ध्यानको उद्गमस्थल नेपाल

ध्यानको उद्गमस्थल नेपाल


नेपाल योगभूमि हो । तपोभूमि हो । ध्यानभूमि हो । ज्ञानभूमि हो । शिवभूमि हो । विश्वलाई ध्यानको सन्देश दिने एकमात्र देश हो नेपाल । पूर्विय दर्शन विज्ञानको भण्डार हो, सर्वश्रेष्ठ ज्ञानको मुहान हो । विश्वलाई एक सूत्रमा बाँध्ने डोरी हो, अध्यात्मको स्रोत हो । विश्वलाई ज्ञानको प्रकाशले प्रकाशित गर्ने एकमात्र ज्योति ध्यान हो । पूर्विय दर्शन र ऋषिमुनिहरूको अनुपम उपहार हो । कहिल्यै पुरानो नहुने अपरिवर्तित, सत्, चित् र आनन्दको स्वरूप हो । वैज्ञानिक र प्रयोगात्मक ज्ञानको मूहान हो । मानिसका सम्पूर्ण समस्याको समाधान खोज्ने मार्ग हो ।

गुरुपरम्परा भगवान् शिवदेखि आजसम्म पनि विश्वमा सूर्यको किरण जसरी प्रकाशित गर्ने एकमात्रै प्रकाश हो ध्यान । अष्टाङ्ग योगको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आसन, प्राणायाम र ध्यान हो । आसन अर्थात् योगासन जसलाई शारीरिक व्यायाम पनि भनिन्छ । प्राणायाम अर्थात् श्वासप्रश्वास क्रिया यसले सेन्टल नर्वस सिस्टमको कार्यक्षमतालाई बढाउन मद्दत मिल्छ । ध्यान अर्थात् मस्तिक र मनलाई स्वस्थ, शान्त र सक्रिय बनाउँनुका साथै पूर्णतः दोषरहित त शास्वत् आनन्द प्राप्त हुन्छ ।

संस्कृत व्याकरणानुसार ‘ध्यै चिन्तायाम्’बाट ध्यानशब्द निष्पन्न हुन्छ । नेपालीमा एकाग्रता, तन्मयता, तल्लीनता, चिन्तन आदि धेरै अर्थहरू ध्यानका छन् । जापानीहरू झेन र चीनियाहरू च्यान शब्द प्रयोग गर्दछन् । अङ्ग्रेजीमा ध्यानलाई मेडिटेसन पनि भनिन्छ । जुन भाषामा जसरी सम्बोधन गरेता पनि शून्य अवस्थामा जागृत रहनु ध्यान हो ।

ध्यान एउटा यस्तो माध्यम हो जसले मानिसको मनमा रहेको सम्पूर्ण विकारहरूलाई हटाएर निर्मल पारिदिन्छ । ध्यानको विषयसँग एकाकार हुँदा मनमा आउने आनन्द र शान्ति अनुभूतिको अवस्थालाई ध्यान भनिन्छ । दैनिक जीवनमा आइपर्ने समस्याको समाधान, जीवन जिउने कला, तनावलाई नियन्त्रण गर्ने क्षमता राख्नको लागि पनि ध्यान महत्त्वपूर्ण छ । एन्जाइटी र डिप्रेसनबाट बच्न, दिमागलाई तीक्ष्ण बनाइराख्न, धैर्य, आत्मविश्वास, बौद्धिकता बृद्धि गर्न ध्यानले सहयोग गर्दछ । साधनाको निरन्तरतासँगै मनमा स्थिरता, विचारहरूमा स्पष्टता, निर्णय क्षमता, सुख, शान्ति तथा आनन्दको अनुभूति प्राप्त हुँदै जान्छ । ध्यानको प्रभाव मानसिक, शारीरिक, भावनात्मक र चेतनात्मक चारै अवस्थामा रहेको छ ।

ध्यान गर्दा हामीलाई धेरै फाइदा पुग्छ । हरेक तनावबाट मुक्त र थकानबाट राहत मिल्दछ । मनमा आउने अस्थिरता, बेचैनी र एकाग्र हुन सक्ने क्षमता दिन्छ । प्रेम र करूणा जस्ता सकारात्मक मनोभावनामा वृद्धि हुनुका साथै चित्त शान्त, निर्मल र सदा प्रसन्न रहनेछ । ध्यानले जादुको छडी जस्तो तत्काल समस्याको समाधान गरिहाल्दैन, परिणामहरू ल्याइहाल्दैन, साधनाको निरन्तर अभ्यासले मात्र परिवर्तन गर्दछ । जसरी शान्त नदीमा स्पष्ट प्रतिबिम्ब देखिन्छ त्यसैगरी शान्त मनद्वारा हाम्रो विचार र भावना स्पष्ट हुन्छ ।

‘ध्यानम् आत्मस्वरूपचिन्तनम्’ आत्मस्वरूपको चिन्तनलाई ध्यान भनिन्छ । (गीता शाङ्करभाष्य)
‘तत्र प्रत्ययैकतानता ध्यानम्’ ध्येय बस्तुमा मनलाई एकाकार गर्नु वा त्यसैको चिन्तन गरिरहनु ध्यान हो । (पातञ्जल योगदर्शन)
निर्विषय चेतनाको अवस्था नै ध्यान हो । (अष्टावक्र गीता)
कोलाहालबाट मौन र गतिशीलताबाट स्थिरताको यात्रा ध्यान हो । ध्यान आत्माको भोजन हो । (गुरुदेव श्री श्री रवि शङ्कर)
भित्रबाट जाग्नु नै ध्यान हो । (ओशो)
शरीर र मनबाट पर जाने वैज्ञानिक साधना नै ध्यान हो । ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो । जब तपाईं शरीर र मनको सीमितबाट पर जानुहुन्छ तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनु हुनेछ । (सद्गुरु)

ध्यानको शक्ति अलौकिक छ, अपारपार छ, असीम छ । ध्यानविना ज्ञान सम्भव छैन । मानसिक अनुशासनको एउटा अभ्यास हो ध्यान । परमानन्द प्राप्तिक लागि मनको चञ्चललाई रोक्नुपर्छ । मन पूर्ण रूपले विचार शून्य हुनुपर्छ । तबमात्र ध्यान र चिन्तनको गहिरो अवस्थामा आत्माको प्रकाश अवतरित हुन्छ । त्यसैले सरल शब्दमा भन्दा आत्मा र परमात्माको बोध गर्न एउटै मात्र बाटो छ ध्यान । ध्यानको अभ्यास अथवा मनको नियन्त्रण एउटा कठिन कार्य हो । तथापि, निरन्तर अभ्यास र सङ्कल्प नै सफलताको राजमार्ग हो । यसले केही समयमा नै तपाईंलाई पूर्ण लाभ दिन थाल्दछ । ध्यान अवचेतनमनमा लुकेका अव्यक्त तथा दमित भावनाहरूलाई खाली गर्ने एउटा प्रक्रिया हो । यदि हामीमा रहेका यी वासना तथा भावनाहरूलाई उखेलेर नफ्याँक्ने हो भने ती व्यक्तिको दोषहरूको रूपमा प्रकट हुन सक्छ । अल्पकालीन ध्यानले पनि स्फूर्ति प्रदान गर्दछ । एकाग्रताको अभ्यासमा मनले परमानन्दको अनुभव गर्दछ ।

ध्यानको उद्गम स्थल नेपाल हो । आज विश्वले ध्यानको महत्त्वलाई बुझेर विश्व ध्यान दिवसको रूपमा मनाउने घोषणा गरेको छ । संयुक्त राष्ट्र संघद्वारा यसै वर्षदेखि हरेक डिसेम्बेर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने घोषणा भएको छ । यसमा हामी सारा नेपाली गौरवान्वित भएका छौं । विश्वलाई एक सुत्रमा बाँध्ने र वर्तमान समयमा विश्वमा देखिएको सन्त्रासलाई शान्त पार्ने एकमात्र अचुक रामवाण हो ध्यान । यदि विश्वलाई शान्त राख्ने हो भने आणविक हतियारको निर्माण होइन ध्यानलाई विश्व बजारीकरण गर्नुपर्छ ।