एनसीसी इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना प्रथम

एनसीसी इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना प्रथम


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित विश्वव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम पुरस्कार जित्नुभएको छ । १४ डिसेम्बर २०२४ मा आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उहाँले रु २ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

यस्तै, पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु १ लाख पुरस्कार प्राप्त गर्नुभएको छ भने रसियाबाट सहभागी समिरा केसीले तेस्रो स्थान हासिल गर्दै रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटालाई सान्त्वना पुरस्कार नगद रु ३० हजार हासिल भएको छ ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्व मिस नेपाल सुगरिका केसी रहनुभएको थियो ।

आयोजक एनसीसी इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरुलाई एउटै मञ्चमा ल्याउनुका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो भने कार्यक्रमले सहभागीहरुको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा/संस्कृतिको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा. बद्री केसीले बताउनुभयो । उहाँले सम्पूर्ण विजेतालाई बधाई दिँदै दोस्रो पुस्ताका नेपालीहरुको उत्साहपूर्ण सहभागिता रहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

एनसीसी इजरायलले आफ्नो १७औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने २ जना अतिथि वक्ताहरु ओजस्वि आचार्य र पेन्सा रेग्मी उपस्थित थिए । कार्यक्रम साँझ ५ बजे सुरू भई राति १० बजे सकिएको थियो ।