प्रहरीद्वारा लामिछानेमाथि गरिएको ‘कथित दुर्व्यवहार’बारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

प्रहरीद्वारा लामिछानेमाथि गरिएको ‘कथित दुर्व्यवहार’बारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु


सहकारीको रकम अपचलन मामलामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले दुर्व्यववहार गरेको भन्दै छानविनका लागि परेको उजुरीबारे मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई चितवनबाट कास्की लैजाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको थियो ।

उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान सुरु गरेको आयोगले विज्ञप्तीमार्फत जनाएको छ ।

“उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीसँग आज आयोगले जानकारी लिएको छ”, विज्ञप्तीमा भनिएको छ । यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग थप बुझुनुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन् ।

लामिछानेले चितवनको प्रहरी हिरासतमा रहँदा आफू सुतेका बेला मध्यरातमा उठाएर पोखरा लगिएको भन्दै मानवअधिकार आयोगलाई गुहारे पनि प्रहरीले चाहिँ लामिछानेको दाबीको खण्डन गर्दै भ्रम फैलाउने चेष्टा गरिएको जनाएको छ । भरतपुरमा गत बुधबार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगी भेटघाट कक्षमा लगिएको र त्यहाँ लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको बताइएको छ । भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको भनाइ छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार बयान भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा भीड प्रवेश गर्न खोज्नेजस्ता कार्य भएको, हवाई उडानका लागि मौसम प्रतिकूल रहेको हुँदा उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको थियो । बयानको दिन भएको झडपमा रास्वपा कार्यकर्ताको प्रहारबाट प्रहरीहरु घाइते भएको र अर्को दिन पनि झडप हुने सम्भावना भएकाले लामिछानेलाई सम्मानजनक हिसाबले राति नै पोखरा पठाइएको हो प्रहरीको तर्क छ ।

file photo