सत्ता परिवर्तन
मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि खेलकुद क्षेत्रमा पुन: राजनीतिक खेलको गाइँगुइँ सुनिन थालेको छ । प्रजातन्त्रको उदयसँगै प्रत्यक्ष रूपमा राजनीतिसँग साइनो गाँस्दै आएको खेलकुदमा यसलाई ‘परम्परा’को संज्ञा दिइएको छ । तसर्थ राजनीतिक परिवर्तनसँगै खेलकुदको नेतृत्वको परिवर्तन हुनु अन्यथा मानिँदैन । अहिले खेल परिसरमा यस्ता कुरा उठ्नुलाई सामान्य रूपमा लिइन्छ र हेरिन्छ । जुन राजनीतिक दलको खेलकुदमन्त्री त्यसैको सदस्यसचिव, सायदै यसमा कसैलाई शङ्का होला । अब कुन राजनीतिक कार्यकर्ताले राष्ट्रिय खेलकुद परिषद्मा कब्जा जमाएर रजाइँ गर्छ त्यो हेर्नलायक भएको छ । सरकार परिवर्तनको चर्चासँगै राजनीतिको फोहोरी खेलमा सधैं बलिको बोका बन्दै आएको खेलकुद यसपटक पनि बलिको बोका बन्ने पक्का छ । काले, माले, झालेले खेलकुदमा रजाइँ गरिसकेको अवस्थामा अब आउने अनुहारचाहिँ हेर्न लायक हुनेछ ।
खेलकुदलाई निर्देशित गर्न अहिलेसम्म राजनीतिक हानथाप चले पनि को कति पानी थिए त्यो सायदै भनिरहनुपर्ला । विगतमा व्यक्तिगत र पार्टीगत रूपमा खेलकुदमा राजनीतीकरण गरिएको कहीँबाट छिपेको छैन । खेलकुदको विकासभन्दा राजनीतिक विकास गरिएको जगजाहेर छ । निहित राजनीतिक स्वार्थबाट प्रेरित भएर खेलकुदको जरा उलेख्य काम भएको थियो । जुन यद्यपि जारी छ । कसैले पनि खेलकुदको प्रभावशालिता र प्रभावकारितालाई आत्मसात् गरेको पाइएको छैन । उल्टै खेलकुदको मानमर्दन हुने कार्य भएको छ । राजनीतिक हस्तक्षेप होस् या आर्थिक अनियमिता सबै राजनीतिक दलहरूकै इसारामा भएको छ । र पनि, राजनीतिक दलहरूले खेलकुदको विकासका लागि आफूले ठूलै विगुल बजाएको भनेर ‘ढुकुरे’ छाती देखाउन भनेपछि परेका छैनन् ।
वास्तविक रूपमा भन्नुपर्दा अहिलेसम्म दरबारिया र राजनीतिक दलकै कार्यकर्ताको नेतृत्वमा खेलकुद अगाडि बढेको छ । दरबारले संरक्षकको भूमिका निभाउँदा खेलकुदको विकासले फड्को मारेको थियो । विकास, अनुशासन र गतिशीलताको नाराले सार्थकता पाएको थियो । तर, जबदेखि खेलकुदमा राजनीतिक हालिमुहाली चल्यो तबदेखि खेलकुद अधोगतितर्फ लागेको कुरा खेलकुदको इतिहास पल्टाउँदा छर्लङ्ग हुन्छ । खेलकुदको विकासको नाउँमा विनाश गर्दै आएका राजनीतिक दलहरूले खेलकुदलाई जहिले सौताको व्यवहारले हेरे । यसको सानो उदाहरणको रूपमा सरकारले खेलकुदलाई दिने बजेटबाटै नै स्पष्टरूपमा थाहा पाउन सकिन्छ । कर्मचारीलाई तलब खुवाउन पुग्ने बजेट मात्र दिनुको पछाडिको रहस्य के हो त ? त्यो खेजीको विषय बन्यो, त्यसको समीक्षा र विश्लेषण भयो, दबाब दिइयो तर यी सबै कुरालाई टाङमुनि हाल्दै सरकारले कहिल्यै खेलकुदको विकासमा ध्यान दिएन । खालि तगारो मात्रै हाल्यो । परिणाम खेलकुद कछुवाको चालमा पनि हिँड्न सकेन ।
‘खेलकुदमा राजनीतिक हस्तक्षेप आवश्यक छ कि छैन’ त्यसबारेमा थुप्रै चर्चा–परिचर्चा भइसकेका छन् । राजनीतिक दलका नेताहरूले खुलेयामै खेलकुदजस्तो रचनात्मक ठाउँमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताउँदै आएका छन् । तर, विडम्बना, बोली र व्यवहारमा ठीक विपरीत देखिएका उनीहरू परीक्षाको घडीमा राजनीतिक कार्यकर्तालाई नै उत्कृष्ट ठान्छन् । खेल व्यक्तित्वलाई ठाडै नकारिदिन्छन् । आफू सत्तामा आएको बेलामा आफ्नो एउटा कार्यकर्तालाई पनि राम्रो पदमा राख्न नसके के राजनीति गर्ने भन्छन् । काङ्ग्रेस, एमाले, राप्रपा, मधेसे र माओवादीले पनि त्यही पुरातनवादी सोचलाई नै अगाडि बढाउँदा त्यसको नकारात्मक परिणाम राखेपले अहिलेसम्म भोग्दै आएको छ । जुन लाजमर्दो र घीनलाग्दो मात्रै नभई खेलकुदको लागि अभिशाप भएको छ । तर, जिम्मेवार निकाय सरकार कानमा तेल र आँखामा पट्टी बानेर बसेको छ ।
अहिले पनि त्यही खेलको शुभारम्भ भएको छ । सत्ता परिवर्तनको घन्टी बज्नासाथ खेलकुदमा पनि परिवर्तनको खेल सुरु भएको छ । आसन्न जेठ १४ गते प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामाको सम्भावनासँगै खेलकुदमा दाउ हान्नेहरूको पार्टी कार्यलयमा भीड लाग्न थालेको छ । युवाशक्तिको स्रोतको रूपमा रहेको खेलकुदमा आफ्नो पकड बनाउन कार्यकर्ताले नेताहरूले दह्रो दबाब दिइरहेका छन् । यसमा काङ्ग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरू अग्रपङ्तिमा देखिएका छन् । खेलकुदको ग्ल्यामरको गन्ध पाइसकेका यी पार्टीका कार्यकर्ताले जसरी पनि खेलकुदमाथि पकड राख्न दिनरात एक बनाएर लागेका छन् । खेलकुदको विकासभन्दा पनि आफ्नो स्वार्थसिद्ध गर्न उद्यत् यस्ता कार्यकर्ताहरूलाई पार्टी र नेताहरूले कसरी मूल्याङ्कन गर्छन् त्यो हेर्न लायक भएको छ ।
अन्य पार्टीभन्दा माओवादीको छनोटलाई अहिलेसम्म खेलकुदमा उत्कृष्ट मानिएको छ । खेलकुदको पृठभूमि मात्रै नभई खेलकुदलाई आत्मसात् गरेको व्यक्ति युवराज लामालाई माओवादीले खेलकुदको विकासको जिम्मेवारी सुम्पेको थियो । युवराज लामा खेलकुद जानेकै बुझेका कारणले त्यसमा खरो उत्रिन पनि सफल भएका छन् । छोटो अवधिमा चर्चाको शिखरमा पुग्नसमेत सफल भएका छन् । जसलाई आमखेलप्रेमी र खेलाडीले सकारात्मक रूपमा पनि हेरेका छन् । तर, खेलकुदको दुर्भाग्य, यति नै बेला राजनीतिमा आएको परिवर्तनले लामाका योजनामा तुराषापात गर्ने सङ्केत र सम्भावना देखिएका छन् । जुन लामाका लागि मात्रै नभई समग्र खेलकुदको लागि समेत कुठाराघात बन्ने देखिएको छ । जसले गर्दा राजनीतिक नियुक्तिको मारमा खेलकुद विकासमा लामाले बनाएका दीर्घकालीन योजना र सोचहरू अधुरै नरहलान् भन्न सकिँदैन । र पनि, उनले दूरदर्शी भएर खेलकुदको विकासका लागि जुन कार्यक्रम अगाडि बढाएका छन् त्यो खेलकुदका लागि अविष्मणीय बन्ने पक्का छ ।
बजारमा बढेको राजनीति सरगर्मीबाट अहिले कोही अछुतो रहेको छैन । सबै शान्ति र संविधानभन्दा पनि आफ्नो दुनो कसरी सोझ्याउने भनेर ज्यान छोडेर लागेका छन् । अझ खेलकुदमा सबैभन्दा पहिले राजनीति छिर्ने भएकोले यहाँ चर्चा–परिचर्चा हुनु स्वाभाविकै हो । बाबुराम भट्टराईका सबै मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा सदस्यसचिवको सपना देख्नु दिवास्वप्न पनि भएन । सपना देख्ने अधिकार सबैलाई छ, तर सपना देख्दैमा सबै कुरा पाउँछ भन्ने पनि केही ग्यारेन्टी छैन । अझै पनि माओवादीले युवा तथा खेलकुद मन्त्रालय लिन सक्ने उत्तिकै सम्भावना भएकोले जसले जसरी मनका लड्डु खाए पनि फरक पर्दैन । यो राजनीति खेल हो, जसले जुनसुकै बेलामा पनि बाजी मार्नसक्ने भएकोले हलुको रूपमा लिनु भने कदापि हुँदैन । भोलि हरिबाबु चौधरीझैं अन्य व्यक्तिहरू राजनीतिक आशीर्वादले सदस्यसचिव नबन्लान् भन्न सकिँदैन ।

कोलकोतामा बालाजु डोजोले बाजी मार्‍यो
कोलकोता स्पोर्टस् कराते डो सङ्घको आयोजना यही मे २–४ सम्म भारतको इन्डिया युवा भारती किरङ्गन रंगशालाको हातामा भएको वल्र्ड लेवल कन्टिनेन्टल ओपन कराते प्रतियोगितामा बालाजु डो कराते प्रतिष्ठानले पहिलो स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा बालाजु डोजोका खेलाडीले १७ स्वर्ण, दुई रजत र एक कास्य पदक जितेका थिए । प्रतियोगितामा नेपाल पहिलो, बंगलादेश दोस्रो र भारत तेस्रो भएका थिए ।
उक्त प्रतियोगितामा विपना तामाङ, एन्जिला धिमाल, कविता पौडेल, डाइना ओझा, अनुपमा मगर, रुविना अर्याल, विमला तामाङ, कृपा गुरुङ, सन्तोष राई, राजकुमार रसाइली, मनीष थापा, गौतम श्रेष्ठले स्वर्ण पदक जितेका थिए । त्यस्तै अनुपमा मगर, विमला तामाङ, कविता पौडेलले टिम कुमुते र विमला तामाङ, कृपा गुरुङ र ज्योति घले टिम कातामा स्वर्ण पदक जितेका थिए । ज्योति घले, राजकुमार रसाइली र मनीष थापाले एकल कातातर्फ क्रमश: रजत र कास्य पदक जितेका थिए । सो टोलीको नेतृत्व सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजु कराते प्रशिक्षक पृथ्वीबहादुर श्रेष्ठले गरेका थिए ।

नेपाल इक्युस्टे«रियन (नेई) सङ्घ पुनर्गठन
गत साता नेपाल इक्युस्टे«रियन (नेई) सङ्घ पुनर्गठन भएको छ । सङ्घका अध्यक्ष बलराम श्रेष्ठले सङ्घ तीन वर्षअघि राखेपमा दर्ता भए पनि आफ्नो उद्देश्यअनुरूपमा अगाडि बढ्न नसकेको भन्दै खेलकुदमन्त्री कमला रोकासमक्ष सङ्घ विघटनको निवेदन दिएका थिए । नेई सङ्घले निवेदनमार्फत सङ्घको पुनर्गठनको प्रस्ताव र पुनर्गठित सङ्घको नयाँ कार्यसमितिको चयनका लागि नाम सिफारिससमेत गरेको थियो । सोही सिफारिसबमोजिम सङ्घलाई जीवन्तता प्रदान गर्न राखेपले सङ्घ पुनर्गठन गरेकोे हो । उक्त पुनर्गठित नेपाल इक्युस्टे«रियन (नेई) सङ्घको अध्यक्षमा युवराज लामा रहेका छन् । त्यस्तै, उपाध्यक्षमा नवराज सिलवाल, दीपक विष्ट, राजीव शाह, अकलबहादुर बम र नेपाली सेनाका प्रतिनिधि रहेका छन् । यसैगरी बलराम श्रेष्ठ महासचिव, प्रकाशचन्द्र घिमिरे सचिव र रमेशमान मल्ल कोषाध्यक्षमा रहेका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरूमा राजेन्द्र नेपाल, नवराज नेपाल, मोहमद फाजिल, नवीनचन्द्र श्रेष्ठ, बलराम लामा, प्रतिनिधि नेपाली सेना, करण चौधरी र दिवस गुरागाईंलाई छनोट गरिएको छ ।

भक्तपुरमा राष्ट्रपति रनिङसिल्ड हुने
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जेठ ८ गतेदेखि ‘चौथो राष्ट्रपति रनिङ सिल्ड’ खेलकुद प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा भलिबल र एथलेटिक्स समावेश गरिएको छ । प्रतियोगितालाई भव्य रूपमा सफल पार्न भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिलकुमार गोथेको अध्यक्षतामा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ । भक्तपुर जिल्लाका ३५ विद्यालयका करिब पाँच सय खेलाडीको सहभागिता रहने प्रतियोगिताको अनुमानित लागत करिब तीन लाख ६१ हजार दुई सय ५० रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

केसीसीलाई अन्टा कप उपाधि
फ्लडलाइटमा खेलाइएको फाइनल खेलमा केसीसीले आयोजक अन्टाको टोलीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समयको खेलमा दुवै टोलीको एक÷एक गोल भई बराबर भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । १६ क्लबको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद २५ हजारसहित, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीले नगद आठ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । खेल अवधिभर ११ गोल गर्न सफल केसीसीका सरोज महर्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले नगद दुई हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । अन्टा ग्रासरुट प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजित ‘अन्टा कप फाइभ ए साइड फुटबल प्रतियोगिता’को उपाधि महाराजगञ्जस्थित केसीसी क्लब (कान्ति सांस्कृतिक केन्द्र क्लब)ले हात पारेको थियो ।

राष्ट्रिय तेक्वान्दो युनियनको अध्यक्षमा शैलेन्द्र
राष्ट्रिय तेक्वान्दो युनियन नेपालका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले बधाई ज्ञापन गर्नुभएको छ । तेक्वान्दो युनियनको हालै सम्पन्न पहिलो साधारणसभाले शैलेन्द्र अमात्यको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको थियो । उक्त साधारणसभाले उपाध्यक्षद्वयमा शिव कोइराला र सञ्जय अर्याललाई चयन गरेको थियो भने महासचिवमा राजकुमार कार्की, सचिवमा मानध्वज लामा तथा कोषाध्यक्षमा रञ्जना थापालाई चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा पाँच विकास क्षेत्रअन्तर्गत सुदूरपश्चिमाञ्चलबाट धीरेन्द्र कठायत, मध्यपश्चिमाञ्चलबाट बुद्धिबहादुर थापा, पश्चिमाञ्चलबाट दीपक श्रेष्ठ, मध्यमाञ्चलबाट पदमबहादुर केसी तथा पूर्वाञ्चलबाट द्वारिका रेग्मी सदस्यमा चुनिएका छन् । अन्य सदस्यहरूमा हरि बुढाथोकी, विमल राई, पवन शाही, उमेश थापामगर, मदन श्रेष्ठ तथा धर्मेन्द्र अग्रहरी रहेका छन् ।
सङ्घको सोही दिनै बसेको पहिलो बैठकले तेक्वान्दो संस्थापक सदस्य भूपू कर्णेल पाइलट एकनाथ थापा, शितकर राजभण्डारी तथा ईश्वरी रिजाललाई उपाध्यक्षमा मनोनीत गरेको छ । बैठकले गीता सुवेदी, खड्कबहादुर गुरुङ, राजेन्द्र प्याकुरेल, गिरिराज आचार्य तथा बलबहादुर श्रेष्ठलाई सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । अब ६ सदस्यको मनोनयनपश्चात् केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ । केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुनेछ ।
साधारणसभा सर्वसम्मत रूपमा चुनिएपछि युनियनका अध्यक्ष शैलेन्द्र श्रेष्ठले अब निकै चुनौती बढेको बताए ।
तेक्वान्दोको विकास र विस्तारसँगै प्रतिभाशाली खेलाडी जन्माउन आफूले दिनरात खटेर काम गर्ने बताए । उनले आफूहरूले तेक्वान्दोको विकासका लागि थुप्रै योजना बनाएकोले त्यसलाई सर्वप्रथम गाउँ र जिल्लाबाट विस्तार गर्ने प्रस्ट पारेका छन् । कुनै किसिमको विवादभन्दा काम गरेर देखाउने बेला आएकोले आफू त्यसैमा तल्लीन रहने बताए ।

अनुप स्मृति भेट्रान्स टेबलटेनिस हुने
नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीको आयोजनामा तेश्रो अनुप स्मृति भेट्रान्स टेबलटेनिस प्रतियोगिता जेठ ६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ४५ वर्षमाथि, ५० वर्षमाथि, ५५ वर्षमाथि र ६० वर्षमाथि तथा महिलातर्फ ४५ वर्षमाथि र ५० वर्षमाथिको एकलमा प्रतिस्पर्धा हुनेछ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका ४५ वर्षमाथिका पुरुष र महिलाको पनि छुट्टै एकल खेल हुने प्रतियोगिता संयोजक एवं काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्रचार्यले जनाएका छन् । प्रतियोगिताको समापनको अवसरमा पूर्व टेबलटेनिस खेलाडीहरु नृपेन्द्रबहादुर सिंह र वाइ. पी. लोहनी तथा पूर्व खेलाडी एवं वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकका अध्यक्ष जीएन शर्मा (दाई) ले जनाएका छन् । प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।