प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान


भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानीचिन्ह प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवनमा बिहीबार (२७ मङ्सिर) आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरतास्वरूप नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।

नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर ६ गते भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

प्रधानसेनापति सिग्देलले आजै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गर्नुभएको छ । त्यसैगरी, उहाँले स्थलसेना भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभएको निर्देशनालयले जनाएको छ ।