सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रक्रियामा कास्की प्रहरीको हिरासतमा रहेका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले यसरी अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी कानुनी प्रावधान गरिएको अभियोगमा मुद्दा चलाइने जनाएको हो । हिरासत कक्षमा लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ भने यस्तोमा जिप्रका कास्कीका सूचना अधिकारी एवम् डीएसपी वसन्तकुमार शर्माले तस्बिर सार्वजनिक गर्नेलाई कारबाही थालिने बताएका हुन् ।
शर्माले सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई उल्लंघन गरिएको जनाएका छन् । अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने जोकोही व्यक्तिलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने उनले बताएका छन् ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिनअगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्नेगरी फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माले भनेका छन् ।
हेर्नुहोस् प्रहरीद्वारा जारी विज्ञप्ति-

प्रतिक्रिया