्मिक विनोद र ज्ञान संग्रहले बढी महत्व राख्छ ।
यात्रा गर्ने उत्कण्ठाबाट नै मनको यात्रा शुरु भइसकेको हुन्छ । यात्राको योजना बन्दैगर्दा नै हाम्रो यात्राले केही भाग यात्रा पूरा गरिसकेको हुन्छ । यात्रामा आउने विभिन्न मोडले अनुभूतिका भुमरीमा लगेर मनभित्र पलाएका ऐंजेरुहरूलाई झड्कार्दो रहेछ । यो पटकको यात्राले शीर्षक जन्माउनुपूर्व नै कस्तो-कस्तो अनुभूति गरायो मलाइ ।
हामी हाम्रो दैनिक भीडभाडबाट केही समयको लागि छुटकारा पाउन र आफ्नो परिवार तथा साथीहरूलाई समय दिन सकौँ भन्ने ध्येयले यात्रा गर्ने गर्छौं । कतिपय यात्रा बाध्यकारी हुन्छन् : जस्तै- विवाह, मृत्यु र कारुणिक भेटघाटको लागि गरिने यात्रा । तर पनि यात्राले मानिसलाई धेरै राम्रो महसूस गराउँछ र सबैसँग सँगै बस्नको लागि राम्रो समय दिन्छ । यो यात्राको सकारात्मक रुझान हो ।
माथि नै भनियो कि कहिलेकाहीं यात्रा आकस्मिक रूपले तय गर्नुपर्छ । त्यस्ता यात्रा बिनातयारी र विवशतावश हुन्छन् । ती यात्राले योजना बनाउन पाउँदैनन् । यात्राका मनपर्ने साधनहरू रोज्न पाउँदैनन् । गर्नैपर्ने तर कठोर खालका यस्ता यात्रा हरेकको जीवनमा नआइ हुन्न । मेरो यसपटकको यात्रा ठ्याक्कै त्यस्तै कट्मेरो भयो ।
मेरा श्रीमती र छोरा केही समयअघि नै नेपाल गएका थिए । आमा-छोराले कन्या हेरेर विवाहको दिन पनि तय गरेछन् । ‘छोरा प्रकाशको विवाहको कुरा तय भयो, तपाईं आए दश नआए आठ मङ्सिरमा विवाह हुने भयो ।’ बुझिहालेँ… म गए पनि नपुगे पनि छोराको विवाह हुने नै भयो ।’ श्रीमतीको ‘अध्यादेश’ जस्तो कुराले म अवाक भएँ । त्यहाँ विवाद गर्नुको अर्थ थिएन । त्यसले छोराको रोजाइ र उत्सुकतालाई नकारेको अर्थ दिने भयले म जाने निर्णयमा पुगेँ । कतिपय साथीभाइले ‘डिल्ली नेपाल आएर पनि भेटेन भनेको’ भन्ने सुन्दैछु । मैले आफ्नो विवसता राखिसकेपछि यो बाध्यात्मक अवस्थाको आफैं आँकलन गरेर मित्रहरूले रोषका शब्दहरू आफैसँग फिर्ता गर्नुहुनेछ भन्ने आशा लिएको छु ।
मैले कामबाट अलिक लामो छुट्टी लिने वातावरण नै प्राप्त गर्न सकिनँ । बल्लतल्ल पाँच दिनको लागि छुट्टी मिलाएँ । त्यो छुट्टीको लागि मैले धेरै सकस मोल्नु पऱ्यो जसलाई यो लेखोटमा बताउनुको त्यति अर्थ छैन । योपटक नेपाल यात्राको पूर्वसन्ध्या एकखाले भन्नुपर्दा तनावपूर्ण भयो । त्यस्तो अवस्थामा यात्राको रोमाञ्चकता हुने कुरै भएन । यसैलाई मैले भनेको छु, छोराको बिहेको नगइनहुने कर्तव्यको निम्तो । तर परिवारको तर्फबाट गए पनि हुने नगए पनि हुने कुनै जिम्मेवारीबिनाको चुलेनिम्तो !
यो पटकको यात्राले मलाई आफ्नो मृत बच्चालाई बोकेर अघिबढिरहेको किलर ह्वेलको शोक यात्राको सम्झना गरायो । आफ्ना प्रियजन बिरामी हुँदा भेट्न जाने आफन्तहरूको यात्राको समेत स्मरण गरायो । तर मेरो यसपटकको नेपाल यात्रा शोक र कारुणिक यात्रा नभएर आकस्मिक यात्रा थियो । बाध्यताले थिचिएर अरुको निर्णयअनुसार नगइनहुने यात्रा । यही कुरा भन्दा अरुलाई कठिन हुन सक्छ तर मैले सहजकतापूर्वक भन्ने भएकोले नै म अरुहरू भन्दा बढी फ्रेस छु/हुन्छु । पाठकहरूलाई मैले केही कुरा निजत्वको नाममा लुकाउन सक्दिनँ । किनकि लेखकहरूका लागि पाठक परिवार जस्तै वा त्यो भन्दा बढी प्रिय हुन्छन् ।
रूसी साहित्यका एक अमर स्रष्टा लियो टोल्स्टोय (Leo Tolstoy) जसको अन्तिम यात्राले मेरो मन सँधै भरिन्छ । घरायसी निर्णयबाट अलग्याइँदै गर्दाका अन्तरविरोध मेरो जीवनमा जस्तै टोल्स्टोयको जीवनमा पनि थिए । अर्थात्, यसरी भनौँ टोल्स्टोयको जीवनको उत्तरार्द्धमा उनको श्रीमतीसँग जे-जस्तो अन्तरविरोध चर्कियो त्यो मलाइ लाग्छ अधिकांश साहित्यकार वा लेखको घरमा उस्तैखाले अन्तरविरोध चल्ने सम्भावना रहन्छ होला । कहीँ असन्तुष्टिको रुपमा त कहीँ असन्तुष्टि भन्दा अलिक बढी नै ! मेरा साथीहरू मेरो घरमा मलाई खोज्न आइरहन्छन् ।

टोल्स्टोयको घरमा पनि उनका चेलाहरूको आगमन भइरहन्थ्यो, जसलाई सोफिया टोल्स्टोयले सहन सकिनन् । तिनै कारणहरूले गर्दा एकदिन झगडा उत्कर्षमा पुग्यो र लियो टोल्स्टोय घर छोडेर निस्के । उनले केही समय स्टेशनहरूमा भिख मागेर गुजारा चलाए । खोज्ने चासो कसैले देखाएन । घरबाहिरको चिसोले केही समयपछि उनलाई निमोनिया भयो र, अस्टापोभोको रेलवे स्टेशनमा उनले देहत्याग गरे ।
घर छोडेपछिको लियो टोल्स्टोयको त्यो यात्रालाई मैले कारुणिक यात्रा भनेको छु । त्यसमा जीवनको उत्तेजक विक्षिप्तता र मृत्युको अनुभूति भन्दा बढी अरु के थियो मलाई थाहा भएन । त्यसैले मैले भनेको यात्रालाई स्वस्पÞmुर्तता र बाध्यतामा विभाजन गरेर पनि हेर्नुपर्छ । म स्वस्फुर्त तवरले घरबाट निस्कँदा रोमाञ्चकता उत्कर्षमा हुन्छ भने बाध्यतावश खुला आकाशमा विचरण गर्दा समेत म कैदीले जस्तै अनुभूति गर्छु । बुझ्नुहोला- यो पटक मेरो घरभित्र र त्यसबाट फुत्केपछिको यात्रामा आकाश-जमिनको फरक थियो । म छोराको निम्तो मान्न घर जाँदाको मानसिक अवस्था र दुई दिन मेरा तीर्थस्थलका मान्छेहरू भेटेर रमाउँदाको मानसिक अवस्थामा सोच्नै नसकिने फरक थियो । त्यसैले यो यात्रालाई मैले दुई आयामी यात्रा भनेको हुँ ।
रोमाञ्चक यात्रा आफ्नै रोजाइका साधनहरूमार्फत गरिन्छन् । यात्रामा मनपर्ने स्थानहरूको चयन हुन्छ र भावनात्मक उत्कण्ठाका तीव्रताहरूमा आ–आफ्नो निजत्व हुन्छ । कसैलाई गाडी, बस, रेल आदि यात्राका धेरै माध्यमहरूमध्ये कुनै एक वा त्योभन्दा बढी मन पर्ला, तर मलाई यात्रामा मन पर्ने साधन ट्रेन हो । हवाइजहाज मेरो बाध्यताको साधन हो । स्थलहरूमा प्राकृतिक विचरण मेरो मनपर्ने गन्तब्य हो । नेपालमा यस्ता धेरै पर्यटकीय स्थलहरू छन् । धेरै पर्यटकहरू त्यहाँ पुग्छन् र त्यहाँको सुन्दरताको आनन्द लिन्छन् । मानिसहरू धार्मिक स्थलहरू पनि घुम्न जान्छन् । मानिसको सोच्ने तरिका र आस्था फरक भएजस्तै यात्रामा मान्छेको रोजाई उसको निजी हुन्छ । त्यस्तै आनन्द लिने श्रोत उसको निजी हुन्छ र उसले प्राप्त गर्ने बोधतत्व पनि निजी हुन्छ ।
कसैकसैको रुचि अरुले गर्न नसकेका खतर्नाक यात्रातर्फ हुन्छ । जस्तै हिमाल चढ्नु, भिरमौरीको सिकार गर्नु, सामुन्द्रिक यात्रा गर्नु र स्पेस वा ग्रह उपग्रहहरूको यात्रा साहसिक यात्रामा पर्दछन् । दुर्लभ यात्राका कथाहरूले पाठकलाई देश र विश्वका नयाँ क्षितिजहरूबारे जानकारी दिन्छन्, धेरै नभेटेका र अज्ञात मनोरम स्थानहरूको परिचय अनुभूत हुन्छ र रुचिका नयाँ मार्गहरू फेला पार्छन् । घुम्दै जाँदा प्राकृतिकबाहेक फरक भूमिका बासिन्दाहरूको जीवन शैली, संस्कृति र कलागत सुन्दरतातर्फ पनि मानिसको रुचि जाग्न थाल्छ र यात्री क्रमशः अन्वेषकमा रुपान्तरित हुन्छ । कोलम्बस, मेगस्थनीज, ह्वेन त्साङ, अल बेरुनी, मार्को पोलो इब्न-बतूता र बुद्ध जस्ता विश्व विख्यात यात्रीहरूले यात्राको क्रममा अनौठा भूमि, नयाँ साँस्कृतिक विरासत र ज्ञान भेट्टाए र अन्त्यमा आफ्नो पुरानो वैचारिक परम्परालाई नै रुपान्तरण गर्न सके । उनीहरू यात्रीबाट अन्वेषकमा फेरिए । त्यसैले यात्रा सिक्ने विशाल पुस्तक जस्तै हो भनेर भन्न सकिन्छ । चेत, आँखा, कान र खुट्टाको माध्यमले आर्जित अनुभव जब ज्ञान बन्दछ त्यसपछि यात्राले विश्लेषणको पर्दा खोल्दछ । विश्लेषण क्रमशः विचारमा रुपान्तरित हुन्छ । मार्क्सको पेरिस तथा बेलायत अध्ययन यात्रामा ठ्याक्कै त्यस्तै भयो । त्यसैले यात्रा चाहे त्यो स्वस्फुर्त होस् वा बाध्यतावश, त्यसले चेतनामा रुपान्तरणकारी प्रभाव पार्दछ ।
अर्को शब्दमा भन्दा, यात्राले व्यक्तिका विचारलाई आकार दिन्छ र परिवर्तन गर्छ । यात्राले तन र मनमा सुख, शान्ति र ताजगी मात्र नभइ देश र विश्वलाई हेर्न र बुझ्नको लागि नयाँ बाटो र नयाँ दृष्टिकोण पनि दिन्छ । यात्राले पुरानो विश्वास, रहस्य र दृष्टिकोणको गाँठो खोल्छ । वास्तवमा, यात्राले मानिसको दिमागको झ्याल खोल्छ ताकि स्वच्छ र ताजा हावा दिमागमा प्रवेश गर्न सकोस् । परम्परागत मार्गलाई तोड्दै, यात्राहरूले जोखिम मोल्न सक्छन् र नयाँ प्रवृत्तिहरूलाई जन्म दिन्छन् जसमा रहस्य, साहसिक कार्य र अवरोधहरूको बढ्दो छालहरूले यात्रुहरूलाई अन्वेषण गर्न निम्तो र चुनौती दुवै दिन्छन् । समय यिनै छालहरूमा सवार भएर संसारभर यात्रा गर्छ र त्यही समयको सीमाभित्र महान इतिहासले जन्म लिन पुग्छ । कोलम्बसले अमेरिका पत्ता नलगाएको भए आजको अमेरिका रेड इन्डियनकै हुन्थ्यो होला ।
मेरा आँखा सधैं नयाँ दृश्यको खोजीमा हुन्छन् । नयाँ दृश्यले केही नयाँ सोच्न प्रेरित गर्छ । नयाँको अनुभूति गरेर त्यसलाई ज्ञानमा बदल्ने कार्य चुनौतीपूर्ण छ । आफूले देखेको र बुझेको कुरा अरूको लागि लेख्नु वा सञ्चार गर्नु महत्वपुर्ण कर्म हो । यसको मतलब यात्रा बिल्कुल नयाँपनको खोजी हो भने यात्राबारे लेख्नु मैले पाएको बिहेको निम्तो जस्तै हो । कसैले यात्रामा भेटिएका कुराबाट आनन्द लिन्छ भने कसैले त्यसलाई आफ्नो नियन्त्रणमा लिने प्रयास थाल्दछ । यात्राका लक्षहरू सबैसँग मेल खाँदैनन् । यसर्थ अहिलेको मेरो पाँचदिने नेपाल यात्रा वास्तव धेरै फरक र मानसिक रुपले चुनौतीपूर्ण रह्यो ।

२१ नोभेम्बर बिहिबार बेलुका तय भएको मेरो नेपाल यात्रा २२ नोभेम्बर बेलुका आम्स्टेर्डमको सिफल एयरपोर्टबाट हुने भयो । शुक्रबारको दिन छोराको बिहेको आकस्मिक निम्तो मान्न एआइ २१५७ को एयर इन्डियाको जहाजभित्र छिरेपछि मेरो हातेसुटकेश क्याबिनमा नमिलेको भन्दै जहाजकी एक होस्टेजले क्याबिन साइज भन्दा ठुलो भएकोले आफूले भित्र लगेर राखीदिने र देल्ली पुगेपछि दिने बताइन् । मैले प्रमाण मागेपछि उनले मेरो बोर्डिङ पासको मोबाइल फोनले तस्बिर खिचिन् र फरक नपर्ने भन्दै लिएर गइन् । मैले विश्वास नगर्ने कुरै भएन । देल्ही पुगेपछि मैले त्यो सूटकेश मागेँ । उनले लगेजसँगै काठमाडौं पठाइसकेकोले उतैबाट लिन भनिन् । मलाइ पनि होला भन्ने लाग्यो । तर काठमाडौंमा हेन्डक्यारी र लगेज दुवै मिलेनन् । अर्को दिन छोराको बिहे, लगेज लिन कति दिन बस्नुपर्ने हो अन्धाधुन्ध भयो । बिहेमा लगाउने लगायत सबै कपडा त्यसैभित्र थिए । मैले कम्प्लेनको फर्म भरेर रित्तो हात घर हिँडें । काठमाडौंबाट गैंडाकोटस्थित घर पुग्न बाटो खराब भएकोले झण्डै छ घण्टा लाग्यो । राति एक बजे म घर पुगेँ । खालि हात देखेर सबै दंग परे ।
घरमा दुइ दिन विवाहकै रौनकले समयलाई रोकेजस्तै भयो । सोचेका/नसोचेका आफन्तहरू भेट्दा मनलाई यात्रा-पीडाबाट अलिक राहत मिल्यो । मनले विवाहको निम्तोलाई स्वाभाविक रूपमा लियो र क्रमश आनन्दमा बदल्ने प्रयास गऱ्यो । हुर्केको गाउँ दमेकको नियाश्रो गाउँ बोकेर आएका इष्टहरूको भलाकुसारीबाट पूर्ति गरियो । त्यहाँ मेरोलागि मनोरम माहोल नभएपनि भएको माहोललाई मेरो बनाउने प्रयत्न गरेँ । पन्चेबाजामा मजाले नाचेर लगेज छुटेको तनाव भूलेँ । रमाएरै छोराको बिहेको निम्तो मानेँ । मनले भन्यो- ‘कसैको लागि औपचारिकता लागेको तेरो उपस्थिति वास्तवमा तेरो लागि कर्तब्य थियो पूरा गरिस् ।’
विवाह सकिएको अर्को दिन म काठमाडौं निस्केँ । मुग्लिन हुँदै काठमाडौंसम्मको बसको यात्रा साहासिक यात्राभित्र नै पार्नुपर्छ भन्ने लाग्छ मलाई । बाटोको हालत कहालीलाग्दो । देश अभिभावक नपाएर टुहुरो जस्तो भएको अनुभूति भयो । हाम्रा बाटाघाटा पुल पुलेसाको अवस्था देख्दा नेपाल आमाबाहेक सबैलाई धिक्कारेँ ।
कलंकी चोकमा झरेर पोर्तुगलबाट आएका मेरा मित्र एनबी अन्जानलाई फोन गरेँ । केही बेरमा उहाँ मलाई लिन आउनुभयो । हामी गफिँदै उहाँको बासस्थानतिर लाग्यौँ । त्यो बेलुका साहित्यिक गतिविधि र अनेसासको युरोपमा बिस्तार गर्नेबारे दुई जनाबीच बहस भयो । एयरपोर्ट गएर छुटेको एउटा लगेज लिएर आयौँ । अर्को दिन पशुपतिको ब्रह्मनाल पुगेर अनेसासका मित्र गणेशजीका दिवंगत बुबालाई श्रद्धान्जली दियौँ । त्यहाँ अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली र गीता खत्री, उपाध्यक्ष सरिता अर्याल, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, कतार च्याप्टरका प्रेमजी, साहित्यकार रेणुका सोलु लगायतसँग भेट भयो । हामीहरू त्यसपछि अनेसासको केन्द्रिय कार्यालय आयौँ । फोटा खिचेर सम्झना लम्ब्याउने काम भयो ।
त्यसपछि माइतीघर मन्डला हाइटमा रहेको घटना र विचारको कार्यालय पुग्यौँ । देव दाजुको नेपालसँग सम्बन्धित विश्लेषण सुन्दा देश मेटिनसक्ने भयले मन हिरिक्क भयो ! बिस्तारै देश शक्तिराष्ट्रहरूको प्रयोगशाला बन्दै गरेका कुराहरूले मनलाई नमिठो गरि निचोऱ्यो । बबिता दिदीको कार्यकक्षमा चिया पियौँ । तस्बिर खिचायौँ । बबिता दिदीले लेखेको पुस्तक ‘समय साक्षी’ र गीता खत्री दिदीको उपन्यास ‘रोबोट जर्ज’लाई पनि बेल्जियम लिएर आएको छु । त्यसबाहेक एनबी अन्जानले सम्पादन गरेको राजेन्द्र परदेशीको स्मृति ग्रन्थ पनि मसँग छ ।
घटना र विचार कार्यालयमै नवीनजीसँग भेटघाट भएपनि मित्र जयलाई नदेख्दा कता-कता नमजा लाग्यो । बसाइ छोटो होस् वा लामो म घटना र विचारको कार्यालय नपुगी हुँदैन । मान्छे भेटिए पनि नभेटिए पनि म एकपटक त्यहाँ पुग्छु । मेरो परिचय घटना र विचार साप्ताहिक, त्यसका सम्पादक, प्रबन्धकहरूसँग अभिन्न रुपले जोडिएको छ । त्यसैले अफिसमा टेक्दैमा शरीरका भित्ताहरूमा ठोक्किँदै प्रफुल्लता बाहिर निस्कन्छ । म त्यति भएपछि नेपालयात्राले पूर्णता पाएको सम्झन्छु ।

अन्जान भाइ र मलाई लिएर अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसी सर कलंकी आउनुभयो । हामीलाई बासस्थानमा छोडेर पुनः भेट्ने बाचा गर्दै उहाँ फर्कनुभयो । साँझ परिसकेकोले केहीबेर बेल्जियममा हुँदै गरेको विश्व च्याप्टर सम्मेलनबारे कुरा गऱ्यौँ । आगामी २०२५ को जुलाई अन्त्यमा विश्व सम्मेलन बेल्जियममा गर्ने कुरा केन्द्रले अनुमोदन गरिसकेको छ । जुनको अन्तिम हप्तामा कार्यक्रम गर्दा नेपालीहरू भ्याकेसनमा गइ सकेका हुँदैनन् र राम्रो सहभागिता हुन्छ भन्ने बेल्जियम च्याप्टरका अध्यक्ष सौरभजी र महासचिव गोपालजीको कुरा छ । तीन दिनसम्म चल्ने विश्व सम्मेलनको दिन तोक्ने अझै बाँकी नै छ । विश्व सम्मेलन बेल्जियमले हात पार्नु एक इतिहास निर्माणको अवसर पनि हो । चुनौतीहरू पनि छन् । बेल्जियम च्याप्टरले अवसर र चुनौती दुवैलाई स्वीकार गर्दै इतिहास निर्माणको कर्ममा कम्मर कसेर लागेको छ । आशा छ वैश्विक च्याप्टर सम्मेलन भब्यरूपले सफल पनि हुने छ ।
म बेल्जियम फर्कने दिन (३० नोभेम्बर) बिहानै अग्नि महाकाव्यमा मदन पुरस्कार प्राप्त गर्नुभएका प्रख्यात साहित्यकार डा. नवराज लम्सालसँग भेट्ने अवसर जुट्यो । कलंकीको भाटभटेनी अघिल्तिर एक क्याफेमा हामीहरू गफिँदै गर्दा प्रसिद्ध गीतकार संगीत श्रोता पनि आउनुभयो । मजाले साहित्यिक गफभित्र छिराएर कफी पियौँ । अन्जान भाइले तस्बिर खिच्नुभयो । उहाँले आफ्नो पुस्तक नवराज गुरुलाई हस्तान्तरण गर्दा मैले तस्बिर लिएँ । साँच्चिकै मन र भावना मिल्ने आफन्त भेट्टाए जस्तो आनन्द भयो । युरोपको लागि रेणुका बहिनीले दिएको एक झोला कथा ‘तुइन जिन्दगी’का पुस्तकहरू बोकेर हामी घर आयौँ । खाना खाएर म राधेश्याम दाजुको निम्तो मान्न उहाँको घरतिर लागेँ । उहाँको मायाले भाबुक बनायो र समरमा सम्मेलनमा आउने निम्तो दिएर म एयरपोर्टतिर लागेँ ।
अन्त्यमा, यो पटकको यात्रा धेरै कुराले अनौठो बन्यो । समयको हिसाबले जम्मा चार दिनको यो यात्राले मिठो अनुभूति, प्रेम, अग्रजहरूको माया र परिवारको एक सदस्य दियो । तर लगेज हराएर अलिक पीडा आकस्मिक विवाहमा कुनै प्रकारको सुचना विहीनताले अलिक विक्षिप्तता र खुल्दुली दियो । मैले हेर्ने, बुझ्ने र विचार निर्माण गर्ने सवालमा अब आफैलाई फेर्नुपर्ने देखियो । किनकि, मलाई फेरिएकाहरूको मन पढ्न धेरै अबेला भैसकेको रहेछ ।
यस्ताखालका यात्राहरूले आमजनताको जीवनको कम्पन महसूस गराउनुका साथै विगतको विश्लेषण परिमार्जन गर्दै वर्तमानका आँखा पनि खोलिदिँदोरहेछ । यी यात्राहरू साहस, रोमाञ्च, निडरता र धैर्यताका सिँढीहरू हुँदै आफ्नो गन्तव्यमा पुग्दा हरेक पाइलामा उपस्थित खतरा, अवरोध, चुनौती र संकोचपूर्ण पाइला र थरथर काँप्ने हृदयको परीक्षा पनि हुन सक्छन् जस्तो जागेर आउँछ । भनिन्छ, यात्राले हाम्रा आँखामा एक विशिष्ट सौन्दर्य भावनाको विकास गर्दछ र हामीलाई ती अनुभव र अनुभूतिहरूमा लैजान्छ जहाँ हामी प्रकृति, वातावरण र समाजको अंश मात्र नभइ साथीको भूमिका पनि खेल्छ । यात्राले जति बाहिरी दुनियाँको खोजी गर्छ, त्यति नै हाम्रो भित्री आत्मालाई पनि जगाउँछ । यात्राभित्र अस्तव्यस्तता पनि छ र अलमल पनि छ । रोमाञ्चक र थकान दुवै छ । थकानसँगै ऊर्जा पनि छ । यात्राभित्र दुखाइ सँगै सपना र वास्तविकता पनि छन् । यात्रामा के छ, के छैन आफ्नै यात्रातीत समयभित्र फुलेका तिर्खाहरूलाई सोधौँ ।
प्रतिक्रिया