पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता


पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ । तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको दाबी गरेको हो ।

उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि नै पाकिस्तानले आफ्नो पश्चिमी सीमावर्ती क्षेत्रमा चरमपन्थी हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ । इस्लामाबादले काबुलका शासकहरूले सीमा पारबाट पाकिस्तानमाथि आक्रमण गर्ने लडाकूहरूलाई निर्मुल पार्न असफल भएको आरोप लगाएको छ ।

तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)का नामले चिनिने पाकिस्तानी तालिवानको तीन वर्षअघि सत्तामा फर्केका अफगानी समकक्षीसँग वैचारिक समानता छ ।

काबुलका नयाँ शासकहरूले अफगानिस्तानको भूमिबाट विदेशी लडाकू समूहलाई हटाउने प्रतिबद्धता जनाएका छन् । तर जुलाईमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को एक प्रतिवेदनले त्यहाँ करिब छ हजार ५०० टीटीपी लडाकू रहेको अनुमान गरेको थियो । अफगानी तालिबान समूहले टीटीपीलाई आतङ्कवादी समूहको रूपमा स्वीकार गर्दैन ।

आक्रमणका घटनाले इस्लामाबाद र काबुलबीचको सम्बन्धमा तिक्तता ल्याएको छ । गत वर्ष पाकिस्तानले लाखौँ गैरकानुनी अफगानी आप्रवासीलाई देश निकाला गर्ने अभियान चलाउनुको एउटा कारण सुरक्षालाई पनि मानिएको थियो । यसअघि, पाकिस्तानी गुप्तचर अधिकारीहरूले तालिवान समूहले शनिबार अफगानिस्तानसँग सीमा जोडिएको एक सैनिक चौकीमा रातभर गरेको आक्रमणमा परी १६ सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएको बताएका थिए ।

एएफपीले जनाएअनुसार मध्यरातपछि करिब ३० जना लडाकूले पहाडी चौकीमा तीनतिरबाट आक्रमण गरेका थिए ।आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । लडाकूहरूले सुरक्षा जाँच चौकीमा रहेका वायरलेस सञ्चार उपकरण, कागजात र अन्य सामानहरूमा आगो लगाएका छन् ।