हाम्रो समाजमा आमा हुनु भनेको आफ्ना धेरै रहर र चाहनाहरू मार्नु पनि हो । युवा अवस्थामै एकल भएका महिलाहरूले सन्तान हुर्काउन के-के कुराहरूको त्याग गरेका हुन्छन् भन्ने अनुमान जो-कोहीले गर्न सक्दैन । शारीरिक, मानसिक, आर्थिक, भावनात्मक, प्राकृतिक, कृत्रिम, मानवीय धेरै कुराहरू… ।
✍ बबिता बस्नेत
वि.सं. २०७५ मा सुर्खेतका पत्रकार भाइ गोविन्द खत्री र पङ्क्तिकार कालिकोटको यात्रा गरिरहेका थियौँ । सुर्खेत-कालिकोट टाढाको यात्रा… गाडीका ड्राइभर युवा थिए, ठाउँ-ठाउँमा भेटिएका चिया पसलहरूमा रोकेर ‘म्याम तपाईंहरू चिया खानुस् है’ भन्थे र आफूचाहिँ अलि पर गएर चुरोट तान्थे । चियापसल नभएको ठाउँमा पनि उनले गाडी रोकेर चुरोट पिएपछि मैले ‘बाबु, यति सानो मान्छेले यसरी चुरोट खानुहुन्न नि…’ भनेँ । जवाफमा उनले भने- ‘के गर्नु म्याम, मेरो पनि आमाले नछोडेको भए यस्तो हुने थिइनँ होला, आमाले सानैमा छोडेर पोइल गइन्, धेरै दुख पाएँ, अहिले पैसा कमाउछु तर के गर्नु पैसा राख्न दिने आमा नै छैनन् ।’ त्यसपछि उनको बाल्यपन र आमाको बारेमा हामीले कुरा गऱ्यौँ । बाबुले उनलाई के-के गरे खासै मतलब थिएन तर आमाले छोडेर गएकोमा मनमा ठुलो पीडा लिएर उनी बाँचिरहेका थिए । भने- ‘तलब थापेको दिन र कसैले गाडी राम्रो चलाएको भनेर दुईचार पैसा हातमा हालिदिएको दिन आमालाई धेरै सम्झिन्छु, आमा भएको भए… जस्तो लाग्छ ! मेरो उमेरका कोही मान्छे आमासँग हिँडेको देखेपछि चुरोट खान मन लागिहाल्छ ।’
उनको यो भनाइले मैले त्यसको दुई वर्षअघि विपश्यना जाँदा बुढानिलकण्ठमाथि देखेको दृष्य र मनमा उब्जिएको कुरा सम्झिएँ । ध्यानबाहेकको समयमा बाहिर बसिरहँदा त्यहाँ बाँदरहरू आउँथे । आमा बाँदरहरूले आफ्ना साना बच्चाहरूलाई बोकिरहेका, केही खुवाइरहेका… एउटा रुखबाट अर्को रुखमा जाँदा ठुलो जोखिम मोलेर एक हातले च्यापेका… अन्य बाँदरहरू खुल्लमखुल्ला हिँडिरहेका छन्, केही मतलबै छैन । यसैगरी चराहरूको दुनियाँमा पनि यस्तै देखियो ! पोथी चराहरू बच्चालाई खुवाइरहेका, गुँडमा ओथारा बसेर सुरक्षा दिइरहेका…। थाहा त थियो तर त्यति गहिरिएर हेर्न, देख्न पाएकी रहिनछु, लाग्यो- आहो… आमा हुनु भनेको त धेरै ठुलो प्राकृतिक जिम्मेवारी हो । मान्छेको मात्रै होइन हरेक प्राणी र पशुपंक्षीलाई हेरौँ आमाको जिम्मेवारी विशेष छ । आफूले कहाँ-कहाँ गएर चारो ल्याएर खुवाउँदै हुर्काएका बच्चाहरू पखेटा लागेर उडेपछि बल्ल आमा चराहरू जिम्मेवारीबाट मुक्त हुन्छन् । महिलाहरूलाई प्रकृतिले एउटा ठुलो जिम्मेवारी दिएको छ, त्यो हो- बच्चा पाएर श्रृष्टीलाई निरन्तरता दिने । यो मानवमा मात्र नभएर सबै प्राणी जगतका पोथी जातिले पाएको जिम्मेवारी हो ।
सामाजिक र पारिवारिक दृष्टिकोणले हेर्दा हामी अहिले फरक परिस्थितिबाट गुज्रिरहेका छौं । पति–पत्नीका सम्बन्धहरू सङ्क्रमणबाट गुज्रिरहेका छन् । अदालतमा सम्बन्धबिच्छेदका मुद्दा बढ्नेक्रम जारी छ । त्यसका अनेक कारण छन् । पहिला–पहिला पुरुषहरूले मात्रै दोश्रो, तेश्रो विवाह गर्थे, अहिले सानो संख्यामै भएपनि महिलाहरूले पनि गर्न थालेका छन् । समाज र मानवीय सम्बन्धहरू फरक तरिकाबाट अघि बढिरहेका छन्, अबको केही वर्षसम्म यो अवस्थामा थप वृद्धि हुनेछ । सम्बन्धमा आएको सङ्कटसँगै बच्चाहरूको रेखदेख र हुर्काइमा पनि फरकपन आउने नै भयो । बाबुआमा छुट्टिँदा केही अपवादलाई छोडेर बाबुसँग भन्दा आमासँग बस्ने बच्चाहरूको ‘इमोसनल हेल्थ’ राम्रो देखिन्छ । यद्यपि, यसमा अनुसन्धान नभएकाले तथ्याङ्कसहित बोल्न, लेख्न सक्ने अवस्था भने छैन । सम्बन्धबिच्छेदका कारणले होस् या बाबुको मृत्यु भएर, एकल आमाले हुर्काएका बच्चाहरूलाई संघर्ष त गर्नुपर्छ नै, तर तुलनात्मक रूपमा राम्रो देखिन्छ ।
एकल आमाहरूले कोही मानिस मनपराए भनेपनि उनीहरू प्रायः ‘सन्तान रोज्ने कि विवाह ?’को मझधारमा उभिनुपर्ने परिस्थितिबाट गुज्रिन्छन् । यसो हुनुको मुख्य कारण हामीकहाँ पत्नीको सन्तानलाई आफ्नो सन्तान मान्ने सोच बनिसकेको छैन । आफ्ना सन्तान पछि अपहेलित हुन्छन् कि भनेर महिलाहरूले हम्मेसी आँट गर्दैनन् ।
विगत केही समययता आमाहरूले बच्चालाई यसै छोडेर अरुसँग गएका र बच्चाहरूले ‘आमा आउनु न’ भनेर रुँदै फोनमा कुरा गरिरहेका कारुणिक दृष्यहरू देख्न थालिएको छ । जुन दृष्यले विगतमा गर्दै आइएको आमाको परिभाषालाई सोच्न बाध्य बनाउँदै गएको छ, के आमाको ममता पनि परिस्थितिमा भरपर्ने कुरा हो ? तर कस्तो परिस्थिति ? आफ्नो प्रेमीसँग रहँदा÷बस्दा अकस्मात पेटमा बच्चा आएपछि कुनै उपाय नहुँदा जन्मिएका बच्चाको हत्या गर्नुपर्ने या बेबारिसे छोड्नुपर्ने निर्मम परिस्थितिबाट गुज्रिएकी आमा… जिन्दगीमा अनेक दुःखकष्ट सहेर बच्चा हुर्काइरहेकी आमा… सबै कुरा हुँदाहुँदै बच्चा छोडेर अर्कोसँग हिँड्ने आमा… । बाबुको परिभाषा प्रायः आर्थिक जिम्मेवारीमा सीमित छ, तर आमा हुनु त्यति सहज कुरा होइन । आमा हुनुको अर्थ बच्चाहरू हुर्किउन्जेलको प्रतिबद्धता हुनुपर्ने हो, तर जीवन–ब्यवहारले यसलाई जिन्दगीभरको प्रतिबद्धता बनाइदिन्छ ।
एकर्कामा मन मिलेन भने पतिले पत्नी छोड्नु, पत्नीले पति छोड्नु सामान्य हो । तर, आमाले बच्चा छोड्नुचाहिँ आफैमा आश्चर्यजनक, पीडादायी र असामान्य हो । आफ्ना सन्तान आफूभन्दा टाढा छन् भने आमाले प्रायः खाने बेलामा बच्चालाई नसम्झिएको हुँदैन । अति भयो भने महिलाहरूले संसार बिर्सन सक्छन् तर बच्चा बिर्सन सक्दैनन् भन्ने मान्यता हो । आमाको काखमा हुर्कन पाउनु बच्चाको अधिकारको पनि हो । त्यसैले त यो विश्वका कुनैपनि मुलुकमा पति–पत्नीबीच सम्बन्ध बिच्छेद हुँदा बच्चा बालिग नहुञ्जेलसम्म आमालाई बच्चा साथमा राख्ने हक छ, जुन हक बाबुलाई प्राप्त छैन । तर हिजोआज सम्बन्ध बिच्छेद गर्न अदालत पुगेका कतिपय महिलाहरूले बच्चा जेसुकै होस्, उसको सन्तान हो जेसुकै गरोस् भनेको पनि सुन्न थालिएको छ । सन्तानका लागि आफ्नो साथमा आमा हुनु भनेको बाबुकी श्रीमती आफूसँग हुनुमात्र होइन, एउटा ठुलो ओत हो, भरोसा हो, संसार हो । त्यसैले महिलाहरूले स-साना बच्चा छोडेर हिँड्न मिल्दैन । पतिसँग बस्नै नसक्ने अवस्था आयो भने बच्चा लिएर अलग बस्न मिल्छ । यदि दोश्रो विवाह नै गर्ने हो भने पनि सन्तानलाई साथमै राख्न सक्नुऱ्यो । हाम्रो जस्तो समाजमा सन्तान भएका आमाहरूको दोश्रो विवाह त्यति सफल देखिएको छैन । विभिन्न कारणले एकल भएका पुरुषहरूले दोश्रो विवाह गर्दा सन्तान भएका महिलाले जस्तो अवस्था खासै भोग्नु पर्दैन । यसो हुनुको प्रमुख कारण बासस्थान र सम्पत्तिसँग जोडिएको छ ।
बच्चा पाउनु नपाउनु अहिले ब्यक्तिगत चाहना र रोजाईको विषय हो तर पाएपछि सानो बच्चा छोडेर हिँड्नु उनीहरूप्रतिको अन्याय हो । बच्चाहरू चराले जस्तै आफै घर छोडेर हिँड्न सक्ने भएपछि आमाले आफ्नो जिन्दगीलाई फर्किएर हेर्नुपर्नेगरी प्रकृतिले जिम्मेवारी दिएको छ । तर त्यतिबेलासम्म आफूलाई फरक जिन्दगी बाँच्न धेरै पटक सोच्नुपर्ने अवस्थामा महिलाहरू पुगिसकेका हुन्छन् । हाम्रो समाजमा आमा हुनु भनेको आफ्ना धेरै रहर र चाहनाहरू मार्नु पनि हो । युवा अवस्थामै एकल भएका महिलाहरूले सन्तान हुर्काउन के-के कुराहरूको त्याग गरेका हुन्छन् भन्ने अनुमान जो–कोहीले गर्न सक्दैन । शारीरिक, मानसिक, आर्थिक, भावनात्मक, प्राकृतिक, कृत्रिम, मानवीय धेरै कुराहरू… । जो आमाहरू युवा अवस्थामै एकल भएर बच्चा हुर्काइ उनीहरूलाई आफ्नो खुट्टामा उभ्याएर समाजमा बहादुर भनेर चिनिएका छन्, उनीहरूले भोगेको संसार र एक्लै–एक्लै उक्लिएको पहाड बाहिर देखिएजस्तो सहज छैन । एकल आमाहरूले कोही मानिस मनपराए भनेपनि उनीहरू प्रायः ‘सन्तान रोज्ने कि विवाह ?’को मझधारमा उभिनुपर्ने परिस्थितिबाट गुज्रिन्छन् । यसो हुनुको मुख्य कारण हामीकहाँ पत्नीको सन्तानलाई आफ्नो सन्तान मान्ने सोच बनिसकेको छैन । आफ्ना सन्तान पछि अपहेलित हुन्छन् कि भनेर महिलाहरूले हम्मेसी आँट गर्दैनन् । तर अहिले कतिपय महिला घरमा पत्नी भइरहेकै पुरुषसँग आफ्ना स-साना सन्तान छोडेर जथाभावी हामफालेको देखिन्छ, सुनिन्छ । यसो गर्न न हाम्रो कानूनले दिन्छ न त प्राकृतिक जिम्मेवारीले । यस्ता अस्वस्थ अभ्यासलाई परास्त गर्न समाजमा ब्यापक छलफल हुनुपर्ने देखिन्छ । यसमा लाने-जाने पुरुष-महिला दुवै समानरूपमा दोषी छन्, हुन्छन् ।
विश्वका कुनैपनि मुलुकमा पति-पत्नीबीच सम्बन्ध बिच्छेद हुँदा बच्चा बालिग नहुञ्जेलसम्म आमालाई बच्चा साथमा राख्ने हक छ, जुन हक बाबुलाई प्राप्त छैन । तर हिजोआज सम्बन्ध बिच्छेद गर्न अदालत पुगेका कतिपय महिलाहरूले बच्चा जेसुकै होस्, उसको सन्तान हो जेसुकै गरोस् भनेको पनि सुन्न थालिएको छ । सन्तानका लागि आफ्नो साथमा आमा हुनु भनेको बाबुकी श्रीमती आफूसँग हुनुमात्र होइन, एउटा ठुलो ओत हो, भरोसा हो, संसार हो ।
दोश्रो विवाह गर्नेमध्ये धेरैको सन्तानसँगै विगतको कुरा बारम्बार ल्याएर सम्बन्धलाई किनारामा पुऱ्याउनेदेखि सम्पत्तिलगायतका कुराबाट सिर्जना भएको तनाव अन्ततः पश्चातापमा टुङ्गिएको देखिन्छ । पहिलो विवाह असफल भएकाहरूले म यसपल्टचाहिँ सही निर्णय गर्दैछु या बल्ल सही मान्छे भेटेँ भनेर विवाह गरेका हुन्छन् । सुरुमा सही लागेको त्यही मान्छे समयक्रममा गलत बनिदिन्छ । खासमा यो महिला, पुरुष भन्दापनि मानिसको नियतसँग सम्बन्धित कुरा हो । तर दोश्रो विवाह गरेर दुःख र धोखा पाउनेमा धेरैजसो महिला नै देखिन्छन् । दोश्रो विवाहमा समस्या त विकसित मुलुकमा पनि आउँछ, तर बच्चाको मामिलामा प्रायः उनीहरू हामीकहाँ जस्तो दुष्ट सोच राख्दैनन् । अपवादका मुद्दा जहाँ पनि हुन्छन् तर कम छन् । मेरी श्रीमती या श्रीमानको छोरा वा छोरी भन्दै परिचय गराउँछन् । स्टेप फादर, मदर, स्टेप सिब्लिङ्स हामीजस्तो छोराछोरी या बाबुआमा चिनाउन धक मान्दैनन् । मन मिलुञ्जेल सँगै बस्छन् नमिलेको दिन छुट्टिन्छन् । हाम्रोजस्तो नाटकीय जीवन बाँचेर विवाहलाई इज्जतको विषय बनाउँदैनन् ।
सन्तानले पनि एकल आमाबाबुका सम्बन्धहरूलाई सामान्यरूपमा लिन्छन् । आमाहरूको आफ्नै संसार हुँदा उनीहरूलाई फरक पर्दैन, किनभने सन्तानप्रति उत्तरदायित्वसहितको संसार हुन्छ त्यो । मेरी श्रीमती या श्रीमानको छोरा या छोरी भन्नु उनीहरूको संस्कृतिमा सामान्य कुरा हो । विकसित मुलुकमा लामो समयदेखि एक्लै बसेका महिला/पुरुष भेट्नै गाह्रो छ । एकल महिलाको संस्था खोलेर बिधवालाई रातो पहिरन अभियान चलाएकी हाल मानवअधिकार आयोगकी सदस्य डा. लिली थापाले धेरै वर्षअघि एउटा अन्तर्राष्ट्रिय सम्मेलनबाट फर्किएपछि भनेकी थिइन्, ‘हेर न, श्रीमानको मृत्यु भएदेखि यति लामो समयसम्म एक्लै जीवन बाँचेको थाहा पाउँदा बाहिर त अनि तिम्रो इमोशनल वेलबिइङ्ग ? भनेर पो सोध्दा रहेछन् ।’ तर हामीकहाँ त एकल आमाले आफ्नो भावनात्मक सम्बन्ध हेर्न थाल्यो भने बच्चाहरूको ‘इमोशनल वेलबिइङ्ग’ अप्ठ्यारो अवस्थामा पुग्छ । हाम्रा बच्चाहरूको हुर्काइ फरक छ, ‘ए.. तिम्रो आमाले त दोश्रो बिवाह गरेको रे हो ? उ त तिम्रो आफ्नै बाउ होइन रे हो ?’ भनेर पटक-पटक डिस्टर्व गर्ने समाज छ । एकल महिलाको मात्र नभइ पति साथमै भएका महिलाहरूका लागि पनि हाम्रो जस्तो समाजमा आमा हुनुको अर्थ आफू धेरै प्रकारका ‘वेल बिइङ्ग’हरूबाट टाढा रहेर सन्तानको भविष्य अघि बढाउनु हो । त्यसैले त ‘आमा’को नाममा विश्वमा धेरै कविता, गीत र कथाहरू लेखिए, स्लोगनहरू बने । सानै उमेरमा सन्तानलाई छोडेर आफ्नो खुशी खोज्ने आमाहरू अन्ततः दुःखी नै भएको देखिएको छ । यसको अर्थ आमाले खुशी खोज्नै मिल्दैन, खुशी हुनै मिल्दैन भन्ने होइन । आफू बुझ्ने भएपछि सन्तानले आमाको खुशीको बारेमा सोच्ने अभ्यास पनि भइरहेको छ । खुशी हुनुको अर्थ विवाह र जीवनसाथी मात्रै पनि होइन । आमाको अधिकांश खुशी त्यसैपनि सन्तानकै वरिपरि घुमिरहेको हुन्छ । हामी जो-जहाँ छौँ, आफै एकपल्ट सोचौँ त, आमाले सानैमा छोडिदिएको भए हामी कहाँ हुने थियौँ होला ? के हुने थियौँ होला ?
प्रतिक्रिया