उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु

उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु


नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु भएको छ । ललितपुरको गोदावरीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बिहीबार (२७ मङ्सिर) सम्मेलनको उद्घाटन गरिएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा नेपालको सक्रियता उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालले न्यूयर्क कन्भेन्सन र सिंगापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।’ उनले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानको लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले यस वर्षको एडीआर सप्ताहको मुख्य शीर्षक ‘ग्रीन आर्बिट्रेसनः हिमालय बचाऔं, भविष्यको पीढीको लागि पृथ्वी बचाऔं’ अत्यन्तै महत्त्वपूर्ण भएको जनाउँदै जलवायु परिवर्तनको कारण पृथ्वी र हिमालमा परिरहेको संकटको बारेमा चिन्ता व्यक्त गरे ।

आयोजक नेपाल इन्टरनेसनल एडिआर सेन्टरका अनुसार विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन यही मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा नेपालसहित जापान, स्विजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, यूके, न्यूजिल्याण्ड, चीन र यूएसए गरी विश्वका १७ देशका वक्ताहरूको सहभागिता रहको एडिआरका महासचिव वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाले बताए ।

निरौलाका अनुसार कार्यक्रम अवधिभर करार सम्बन्धी विवाद, विकास निर्माण सम्बन्धी, लगानी सम्बन्धी विवाद, संयुक्त राष्ट्र संघका मोडल कानुन सम्बन्धी व्यवस्था र मध्यस्थता एवम् मेलमिलाप सम्बन्धमा न्यायपालिकाको भूमिका लगायतका विषयमा छलफल हुने छन् ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, एनआईएसीका अध्यक्ष डा.मुक्तिराम रिजाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका दीपक श्रेष्ठ उपाध्यक्ष, एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकाल, सर्वोच्च अदालत बार एशोसिएशन नेपालका अध्यक्ष हरिशंकर निरौला, भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश न्यायाधीश रविन्द्र भट, सर्वोच्च अदालत(नेपाल)का न्यायाधीश कुमार रेग्मी लगायतको उपस्थिति भएको छ ।