हिन्दूधर्मको मर्म : वर्णाश्रम

हिन्दूधर्मको मर्म : वर्णाश्रम


सनातन हिन्दू धर्मको अस्तित्व र पहिचान दुई तत्थ्यगत जगमा टिकेको छ- वर्ण र आश्रम । यदि सनातन धर्मबाट यी दुई तत्थ्य निकाल्ने हो भने सनातन धर्मको अस्तित्व नै रहन्न ।

घृणावादका सरदारहरूले वैदिक सनातन धर्मको आलोचना गर्दा वर्णाश्रम व्यबस्थामा प्रहार गरिरहेका हुन्छन् र आफूलाई हिन्दूधर्मको ज्ञाता तथा रक्षक ठान्ने तथाकथित विकासे अभियन्ताहरूले समेत वर्णाश्रम व्यबस्था नै वैदिक सनातन संस्कृतिको कलंक हो भनि व्याख्याका साथ आलोचना गर्छन् । यस्ता धर्मध्वजहरूसँग जोगिनुपर्छ । सत्यका पक्षमा उभिनुपर्छ, घृणावादीहरूले तयार पारेको भाष्यमा होइन ।

वर्ण व्यबस्था सनातन धर्मको पहिलो खम्बा हो । वर्णको अर्थ रंग वा समुह भन्ने बुझ्नुपर्छ । वेदको पुरुष सूक्तमा प्रष्टसँग ब्राहमण, क्षत्री, वैश्य र सूद्र वर्णको उल्लेख छ । गीतामा श्रीकृष्णले प्रष्टसँग ‘वर्णाश्रम व्यबस्थाको स्थापना मैले गरेको हुँ’ भनेर बोलेका छन् । यस्तो अवस्थामा वर्णाश्रम व्यबस्थालाई ‘छुवाछुत’का लागि जिम्मेदार ठान्नु उचित होइन ।

पुरुष सूक्त होस् वा अन्य ग्रन्थहरू जहाँ वर्णको उत्त्पत्तिको व्याख्या गरिएको छ, त्यहाँ वर्णव्यबस्थालाई पेशा (Occupation) सँग जोडिएको छ । घृणावादीहरूले सूद्रलाई ‘खुट्टा’बाट उत्पन्न भएको भनेर छुवाछुत गरिएको हो भन्ने अनुचित भाष्य तयार गरेर यस व्यबस्थाको कठोर आलोचना गरेको सुन्न र पढ्न पाइन्छ तर उनीहरूले पुरुषसूक्तले मुख, हात, पेट र चरणका रूपमा वर्णव्यबस्थाको प्रतिपादन गर्दै समान ब्यवहार गरेको उल्लेख गर्दैनन् । कुनै घृणावादी वा छुवाछुतवादीहरूले भन्न सक्छ कि शरीरका विभिन्न अंगहरू मध्ये कुनै छूत र कुनै अछुत कसरी हुन सक्छ । सूद्र उत्पन्न भएको भनिएको अंग ‘चरण’कै सबैभन्दा बढी पूजा हुन्छ । ब्यवहारिक सत्य यही हो ।

वैदिक शास्त्रहरूमा कर्मणा र जन्मना ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रका अस्तित्वबारे छलफल गरिएको छ । कति जन्मना शूद्रहरू आफ्नो कर्मले ब्राह्मण भन्दा उच्चपद प्राप्त गरेका (व्यास, भरद्वाज, नारदआदि) ऋषिहरू छन् भने कति उच्चतहका ब्राहमणहरू शूद्रमा गनिएका (रावण, कुम्भकर्ण) प्रसङ्ग पनि छन् । तर वेदले वर्णहरूको उत्पत्तिको सवालमा छुवाछुतको कुरा गर्दैन र गीताले पनि छुवाछुतलाई अस्वीकार गरेको छ । शास्त्रीय आचरणलाई अस्वीकार गर्ने जुनसुकै व्यक्ति शूद्र हुन्छ भन्ने वेदको प्रष्ट मार्गनिर्देशन छ ।

वेद र गीता दूवैले कर्म (Occupation)आधारमा वर्णको अस्तित्वलाई स्वीकार गरेको हुँदा छुवाछुत अस्वीकार्य छ तर यसको अर्थ वर्णव्यबस्था नै खराब हो भन्नेहरू धूर्त हुन् । विद्वान् वर्ण, लडाकु वा सैनिक वर्ण, व्यापारी वा कृषक वर्ण तथा सेवकको वर्ण व्यबस्थालाई विश्वको ठूलोभन्दा ठूलो नाम चलेको घृणावादीले पनि अन्त्य गर्न सक्दैन । वैदिक सनातन संस्कृति अनुसार स्थापित वर्णाश्रम व्यबस्थाको नामसम्म नसुनेको, नदेखेको, नभोगेको समाजमा पनि वर्ण-व्यबस्था जीवन्त छ र भविष्यमा पनि रहिरहने छ ।

आश्रम व्यबस्थाको खासै आलोचना हुँदैन तर यदि मान्छेको विकासको क्रमिकतालाई बुझ्ने हो भने २५ वर्षको उमेरसम्म सिक्ने, ५० वर्षसम्मको उमेरमा उद्योग गर्ने, ७५ वर्षको उमेरसम्म आफूले ब्रह्मचर्या र गृहस्थआश्रममा अनुभव गरेका ज्ञानगुणका कुराहरू पुस्तान्तरण गर्ने र अन्तिम ७६ देखि सय वर्षको उमेरमा पूर्णतया संसारिक दायित्वबाट मुक्त रहेर ‘विन्दास’ जीवन (सन्यास) जीवन बिताउने व्यबस्था निकै महत्वपूर्ण छ । सनातन धर्मको यो प्रावधान मानव समाजमा प्राकृतिक रूपमा क्रियाशील छ । हो, अहिलेको समयमा केही प्रतिमानहरू अलि धुमिल भएका छन् तर ७५ पछिको उमेर ‘रेस्ट’ गर्ने हो भन्ने तत्थ्यमा कुनै विवाद छैन ।

वर्णाश्रम व्यबस्थालाई वर्तमान नेपाल र भारतीय गरिवीको कारक मान्ने घृणावादीहरूले बुझ्नुपर्छ कि पश्चिम अमेरिकी तथा दक्षिण अफ्रिकेली देशहरूमा कुनै वैदिक वर्णाश्रम व्यबस्था छैन तर त्यहाँ चरम विभेद, गरिवी तथा अशिक्षा व्याप्त छ । भन्नैपर्दा, उपर्युक्त देशहरू बाइबल, कुरान र दास क्यापिटल वा युरोकेन्द्रीत समाजवादमा आधारित छन् । त्यहाँ राजा मनुको मनुस्मृतिको कुनै प्रभाव थिएन र छैन, न त्यहाँ कुनै वैदिक वर्णाश्रम व्यबस्था नै छ ? वर्णाश्रम व्यबस्थालाई गरीवी, विभेद तथा अशिक्षाको कारण ठान्नेहरू सूडो-समाजवादको नशामा छन् भन्ने कुरामा शङ्का गर्नु पर्दैन ।

सत्य के हो भने वैदिक संस्कृतिमा छुवाछुत अस्वीकार्य हुनुपर्छ तर वर्णाश्रम व्यबस्था झन् जीवन्त हुनुपर्छ । अन्यथा, तपाईं/हामीले ‘तिमी किन हिन्दू हौ ?’ भनेर सोध्दा केवल हिन्दू हौँ भनेर पुग्ने छैन । प्रत्येक हिन्दुले गौरवका साथ ‘हामी वर्णाश्रम व्यबस्था मान्छौँ, गौ सेवा गर्छौं, मूर्तिमा पनि परमात्मा भएको विश्वास गर्छौं, पुनर्जन्म र कर्ममा विश्वास गर्छौं , त्यसैले हामी हिन्दू हौँ’ भन्नुपर्छ । हामी हिन्दु हौँ तर वर्णाश्रम व्यबस्था मान्दैनौँ, गौ-सेवा गर्दैनौँ तथा र पूर्वजन्म र कर्ममा विश्वास गर्दैनौँ’ भन्नेहरू हिन्दू होइनन्, किमार्थ होइनन् ।

सत्य र तत्थ्य कुराहरू घृणावादी रिसाउलान्, घृणावादीका मतियारले गालीगलौज गर्लान् वा आफन्तहरूको मन दुख्ला भनेर लेख्न, बोल्न छोड्न सकिन्न । नेपाली समाजमा छुवाछुत छ र छुवाछुतको कारणले धेरै नागरिकहरूले अन्यायमा परेका छन्- यो सत्य हो । अर्को सत्य छ- नेपाली समाजले न्याय बनाएर नै छुवाछुतजस्तो विभेदकारी प्रथालाई निर्मूल पार्ने प्रयत्न गरिरहेको छ र यसमा निरन्तर सफलता प्राप्त गरिरहेको छ । वैदिक सनातन धर्मप्रति घृणा गर्ने घृणावादीहरूले यो ‘प्रगति’ देख्दैनन् । वर्णाश्रम धर्म-संस्कृतिसँग गोरु बेचेको साइनो नभएका र आफ्नै कलंकित इतिहास (अफ्रिकीहरूलाई दासका रूपमा बजारमा बेच्ने र आफ्नो स्वार्थका लागि अमेरिकाका लाखौँ आदिवासीको निर्ममतापूर्वक हत्या गर्ने) भएका समूह सिकेको ज्ञानका अधर्म यसको खोइरो खन्नेहरूसँग कठोर विमति राख्नैपर्छ । यी घृणावादीहरूले आफ्नो ज्ञान बाइबल र समाजवादको कठोर अभ्यास गरिरहेका पश्चिम अमेरिका र दक्षिण अमेरिकीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक उत्थानका लागि खर्च गर्न सल्लाह दिन्छु । साथै, तिनको ज्ञानलाई सर्वोत्तम र समानतामूलक मान्नेहरूले कमला ह्यारिसको हार सम्झे हुन्छ ।

अन्त्यमा, विश्वका कुनै पनि सभ्यताहरूले मानवसमाजको व्यबस्थापनको लागि कुनै नियम, मार्गचित्र तय नगरेको बेला वेदहरूले वर्णाश्रम व्यबस्थाअनुसार मानव-समाजको कर्मलाई ढाल्नु ज्यादै महत्वपूर्ण कुरा हो । वेदअनुसारको वैदिक हिन्दू नभए पनि मानव-समाज वर्णाश्रम व्यबस्थाका लागि बाध्य छ । छुवाछुतको प्रपन्च र विभेद, बंचनाबाट मुक्त हुँदै वर्णाश्रमको सनातन चिन्तनलाई अझैं जीवन्त बनाऊ । यसैमा सम्पूर्ण मानव-समाजको कल्याण हुने छ । वर्णश्रम धर्मलाई वैदिक संस्कृतिको सनातन खम्बा हो । छुवाछुत अस्वीकार्य हुनुपर्छ र यसैगरी वर्णाश्रम नै विभेदको प्रमुखकारण हो भन्ने घृणावादीको चिन्तन असत्य र भ्रामक हो ।