हाम्रा पूर्खाहरूको रैथाने आदिभूमि नै नेपाल हो । ब्राह्मणहरू भारतवर्षभरी फैलिएका छन् । तर, नेपालका हकमा भने जडभरत, जैमिनी, कपिल, पतंजलिआदि ऋषिहरू ब्राह्मण थिए र तिनले तपस्या गरेका क्षेत्रहरू गण्डकी क्षेत्रमा आज पनि जीवन्त छन् । शिलालेखहरू, इतिहासका पानाहरू सबैले नेपालमा ब्राह्मण-क्षत्री समुदायको उपस्थिति प्राचीनतम रहेको बोलिरहेका छन् ।
✍ डा. गोविन्दशरण उपाध्याय
के नेपाली ब्राह्मणहरू साँच्चिकै राजस्थानबाट कन्नौज हुँदै धारचुलाबाट नेपाल छिरेका शरणार्थी नै हुन् त ? ई. पूर्व ६०० तिर जन्मेका ऐतिहासिक बुद्धले आफ्ना गाथाहरूमा जताततै ब्राह्मण, क्षत्री आदिको उल्लेख गरेकै छन् । सन् ३५० तिर कुँदिएका चाँगुनारायणका ढुङ्गाहरू, सन् १००० तिर कुँदिएका सिंजा र दैलेखमा भेटिएका शीलालेखहरूमा, ‘ने’ नामका ऋषिले नेपालको स्थापना गरेको भन्ने हिमवतखण्डकको बखानअनुसार, लिच्छविकालीन काठमान्डौका शिलालेखहरू र ठ्यांसाहरूमा भेटिने ब्राह्मणहरू को थिए ? के उपर्युक्त ब्राह्मणहरू निःसन्तान मरे ? यदि तिनका सन्तान थिए भने कहाँ गए र कहाँ छन् ? मुसलमानले दुःख दिएर नेपाल छिरेका भन्दै ब्राह्मणको इतिहास लेख्ने र त्यसमा विश्वास गर्ने प्रमाण के छ ? हो, केही ब्राह्मणहरू मुगलबाट आफ्नो धर्म जोगाउन नेपाल छिरे होलान्, तिनको प्रमाणिक इतिहास खोजिनु पर्छ ।
मैले भारतको इतिहास पढ्दा १०औं देखि १२औं शताब्दितिर मुगलहरूले आजको कन्नौज भनिने कान्यकुन्ज देशमा राज्य गरेका नै थिएनन् । मुसलमानले धेरैपछि त्यहाँ कब्जा जमाएका हुन् । मुसलमानले शासन नै नगरेको ठाउँहरूबाट ब्राह्मण-क्षत्री नेपाल किन छिर्नु पऱ्यो ? नेपाली ब्राह्मण-क्षत्रीहरूलाई शरणार्थी बनाउन काल्पनिक इतिहास लेख्ने पहिलो इतिहासकार (विदेशी वा स्वदेशी) को हो ? नेपालका सम्पूर्ण पहाडी ब्राह्मणहरूलाई शरणार्थी बनाउने इतिहास सत्य हुनै सक्दैन । यस्तो इतिहास लेख्ने र यसमा विश्वास गर्ने दूवैको प्राथमिक उद्देश्य नेपाली सनातन धर्मको संस्कृति, सभ्यताको निर्माणमा ब्राह्मणहरूको योगदान अस्वीकार गरेर यहाँको मौलिक संस्कृति विदेशीहरूका हातमा दिनु थियो भन्न मिल्छ । दुःख कुरा त के भने आज हाम्रै विद्वानहरूले यस्तो आत्मघाती सिद्धान्तलाई जानेर वा नजानेर आत्मसात गरिरहेका छन् ।
म प्रमाणपूर्वक भन्न सक्छु, हाम्रा पूर्खाहरूको रैथाने आदिभूमि नै नेपाल हो । ब्राह्मणहरू भारतवर्षभरी फैलिएका छन् । तर, नेपालका हकमा भने जडभरत, जैमिनी, कपिल, पतंजलिआदि ऋषिहरू ब्राह्मण थिए र तिनले तपस्या गरेका क्षेत्रहरू गण्डकी क्षेत्रमा आज पनि जीवन्त छन् । शिलालेखहरू, इतिहासका पानाहरू सबैले नेपालमा ब्राह्मण-क्षत्री समुदायको उपस्थिति प्राचीनतम रहेको बोलिरहेका छन् । रह्यो, बसाइँ सर्ने कुरा- यो प्राकृतिक कुरा हो । तर नेपाली ब्राह्मण-क्षत्री समुदायलाई शरणार्थी बनाउने इतिहास लेख्नेहरू र त्यसलाई पत्याएर ‘हामी भारतमा मुसलमानले दुख दिएका कारण धर्म जोगाउन नेपाल छिरेका ब्राह्मण-क्षेत्रीहरूका सन्तति हौँ’ भनेर लेखिरहेका छौँ । के यस्तो लेख्नु र पत्याउनु उचित हो ?
धेरैजसो थर बंशावलीहरूमा ‘धर्म जोगाउन नेपाल छिरेको’ भन्ने विषयवस्तुलाई निकै महत्व दिएको देखिन्छ, तर सन् ३५० तिरको शीलालेखमा उल्लेख भएका ब्राह्मणहरूकै सन्तति अहिलेका नेपालका ब्राह्मण समुदाय हुन् भन्ने तर्कमा एकशब्द लेखेको भेटिन्न ।
नेपाली समाजको सहअस्तित्वमा फूट पार्न घृणावादी र विदेशका ‘झोले’हरूले उपर्युक्त इतिहासको प्रसङ्गलाई प्रमाणिक मान्न ज्यान दिनु स्वभाविक लाग्छ तर नेपालका नाम चलेका विद्वानहरूले नै ‘ब्राह्मणहरू मुसलमानको डरले भारतबाट भागेर धर्म जोगाउन नेपाल पसेका हुन्’ भन्ने अप्रमाणित तत्थ्यलाई बारम्बार सम्भार गर्नु प्रमाण र तत्थ्यहीन कुरालाई महत्व दिनु र घृणावादीहरूको गोटी बन्नु हो ।
राजस्थानका राणाहरू आफ्नो धर्मका पक्षमा उभिएका हुन् र त्यस बेला मुसलमानको अत्याचार सहन नसकेर लखनौंको बाटो केही ब्राहमण र क्षत्रीहरू नेपालमा प्रवेश गरेका हुन सक्छन् । उपत्यकामा केही मारवाडी ब्राह्मणहरू छन् सम्भवतः उनीहरू त्यसै बला ‘धर्म जोगाउन’ नेपाली छिरेको सम्भव छ । यदि नेपालका पहाडी ब्राह्मणहरू त्यताबाट आएको भए कुनै न कुनै पहाडी ब्राह्मणले लिखितरूपमा यसबारे केही लेखेको भेटिनुपर्थ्यो । तर, सन् १००० देखि १४०० र त्यसपछि का दस्तावेजहरूमा यस्तो प्रसङ्ग पाइन्न ।
धेरैजसो थर बंशावलीहरूमा ‘धर्म जोगाउन नेपाल छिरेको’ भन्ने विषयवस्तुलाई निकै महत्व दिएको देखिन्छ, तर सन् ३५० तिरको शीलालेखमा उल्लेख भएका ब्राह्मणहरूकै सन्तति अहिलेका नेपालका ब्राह्मण समुदाय हुन् भन्ने तर्कमा एकशब्द लेखेको भेटिन्न । जो-जसले जे-लेखे पनि म र मेरो कूल भारतबाट शरण खोज्दै धर्म जोगाउन आएकामध्ये पर्दैनौँ । हामी नेपालका अनादि रैथाने ब्राह्मण हौँ । प्रष्टसँग कुरा बुझ्नुस् ।
प्रतिक्रिया