‘लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको थियो’
सहकारीको रकम अपचलन मामलामा प्रहरी हिरासतमा रहेका रास्वपा अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले बुधबार (१९ मङ्सिर) रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जानकारी दिए ।
‘अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ, अदालतले अनुमति दिएकाहरूलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउनेछौँ’, उनले भनेका छन् ।
तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिनेक्रम जारी रहेको छ ।
प्रतिक्रिया