सामाजिक सञ्जालमा ‘म बर्बाद भएँ’ भनेर चिच्याउँदा आफ्नो मानसिक अवस्थाको थप बर्बादी भन्दा अरु हुने देखिँदैन । कसैले एकछिन ‘बिचरा..!’ भनिदिएर खासमा केही पनि हुँदैन, जिन्दगी त सम्बन्धित मान्छे आफैले धान्ने हो, आफैले जिउने हो । आफ्नो भावनात्मक स्वास्थ्यलाई आफैले मजबुत गर्ने हो ।
✍ बबिता बस्नेत
हरेक मानिसको जीवनमा गोपनीयताको महत्व हुन्छ । जिन्दगीमा भइरहेका र आइपर्ने सबै कुरा सार्वजनिक गर्नुपर्ने र गर्न मिल्ने खालका हुँदैनन् । हरेक ब्यक्तिका ब्यक्तिगत र सार्वजनिक आ-आफ्नै सीमाना हुन्छन् । सार्वजनिक ब्यक्तित्वका सीमानाहरू निजी जीवन बाँच्नेका भन्दा बढी हुन्छन् । खाने, लाउने, सम्बन्ध, प्रेम, घर, परिवार, पारिवारिक सम्बन्धहरू, स्वास्थ्य, सम्पत्ति, विवाह, सम्बन्धबिच्छेद, पुनर्विवाहलगायतका कुराहरू मानिसका ब्यक्तिगत हुन् । निजी जीवन बाँचिरहेका मानिसको कुरै भएन, सार्वजनिक जीवन नै बाँचिरहेका मानिस रहेछन् भनेपनि यी कुराहरू ब्यक्तिगत हुन् । आफ्ना ब्यक्तिगत सीमाहरू ब्यक्ति आफैले तय गर्ने हो । सार्वजनिक जीवनमा भएका ब्यक्तिले कुनैपनि कुरा सार्वजनिक रूपमा नबोलुञ्जेल र नलेखुञ्जेल उसको निजी हो, बाहिर गइसकेपछि त्यो सार्वजनिक हो । तर हिजोआज सार्वजनिक जीवनमा भएकाहरूले मात्र नभइ निजी जीवन बाँचिरहेकाहरूले पनि सामाजिक सञ्जालमार्फत ब्यक्तिगत गोपनीयताको धज्जी उडाइरहेको पाइन्छ ।
नितान्त निजी र पारिवारिक कुराहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने क्रम बढ्दो छ । विशेषगरी श्रीमान्, श्रीमती, प्रेमी-प्रेमिकाका ब्यक्तिगत सम्बन्धहरू फेसबुक, रिल, टिककटतिर छरपष्ट गर्ने गरिएको छ । पति, पत्नी, सन्तान या परिवारका अन्य नाता-सम्बन्धका कुराले सामाजिक सञ्जालमा प्रमुख स्थान पाइरहेका छन्, जुन कुराको सम्बन्ध परिवारका सदस्यबाहेक सामाजिक सञ्जालमा भेटिएका मानिसहरूसँग पटक्कै छैन । टिकटकर युवा आयुष र केही ब्यक्तिलाई छोडेर हेर्ने हो भने ब्यक्तिगत कुरा बाहिर ल्याउनेमा प्रायः महिलाहरूको सङ्ख्या बढी देखिन्छ । घरमा श्रीमान्-श्रीमतीबीच झगडा पऱ्यो भने सामाजिक सञ्जालमा गाइज, मेरो श्रीमान्ले यसो गऱ्यो भन्ने, घर-परिवारका सदस्यको नामै लिएर गालीगलौज गर्ने, रुवावासी गर्ने, एउटा अनौठो मनोविज्ञान देखिएको छ । जसको समाधान सामाजिक सञ्जालमा लाइक/कमेन्ट गर्ने मानिसहरूसँग नभएर कानूनको प्रयोगसँग सम्बन्धित छ । घरभित्र हुने झगडालाई सम्बोधन गर्न घरेलु हिंसासम्बन्धी कानून छ । महिला, पुरुष, एलजीबीटीआई समूदाय सबैले यो कानूनको समान प्रयोग गर्न सक्छन् ।
यदि श्रीमानले दोश्रो विवाह गऱ्यो भने बहुविवाहको मुद्दा हाल्न मिल्छ, प्रक्रियाको बारेमा कानून ब्यवसायीहरूसँग परामर्श लिने हो । कसैले धोका दियो भने धोकाको प्रमाण जुटाउन गाह्रो हुने हुँदा एसएमएस, फोटो, कुराकानीलगायतलाई सुरक्षित राखेर प्रमाणका आधारमा मुद्दा हाल्न मिल्छ । प्रमाणको अभावमा जित्न गाह्रो हुने भएकाले धोका दिनेको पछि लाग्नुभन्दा जे भयो समयमै भएर राम्रो भयो, कम्तिमा खराब मान्छेबाट मुक्ति पाएँ भनेर जिन्दगी अघिबढाउनु राम्रो हुन्छ । सामाजिक सञ्जालमा ‘म बर्बाद भएँ’ भनेर चिच्याउँदा आफ्नो मानसिक अवस्थाको थप बर्बादी भन्दा अरु हुने देखिँदैन । कसैले एकछिन ‘बिचरा..!’ भनिदिएर खासमा केही पनि हुँदैन, जिन्दगी त सम्बन्धित मान्छे आफैले धान्ने हो, आफैले जिउने हो । आफ्नो भावनात्मक स्वास्थ्यलाई आफैले मजबुत गर्ने हो । परिवारका सदस्य कसैले गल्ती गरे भने एक्लै राखेर सम्झाउने हो । सामाजिक सञ्जालमा मेरो आमाले यस्तो गऱ्यो, बाबुले यस्तो गऱ्यो, सन्तान या नातेदारले यसो गरे भन्नुको अर्थ आफू एक्लिँदै जानु हो । मानसिक र भावनात्मकरूपले थप असुरक्षित बन्दै जानु हो ।
ब्यक्तिगत गोपनीयताभित्र पर्ने कुराहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा र सामाजिक सञ्जालमा के बोल्ने, के नबोल्ने भन्ने कुराको ख्याल नगर्दा एउटा चर्चित युवाजोडीले असमान्य अवस्थाको सामना गर्नु पऱ्यो ।
टिकटकर आयुष आफ्नी प्रेमिकासँग सामाजिक सञ्जालमा हँसिमजाक गरेर रमाइरहेका थिए । आमाको ब्यक्तिगत कुरा सार्वजनिक गरेपछि विवादमा तानिए । उनले बनाएको घरलाई ब्यक्तिगत जीवन बाँच्ने सामान्य स्थानका रूपमा लिएको भए यति ठुलो हङ्गामा हुने थिएन । उनले किनेको जस्तो घर काठमाडौंमा धेरैका छन्, तर उनीहरूले कोठा, चोटा, भान्सा सबै देखाए । कुन कोठा कसको ? भन्ने क्रममा आमाको प्रसङ्ग आएपछि उनले आमाको बारेमा लामो फेहरिस्त दिए, जुन पटक्कै आवश्यक थिएन । उनकी आमाले त्यसको जवाफ जसरी दिइन् त्यो पनि जरुरी थिएन । उनकी प्रेमिकाले बोलेका शब्दहरू त झन् आपत्तिजनक नै थिए । ब्यक्तिगत गोपनीयताभित्र पर्ने कुराहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा र सामाजिक सञ्जालमा के बोल्ने, के नबोल्ने भन्ने कुराको ख्याल नगर्दा एउटा चर्चित युवाजोडीले असमान्य अवस्थाको सामना गर्नु पऱ्यो ।
कुनैपनि कुरा सार्वजनिक हुनुको अर्थ त्यसमा जसले पनि टिप्पणी गर्न पाउनु पनि हो । आफ्नो ब्यक्तिगत जीवन, सम्बन्ध लगायतका कुराहरू सार्वजनिक टिप्पणीको विषय बनेको कसैलाई पनि मन पर्दैन । आफूलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन भनेर बुझ्न सकियो भने धेरै कुरा आफै ठिक भएर जान्छ । कहाँ जाने, कहाँ नजाने, कहाँ के खाने, कहाँ के नखाने, कहाँ के लाउने, के बोल्ने, के नबोल्ने, कहाँ बोल्ने, कहाँ नबोल्ने मानिसले आफ्नो आचारसंहिता आफै बनाउने हो । सामाजिक सञ्जालमा ‘लाइभ’ बसेर ब्यक्तिगत मामिला अघिसार्दै मानिसहरू किन रोएका ? बुझ्न सकिएको छैन । यसरी रुनेहरूको मुख्य विषय प्रायः महिला–पुरुषबीचको सम्बन्ध रहने गरेको छ । कतिले आजदेखि मेरो सम्बन्ध सकियो भनेको सुनिन्छ, अनि कतिले चाहिँ त्यही कुरालाई लिएर अनेक टीका-टिप्पणी गर्दै लेख्न, बोल्न नमिल्ने शब्दहरू प्रयोग गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा कतिपय सामग्रीहरू हेर्दा मानिसको जीवन सम्बन्धबाहेक अरु पनि केही हो भन्ने लाग्दैन । तथापि, प्रेम या वैवाहिक सम्बन्ध जीवनको एउटा पाटो मात्रै हो ।
हामीलाई को कस्तो, कसले के गरिरहेको छ, को कहाँ गयो, कस्तो हाउभाउ गऱ्यो, कोसँग कसरी बोल्यो, कोसँग आँखा जुधायो जस्ता कुरामा अलि बढिनै रुची छ । पहिला पहिला यस प्रकारका कुराहरू गाउँघरमा पानी, पँधेरा, चिया पसल, पाटी, चौतारातिर गरिने गफगाफमा सीमित हुन्थे । प्रविधिको पहुँच र प्रयोगसँगै त्यस्ता कुराहरू अहिले मिडिया र सोसियल मिडियाका ‘गसिप’ बन्न थालेका छन् । पहिला-पहिला कसैका श्रीमान्-श्रीमतीले सम्बन्धबिच्छेद गरे भने खासखास खुसखुस हुन्थ्यो, गुपचुपरूपमै ‘ल.. यसको त यस्तो भएछ नि..’ भनिन्थ्यो । अहिले हेर्दाहेर्दै यस्ता कुरा सोसियल मिडियामा आउन थाले । जानकारी पाउनैनपर्नेहरूले पनि बाध्य भएर कति कुराहरू सुन्नु÷हेर्नुपर्ने भयो । त्यति मात्र होइन कसको कोसँग सम्बन्ध छ, तिनीहरू कहाँ गएर कस्तो अवस्थामा बसे र भेटिए भन्ने कुरा पनि हेर्नुपर्ने अवस्थामा हामी छौँ । नितान्त ब्यक्तिगत दुनियाँको कुरा सार्वजनिक गर्न मिल्दैन, पाइँदैन । तर, हामीकहाँ त्यस्ता कुराहरू सहजै सार्वजनिक गर्ने गरिएको छ । यस्तो लाग्छ- हामी कानूनको शासनभन्दा बाहिरका मानिस हौंँ, ताकि हामीकहाँ गोपनीयताको हकसम्बन्धी कानून छ ।
हरेक मानिसलाई आफ्नो पारिवारिक र वैवाहिक जीवनको गोपनीयता कायम गर्ने हक कानूनले नै दिएको छ । कसैको चाहनाविपरीत कसैले पनि तपाईंको कोसँग कस्तो सम्बन्ध छ ? विवाह किन असफल भयो ? एक्लो जीवन बाँच्दा कस्तो लागिरहेको छ ? कसैसँग सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न ? जस्ता प्रश्नहरू सार्वजनिकरूपमा गर्न पाउँदैन । दाम्पत्य जीवनमै रहँदा पनि पति-पत्नीबीच मात्रै जानकारी हुने एकार्काको गोपनीयतासँग सम्बन्धित प्रश्न गर्न पाइँदैन । अरुले प्रश्न उठाउन नपाउने भएपछि आफूले पनि अरुको बारेमा बोल्दै हिँड्न पाउने कुरै भएन । हिजोआज सम्बन्धबिच्छेद भइसकेका कतिपय पति-पत्नीले सामाजिक संजालमा एकार्काको धज्जी उडाइरहेको पाइन्छ, कानुनतः त्यस्तो गर्न पाइँदैन ।
घरमा श्रीमान्-श्रीमतीबीच झगडा पऱ्यो भने सामाजिक सञ्जालमा गाइज, मेरो श्रीमानले यसो गऱ्यो भन्ने, घर-परिवारका सदस्यको नामै लिएर गालीगलौज गर्ने, रुवावासी गर्ने, एउटा अनौठो मनोविज्ञान देखिएको छ । जसको समाधान सामाजिक सञ्जालमा लाइक/कमेन्ट गर्ने मानिसहरूसँग नभएर कानूनको प्रयोगसँग सम्बन्धित छ ।
२०७५ सालदेखि लागु भएको गोपनीयताको हकसम्बन्धी कानूनको प्रतावनामै ‘प्रत्येक व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनीयताको हकलाई सुनिश्चित गर्ने’ भनिएको छ । उक्त कानूनअनुसार, कुनै पनि व्यक्तिलाई निजको निजी जीवनसँग सम्बन्धित जैविक वा आनुवंशीक पहिचान, लैङ्गिक पहिचान, यौनिकता, यौनसम्बन्ध, गर्भाधान वा गर्भपतन, कुमारीत्व, पुरुषत्व, नपुंशकत्व वा शारीरिक रोग जस्ता विषयको गोपनीयता कायम राख्ने अधिकार हुनेछ । कानूनको दफा ४ मा भनिएको छ, ‘कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी त्यस्तो व्यक्तिसँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन ।’
पारिवारिक गोपनीयताअन्तर्गत ‘दाम्पत्य जीवनको क्रममा पति र पत्नीबीच मात्र जानकारी हुने एकअर्काको गोपनीयतासँग सम्बन्धित विषय पति र पत्नीबीच चलेको मुद्दाका सन्दर्भमा आवश्यक भएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ’ भनिएको छ । तर, हामीकहाँ पति-पत्नीका गोपनियता भङ्ग हुने भनाइ र बेडरुममा लिएका तस्बिरहरू सोसियल मिडियामा अहिले छरपष्ट छन् । कानूनमा आवाससम्बन्धी गोपनीयताको पनि ब्यवस्था छ । ‘कानूनबमोजिम खानतलासी लिन अधिकारप्राप्त अधिकारी वा निजको आदेशबमोजिम बाहेक कुनै पनि व्यक्तिको आवासमा प्रवेश गर्न वा गराउन वा खानतलासी लिन वा लिन लगाउन हुँदैन ।’ अहिले जसरी हामीकहाँ उहाँका पतिको बेडरुममा छौँ या बच्चाको बेडरुममा छौँ भन्दै दृष्यहरू देखाइने गरिएको छ, कानूनतः त्यस्तो गर्न पाइँदैन । आफ्नो बेडरुम, भान्सालगायतको दृष्य कसैले आफै देखाउँछ भने त्यसमा कानून त लाग्दैन तर त्यो हदसम्मको निजत्वको धज्जी किन उडाउनुपऱ्यो ?
चरित्रसम्बन्धी गोपनीयताको पनि कानूनी ब्यवस्था छ । भनिएको छ, ‘कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानून बमोजिम कारबाही गर्ने क्रममा बाहेक निजको चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन । कसैले कुनै पनि व्यक्तिको चरित्रमा आघात पार्ने वा निजको बेइज्जती वा अपमान हुनेगरी कुनै पनि प्रकारको काम कारवाही गर्न वा निजको आचरण वा व्यवहारसम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन ।’ यस्ता अपराधमा कानूनले ३ वर्षसम्म कैद या ३० हजारसम्म जरिवानाको ब्यवस्था गरेको छ ।
गोपनीयताको हकसम्बन्धी कानूनको प्रयोग नगरेका कारण एकार्कालाई जे पनि भने÷बोले हुने जस्तो देखिएको हुँदा कानूनको प्रयोग आवश्यक छ । तथापि, जिन्दगी कानूनले भन्दा बढी ‘इमोशन’ले चल्छ । सामाजिक सञ्जालमा गरिने नकरात्मक टिकाटिप्पणीले पढ्ने, सुन्ने, देख्नेलाई मात्र होइन स्वयं टिप्पणी गर्ने मानिसलाई बढी असर परिरहेको हुन्छ । मानसिक र भावनात्मक स्वास्थ्य खस्किनबाट बचाउन एकार्कालाई नकारात्मक टिप्पणी गर्नबाट जोगिनुपर्छ । नकारात्मक हुनु र आलोचनात्मक हुनु फरक कुरा हुन् । कतिपय सार्वजनिक विषयमा आलोचनात्मक दृष्टिकोण राख्नुपर्ने हुन्छ । सार्वजनिक र ब्यक्तिगत विषय र मुद्दालाई छुट्याएर हेर्नसक्यो भने जीवन त्यति असहज छैन, जति हामी बनाइरहेका छौँ ।
प्रतिक्रिया