अमेरिकी विदेश मामिलासम्बन्धी सहायक सचिव डोनाल्ड लुले आफ्नो नेपाल भ्रमणलाई महत्वपूर्ण बनाउन निकै कसरत गरेको पाइएको छ । नेपाल आगमन भएलगत्तै लुले सत्तारुढ र विपक्षी दलका नेताहरू तथा विभिन्न उच्चाधिकारीहरूसङ्ग भेटघाट र आफ्ना एजेण्डामा विस्तृत छलफल गरेका छन् । श्रीलङ्का, भारत र नेपालको आठदिने भ्रमणमा निस्केका लुले यसक्रममा माओवादी अध्यक्ष प्रचण्डसङ्गको भेटलाई विशेष महत्व दिएको बताइन्छ ।
प्राप्त जानकारीअनुसार प्रचण्डसङ्ग लुले ‘तपाईंकै नेतृत्वको सरकार ठीक थियो’ भन्दै काङ्ग्रेससङ्गको सहकार्यमा जान सुझाव दिएका थिए । प्रचण्डले जवाफमा आफू देउवासङ्ग सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दै देउवासङ्ग सम्वाद गराइदिन आग्रह समेत गरेको समाचार सूत्रको दाबी छ।
प्रचण्डको आग्रहलाई स्वीकार गर्दै लुले शेर बहादुर देउवासङ्गको भेटमा प्रचण्डसङ्ग सम्वाद र सहकार्य गर्न सुझाव दिएको बुझिएको छ । लुको सुझावपछि देउवा प्रचण्डसङ्ग सम्वादका लागि तयार पनि भएको, तर परराष्ट्र मन्त्री आरजु राणाले ‘अहिले त्यसरी प्रचण्डसङ्ग सम्वाद गर्दा राम्रो सन्देश नजाने’ राय देउवालाई दिएपछि देउवा रोकिएको जानकारी प्राप्त भएको छ । जानकारी अनुसार अध्यक्ष प्रचण्डलाई डोनाल्ड लुले अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्दै बीआरआई फ्रेमवर्क भित्र रहनेगरी केही परियोजना कार्यान्वयन गर्न सम्झौता गरेपछि पश्चिमी जगत सचेत हुन पुगेको छ। यसअघि प्रधानमन्त्री पदमा रहँदा प्रचण्डले पार्टी पदाधिकारी बैठकको एकमतको निर्णयलाई समेत लत्याएर बीआरआई कार्यान्वयन सम्झौता गर्नबाट पछि हटेका थिए, तर केपी ओलीले बीआरआई फ्रेमवर्कभित्र रहेर विभिन्न परियोजना सञ्चालन गर्ने सम्झौता चीनसङ्ग गरेपछि पश्चिमाहरू केपीप्रति बक्री हुनसक्ने सङ्केतहरू देखिन थालेका छन् ।
प्रतिक्रिया