अन्य मिथक वा आस्थाहरूबाट आफ्नो धारणा बनाउनु भनेको आफूभित्र रहेको चेतनाको प्रकाशलाई बेवास्ता गर्नु हो । त्यस्ता मिथकहरूबाट हाम्रो मन प्रभावित हुनु हुँदैन । ध्यान योगबाट हुने अन्तर्निहित चेतनाको जागृतिले मानव-समाजका सबै मिथकहरूलाई खरानी बनाउँछ र नयाँ खोजको बाटोमा उत्प्रेरित गर्दछ । दुःखका अनेकन कारणहरू खोज्दै जाँदा मानिस अन्तर्मुखी बन्दै जान्छ र अनन्त मौनतामा प्रवेश गर्छ ।
✍ डिल्ली अम्माई (अनाथ अङ्कल)
‘प्रतीत्य-समुत्पाद’ बुद्धको उपदेशको आधारभूत र केन्द्रीय सिद्धान्त हो । पाली भाषामा यो सिद्धान्तलाई ‘पटिच्यसमुत्पाद’ भनिन्छ । प्रतीत्य र समुत्पाद दुई शब्द मिलेर बनेको छ- ‘प्रतीत्यसमुत्पाद’ । पटिच्च = प्रतीत्य (एकको कारण), सम = सह र उप्पाद = उत्पाद (अर्को प्रक्रियाको उत्पत्ति) अर्थात् यसको कारणले गर्दा यस्तो कार्य वा घटना भयो भन्ने भावार्थमा प्रतीत्य-समुत्पादलाई परिभाषित गरिन्छ । प्रतित्य समुत्पादलाई सोझो अर्थमा, एक कर्मको आश्रित कारणले अर्को प्रतिक्रिया वा घटनाको विशाल श्रृंखलालाई जन्माउँछ भनेर बुझ्नुपर्छ।
यसको समग्र अर्थ, कारणको अपेक्षाअनुसार कार्यको उत्त्पत्ति अर्थात् कुनै बस्तुको उपस्थितिमा कुनै अन्य बस्तु वा घटनाको उत्पत्ति हुँदै जानु हो । यसलाई कारण-कार्यसम्बन्धी सिद्धान्त भनेर पनि बुझिन्छ, जसका अनुसार कारण उपस्थित हुँदा कार्यको उत्पत्ति हुन्छ । प्रतीत्य-समुत्पादको सिद्धान्तलाई सापेक्ष कारणतावाद भनेर पनि बुझिने गरिएको छ । यो प्रतित्य समुत्पादको सरल बुझाइ मात्र हो । यसको गहनातामा पुग्दा, प्रतीत्य-समुत्पादले शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई बुझाइरहेको हुन्छ। संसार प्रतीत्य-समुत्पादको नियमअनुसार कार्य-कारण सम्बन्धको भावमा सञ्चालन हुने भएकाले समस्त प्राणी जगत् र वस्तु-सत्ता यस सिद्धान्तबाट पृथक् छैनन् भनेर बुद्ध दर्शनमा बताइएको छ । प्रतीत्यसमुत्पाद अनुसार प्रत्येक वस्तु कारण अनुसार घटित हुन्छ र त्यसले विशाल श्रृंखलाको निर्माण गर्छ । कारण नष्ट भएपछि बस्तुको पनि नाश हुन्छ।
बुद्धका अनुशार, प्रत्येक बस्तु नश्वर छ। जन्मे पछि हरेकले नास हुनैपर्छ। कसैको आयु कल्प-कल्पसम्म हुन्छ जसलाई हामीले अजम्बरी भनेर सम्झन्छौँ । कसैको आयु निमेषभरको मात्र हुन्छ । तर, सबैको उत्पत्तिका कारणहरु बस्तुसापेक्ष हुन्छन् । जन्मनु-मर्नुको चक्र श्रृंखला दु:खको मुख्य कारण हो । प्रतीत्य समुत्पादलाई बौद्ध दर्शनको दोस्रो आर्यसत्य दुःख वा दुःखको कारणमा विशेष विचार गरिएको छ । संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य सम्भव छ र दुःखको अन्त्य गर्ने उपाय छन् भन्ने शाश्वत चिन्तनको व्यख्या गर्ने क्रममा द्वितीय आर्य सत्य अर्थात् दुःखको कारण छ भन्ने ‘आप्त’ वचन नै प्रतीत्य-समुत्पादको मत भावार्थमा प्रकट हो । बुद्ध दर्शनका अनुशार, अज्ञान, संस्कृति वा संस्कार, विज्ञान (प्राप्त गर्ने चेष्टा), नामरूप (स्वरुप), सडायतन (छ इन्द्रिय), स्पर्श, पीडा, तृष्णा, पदार्थ, भव, जात र दुःखद मृत्यु (जरामरण) यी दु:खका बाह्र कारण र कार्यका श्रेणीहरू प्रतित्य समुत्पादको लागि क्रमशः सम्बन्धित छन् । यहि भवचक्रको अनन्त श्रृंखला वा प्रपंचको ज्ञान नहुनुलाई नै बुद्धले दु:खको मुल कारण बताएका हुन् । मानव दु:खबाट मुक्ति पाउन सर्वप्रथम प्रतित्य समुत्पादको सिद्धान्तलाई बुझ्नु आवश्यक छ।
शाक्यमुनि बुद्धका अनुसार प्रतित्य समुत्पाद त्यति सरल छैन, जति हामीले आँकलन गरेका छौँ । यो त्यस्तो चक्रब्यूह हो जसबाट मुक्त हुन ज्यादै मुस्किल हुन्छ । यो भवचक्रको ज्ञानले मानिस आफ्नो कर्म र भावनातिर फर्कन्छ । आत्माको समीक्षाले आफ्ना गलत संस्कार तथा वृतिहरूको ज्ञात हुन्छ र त्यसबाट मुक्त हुने उपायको खोजीमा लाग्छ ।
यो चक्रको व्याख्या गर्दै बुद्धले भनेका छन्- मानिस जाति वा जन्मको कारणले मर्दछ । यो प्रकृतिको अटल सत्य हो । जन्म हुनुको कारण लोभ वा अभिलाषा हो । यसभित्र लोभका विभिन्न रुपहरू, जस्तै– अतिरिक्त यौनेच्छा, सम्पति सुखको अतिरिक्त इच्छा, राम्रो हुने ईच्छा, अरुप लोभ आदि पर्दछन् । लोभको मुख्य कारण बुद्धले उपादान अर्थात बन्धनलाई मानेका छन् । काम उपादान, मिथ्या दृष्टि उपादान, शील ब्रत उपादान र आत्मवाद उपादानले मानिसलाई यसरी दुःखमा लपेट्छ कि मानिस त्यस बन्धनबाट उम्कनै सक्दैन । भगवान बुद्धका अनुशार, उपादान (बन्धन)को कारण तृष्णा हो । यसको अर्थ तीव्र इच्छा वा महत्वाकांक्षा भन्ने हुन्छ ।
तृष्णाको कारणले वेदनाको जन्म हुन्छ । वेदना पनि सुखद, दुःखद र सम गरेर तीन प्रकारको हुन्छ । वेदनाको कारण स्पर्श हो । स्पर्शका कारण शडायतन (६ जनेन्द्रीयहरू) हुन् । शडायतनलाई निरुद्ध गर्नको लागि त्यो भन्दा पछाडिका कारणहरूलाई निरुद्ध गर्नु पर्ने हुन्छ । नामरुप (शरीर)को कारण नै यो छ इन्द्रियको जन्म हुन्छ । नाम भन्नाले वेदना, संज्ञा, चेतना, स्पर्श र मनलाई नाम भनेर जानिन्छ भने चार महाभुतले बनेको शरीरलाई रुप भनेर बुझिन्छ । शरीर नै नहुने हो भने इन्द्रियहरू हुने सम्भावना नै हुँदैन । अरुप लोकमा उत्पन्न हुनेहरूको नाम मात्रै हुने बुद्ध दर्शनले बताएको छ । त्यहाँका मानिसहरू एन्टी म्याटरले बनेको हुँदा हामीले देख्न सक्दैनौँ । जसले पाँचौदेखि आठौँ ज्ञान समाधि पूरा गरिसकेको छ, त्यो मृत्युपछि अरुप लोकमा जन्मने बुद्धदर्शनमा उल्लेख छ । इन्द्रियहरू हुनुको कारण शरीर हो । शरीर हुनुको कारण आशक्ति (विज्ञान) र आशक्ति हुनुको कारण संस्कारलाई मानिएको छ । कर्मकृत परम्परालाई संस्कृति वा संस्कार भनिन्छ । संस्कार तीन प्रकारले निर्माण हुन्छ जसमा काय (कर्म), वाक (भित्री विचारबाट निर्देशित बोलीवचन) र चित्त संस्कार पर्दछन् । संस्कारको कारण अज्ञानता वा अविद्यालाई मानिएको छ । बुद्धले दुःख र दुःखको निरोध गर्ने उपाय तथा प्रतित्य समुत्पाद चक्रलाई जसले जान्दैन वा चार आर्य सत्यको अनुशरण गर्दैन, त्यसलाई अविद्या वा अज्ञानता भनेका छन् । उनकानुशार सबै दुःखको मूल कारण अज्ञानता नै हो ।
क्रिया-प्रतिक्रिया वा कार्य-कारण सिद्धान्तको व्यापकता :
मानव-जीवनमा मात्र नभएर ब्रह्माण्डमा पनि कारण र परिणामको श्रृङ्खला समुन्द्रको लहर जस्तै अन्तरसम्बन्धित हुन्छ । सृष्टिकै कुरालाई लिउँ, अस्तित्वको संघर्षले सृष्टिको एक जीवलाई मानिसमा रुपान्तरण गऱ्यो । जीवनमा आइपर्ने हजारौँ दुःखबाट सिकेर बाँच्ने उपायको खोजीमा चलाएको अविछिन्न संघर्षमा पराजित हुने सबै जीवहरू संसारबाट लोप भए । जसले आफ्ना ज्ञानहरूलाई जिजीविषाका औजारमा बदल्न सके ती जीवहरू एउटा दुःखबाट मुक्त भए र अर्को दुःखको लागि तयार भएर उभिए । संसारको अस्तित्वको लागि प्रकृति पनि निर्वाणकै पथमा छ भन्दा हुन्छ । यस्ता लोकहरू ब्रह्माण्डमा कति होलान् हामीले अनुमान नै गर्न सक्दैनौँ । जीवको पालन गर्न पृथ्वीले पानी, जमिन र सबै प्रकारका आवश्यक तत्वहरू दिएको छ । पृथ्वीको वरिपरि रहेको चुम्बकीय क्षेत्र र जैविक वातावरण सृष्टिलाई दुःखबाट मुक्त गराउनको लागि प्रकृतिले निर्माण गरेको धम्म (पथ) मान्नु पर्छ ।
दुःख र दुःखबाट मुक्त हुने उपाय ब्रह्माण्ड तथा प्रकृतिले आफ्नो लागि आफै तय गरेको छ । सृष्टिले पनि उसको बाटो आफैं खोज्दै अगाडि बढेको छ । त्यसबाट सिकेर मानवले पनि आफैं निर्वाणको खोजि गर्नु पर्छ भन्ने कुरा प्रतित्य समुत्पादको चक्रबाट सिक्न सकिन्छ । यो सिद्धान्त समग्रतादेखि अस्तित्वका हरेक अंश अंशमा लागु हुन्छ । कार्य कारणको श्रृंखला ध्यानले तोडेर महासुन्यको अवस्थामा पुग्नु भन्दा पहिला दुःखका कारणहरूको अनेकन श्रृंखला पार गरेर हिँड्नुपर्छ । ध्यानबाट प्राप्त ज्ञानका हरेक अंशहरू बलेका बत्ति जस्तै हुन् जसलाई निरन्तरको अभ्यास, ध्यान र खोजले निरन्तर प्रकाशित गर्दै दिब्य मौनतामा प्रवेश गरेपछि मानिस महासुन्य अर्थात निर्वाणमा प्रवेश गर्दछ । तर त्यसको पुर्व सर्तमा आफूले अनुभूत नगरेका मिथक वा विचारबाट मन र आत्मालाई खाली गर्नैपर्छ । आत्मालाई आफ्नै सुद्ध ज्ञानले प्रदीप्त गर्नैपर्छ ।
निर्वाण प्राप्त गर्नको लागि सिद्धार्थले जस्तै चार आर्य सत्यको बाटो हुँदै अगाडि बढ्नुको अर्को विकल्प छैन । दुःखका हरेक कारणहरूलाई बेहोर्दै, ध्यान योगबाट कार्य कारणको श्रृंखला तोडेर मानिसले विशाल सून्यता प्राप्त गर्न सक्छ । त्यो भनेको ब्रह्म वा निर्वाणप्राप्ति भन्दा अर्को हुनै सक्दैन ।
अन्य मिथक वा आस्थाहरूबाट आफ्नो धारणा बनाउनु भनेको आफूभित्र रहेको चेतनाको प्रकाशलाई बेवास्ता गर्नु हो । त्यस्ता मिथकहरूबाट हाम्रो मन प्रभावित हुनु हुँदैन । ध्यान योगबाट हुने अन्तर्निहित चेतनाको जागृतिले मानव-समाजका सबै मिथकहरूलाई खरानी बनाउँछ र नयाँ खोजको बाटोमा उत्प्रेरित गर्दछ । दुःखका अनेकन कारणहरू खोज्दै जाँदा मानिस अन्तर्मुखी बन्दै जान्छ र अनन्त मौनतामा प्रवेश गर्छ । जसलाई बुद्धले सुन्यतामा प्रवेश भनेका हुन् । मिथक सकिएर अन्तर्मुखी ज्ञानमा प्रवेश गर्नुअगाडिको अवधि सुन्य समय हो । आठौँ ध्यान समाधि पूर्ण गरेपछि सापेक्ष बस्तु वा उर्जा सुन्यमा परिणत हुन्छन् । उसले सापेक्ष बस्तुलाई देख्नु त परै जावस् अनुभूति गर्न पनि छाडीदिन्छ र ऊ स्वयम् सुन्यमा परिणत हुन्छ । हामी पनि सुन्य हौँ, जगत पनि सुन्य छ र निर्वाण पनि सुन्य छ भनेर बुद्धले यही विशाल सुन्यतातर्फ इङ्गित गरेका हुन् । बुद्धका अनुसार सत्यका दुई आयाम हुन्छन् । एउटा सम्वृति-सत्य जसलाई सबैले देख्न र महसूस गर्न सकछन् र अर्को परमार्थ-सत्य जसलाई केवल बोधी ज्ञानबाट मात्र देख्न सकिन्छ । सापेक्ष सत्य त्यो हो जुन आम व्यवहारमा देखिन्छ । तर परमार्थ-सत्यलाई ध्यानको अन्तिम बिन्दुबाट मात्र देख्न सकिन्छ ।
बिनाकारण केही पनि घटित हुँदैन । जस्तै, नदी वा खोलामा पानी बगीरहेको हुन्छ, त्यसका कारण हजारौँ मूलहरू हुन् । ति मूलको उत्पत्तिको कारण वर्षा हो भने वर्षाको कारण बादल र बादलको कारण सागर हो । पृथ्वीमा पहिलो पटक सागर उत्पत्तिमा पुगेपछि ज्ञानले नयाँ चरणमा प्रवेश गर्छ र ब्रह्माण्डको उत्पत्तिसम्मको चरणमा लैजान्छ । मानिसको जन्मपूर्व र मृत्युपछिको गति प्रतित्य समुत्पाद चक्रको जटिल चरण हो । एक आयामी बिजबाट ब्रह्माण्ड कसरी बन्यो र त्यो पुर्व ब्रह्माण्डको बिज कस्तो अवस्थामा थियो । यो रहस्य अझै जटिल रहस्य भित्र पर्दछ । जसलाई बुद्धत्व प्राप्त गर्नेहरूले मात्र जान्दछन् भनिएको छ।

ब्रह्माण्डको उत्पत्ति हिरण्य गर्भको महाविष्फोटबाट भएको मानिन्छ । त्यो एक आयामी संकेन्द्रित उर्जाको बिष्फोट हुनुको पक्कै कारण छ तर त्यसको अझैसम्म खोजी हुन सकेको छैन । बिष्फोटपछि उत्पन्न रेडिएसनले उर्जा उत्पन्न गर्यो र उर्जा ठण्डा हुँदै जाँदा परमाणुहरूको सृजना भयो, इलोक्ट्रोनले न्युट्रोन र प्रोट्रोनलाई बाँध्यो र त्यसबाट अणुहरू बने । अणुहरूका पनि चुम्बकीय क्षेत्रहरू बने र बाँधिए । त्यही क्रिया-प्रतिक्रिया हुँदै हाइड्रोजन र हिलियम हुँदै पहिलो चरणका तारा तथा निहारिकाको जन्म भयो । त्यसलाई ब्ल्याक होलको गुरुत्व आकर्षणले बाँध्यो । त्यसपछि सौर्य मण्डललाई पनि सुर्यको शक्तिले बाँध्यो । त्यसलाई अंग्रेजीमा ‘च्यानल रियाक्सन’ भनिन्छ भने बुद्धले ब्रह्माण्डको यो अवस्थालाई प्रतित्य समुत्पादबाट बुझाएका छन् । जीव बिकासको क्रममा पनि त्यहि कारण र कार्यको क्रमबद्धताले काम गरिरहेको कुरा अलिक फरक किसिमले डार्विनको बिकासबादी सिद्धान्तले व्याख्या गरेको छ ।
बुद्धले भनेका छन्, जसले प्रतित्य समुत्पादलाई देख्छ, उसले धम्म (आध्यात्मिक मुक्तिको बाटो)लाई पनि देखेको हुन्छ, जसले धम्मलाई देखेको हुन्छ, उसले निर्वाण मार्गलाई पनि देखेको हुन्छ । उनले, जाति अर्थात् जन्मको कारण जरामरण (वृद्ध अवस्था र मृत्यु) हुन्छ भनेर प्रतित्य समुद्पादको उदाहरण दिँदै यो नियम आफूले बनाएको नभएर ब्रह्माण्डको सर्वव्यापी नियम भएको बताएका छन् ।
यसलाई सजिलो गरी बुझाउन बुद्धसँगै घटित एक उदाहरणलाई लिन सकिन्छ । जस्तै-
जब बुद्धलाई जीव, संसार, आदिको बारेमा चौध वटा दार्शनिक प्रश्न सोधियो, उनी सधैं मौन रहे । यी प्रसिद्ध चौध प्रश्नहरूमध्ये केही यस्ता थिए– १–४ – संसार अनन्त छ ? कि छैन ? वा दुवै ? वा दुवै होइन ? ५–८ – संसार नाशवान छ ? कि छैन ? वा दुवै ? वा दुवै छैन ? ९–११ – शरीर छोडेर पनि तथागत कायम रहन्छन् ? कि रहँदैनन् ? वा दुवै ? वा दुवै होइन ? ११–१४ –आत्मा र शरीर एउटै हुन् ? वा फरक ?
यी प्रश्नहरूलाई अव्याकृत प्रश्न (indeterminable questions) भनिन्छ । यिनीहरू विश्व, आत्मा र तथागतसँग सम्बन्धित प्रश्नहरू हुन् । माथिका प्रश्नहरूमा बुद्ध मौन रहे । यसको तात्पर्य उनलाई तिनीहरूको जवाफ थाहा थिएन भन्ने होइन । उनको मौनताले केवल यी प्रश्नहरू त्यतिबेलाको परिप्रेक्ष्यमा व्यवहारिक थिएनन् भन्ने कुराको संकेत गर्दछ । बौद्ध शास्त्रमा बताइएअनुशार, माथिका प्रश्नहरूबाट मानव-जीवनलाई कुनै पनि हिसाबले फाइदा हुँदैन । उक्त प्रश्नहरूको पक्ष वा विपक्षमा प्रमाण वा तर्क जुटाउन सकिएला । तिनीहरूलाई कुनै पनि तरिकाले सत्य वा गलत सावित गर्न सकिएला । यो पारमार्थिक दृष्टिकोणले बेकार छ । यही सोचेर माथिका प्रश्नहरूमा बुद्ध मौन बसेको मानिन्छ ।
ईश्वरबारे बुद्ध :
बुद्ध आत्मा, विश्व, ईश्वर, इत्यादिको अस्तित्त्वमा विश्वास गर्दैनन् । त्यही कारण व्यहावरिक दृष्टिकोणले पनि माथि सोधिएका प्रश्नहरूको उत्तर निरर्थक हुन्छ । यसै सन्दर्भमा बुद्धले भनेका छन्- भिक्षु हो ! केही श्रमण र ब्राह्मणहरू शाश्वतवादमा विश्वास गर्छन् । दृष्टिजाल र बुद्धिको जालमा फसेकाले यी विचारहरूमा विश्वास गर्छन् । तथागत सबै कुरा थाहा पाएर पनि जानेकोमा घमण्ड गर्दैनन् । बुद्धिका यी वर्गहरूमा नफस्नुको कारणबाट नै तथागतहरूले निर्वाणको साक्षात्कार गर्दछन् ।
एक प्रसंगमा बुद्ध भन्छन्, ‘ईश्वर एउटा कल्पना मात्र हो । त्यसैले ईश्वरलाई मान्ने धर्म–पन्थहरू उपयोगी छैनन ।’ उनको तर्कमा ईश्वरवादको सिद्धान्त सत्यमा आधारित छैन । यसले खोजको पूर्ण श्रृंखलालाई अस्विकार गर्छ र पहिल्यै बनिबनाउ निष्कर्ष सुनाउँछ । बुद्धले ईश्वरका विषयलाई सामान्य रूपमा अस्वीकार मात्र गरेका छैनन्, यसका अनेक पक्षका तर्कसंगत दृष्टिले ईश्वरको पूर्ण खारेजी गरेका छन् । बुद्ध दर्शनका अनुशार, मौनता, ध्यान, मिथकबाट मुक्ति, सुन्यतामा प्रवेश र दुःखका कारणहरूको ज्ञान, चेतनाको जागृति, धम्मको ज्ञान र निर्वाण, यो नै मानिसले आफूलाई दुःखबाट मुक्त गर्ने अचुक बाटो हो, यसको अर्को कुनै विकल्प छैन ।
सृष्टि अनादि छ भने सृष्टिलाई कुनै (सृष्टि) कर्ताको जरूरत पर्दैन । कर्ता हुन ईश्वरलाई कार्यभन्दा पहिले उपस्थित गराइनु पर्छ । सृष्टि अनादि होइन, पछि मात्र बनाइएको हो भने अनन्तकालदेखि सृष्टि उत्पन्न हुने समयसम्म त्यो क्रिया रहित ईश्वर थियो भन्ने प्रमाण के ? बुद्धको अर्को तर्क थियो- ईश्वरको चर्चा गरेर कुनै प्रयोजन सिद्ध हुँदैन ।
बुद्धको विचारमा धर्मको मूल ईश्वर र व्यक्तिबीचको सम्बन्धमा होइन, व्यक्ति व्यक्ति र ब्याक्ति र प्रकृतिबीचको साथ र सम्बन्धमा हुन्छ । कुनै पनि धर्मको प्रयोजन एक व्यक्तिलाई अर्को व्यक्तिसँग राम्रो र आदरपूर्ण व्यवहार गर्न सिकाउनु हो । ताकि मानिसले आफ्नो चित्त वा मन शुद्ध राखोस्, प्रज्ञा जगाओस्, आफूभित्र रहेको अज्ञानताको अन्धकार हटाओस् ।
बुद्धको दृष्टिमा ईश्वरको अवधारणा सम्यक् दृष्टि (उचित हितकारी हेराई) मार्गको अवरोधक हो । यही कारण बुद्ध रीतिरिवाज, प्रार्थना, कर्मकाण्ड र पूजा जस्ता कामका विरोधी थिए ।
बुद्ध धर्मका महापण्डित राहुल सांकृत्यान आफ्नो किताब ‘वोल्गादेखि गंगासम्म’मा लेख्छन्- अज्ञानको अर्को नाम नै ईश्वर हो । हामी आफ्नो अज्ञानलाई साफ स्वीकार गर्न लाज मान्छौं । अतः त्यसका लागि संभ्रान्त नाम ‘ईश्वर’ खोजेर ल्याएका हौं । ईश्वर–विश्वासको अर्को कारण मनुष्यको असमर्थता र लाचारपन हो ।
बुद्धको जीवनको अर्को घटना :
मौलुंकपुत्त एक ठूला दार्शनिक थिए । उनका हजारौं शिष्यमध्ये पाँच सय प्रतिष्ठित शिष्य लिएर उनी बुद्धसँग ईश्वरका बारेमा विवाद गर्न गए । उसले यसमा कयौं धुरन्धरलाई पराजित गरिसकेका थिए ।
बुद्धले उनलाई भने- संवाद, विवाद तिमीले जीवनभर गरिरह्यौ, के पायौ त अहिलेसम्म ? ईश्वरका वादविवाद गरम्ला तर उचित समयमा । अहिले तिमी अनुचित स्थान र समयमा वादविवादको निमन्त्रणा गर्दैछौ । जीवन रहस्यबारे तिमीलाई केही थाहा छैन । एउटा शर्त मान्छौ भने म वादविवादका निम्ति तयार छु । दुई वर्ष मसँग चुपचाप बस र जे हुन्छ (आफ्नो मन र शरीरमा) त्यसलाई हेरी मात्र राख । हजारौं मानिस आउनेछन्, जानेछन्, दीक्षित हुनेछन्, भिक्षु हुनेछन्, रूपान्तरित हुनेछन । तर तिमी एक शब्द बोल्ने छैनौ । चुपचाप बसिराख्ने छौ । दुई वर्षपछि ठीक समयमै तिमीलाई वादविवादको समय आएको भनुँला ।
बुद्ध र मौलुंकपुत्तको कुराकानी बुद्धका एक पुराना शिष्य महाकश्यपले सुने र जोडसँग हाँस्न लागे ।
मौलुंकपुत्तले भने, ‘यी हाम्रो कुरा सुनेर किन हाँसिरहेका छन ? मौन व्रतमा प्रवेश गर्नुअघि यिनको हाँसोको कारण थाहा भएन भने मलाई दुई वर्षसम्म कुनै किराले जस्तो खाइरहने छ ।’
बुद्धले महाकश्यपलाई हाँस्नुको कारण सुनाउन भने ।
महाकश्यपले भने, ‘मौलुंकपुत्त, बुद्धलाई ईश्वरका बारे सोध्नु नै छ भने अहिले नै सोधिहाल । किनकी म पनि यसरी नै एकदिन प्रश्न गर्न आएको थिएँ । दुई वर्ष बुद्धको शरणमा बित्यो । दुई वर्षपछि जब बुद्धले मलाई के प्रश्न छ सोध भन्नुभयो, त्यो बेलासम्म मसँग प्रश्न, जिज्ञासा, केही बाँकी थिएन । त्यसैले अहिले सोधिहाल, नभए तिम्रो हालत मेरोजस्तै हुन सक्छ ।’
गहिरो मौन साधनामा मौलुंकपुत्त बसे ।
एकदिन बुद्धले अचानक मौलुंकपुत्तलाई भने–दुई वर्ष बितिसक्यो । अब सोध के सोध्नुछ ईश्वरका बारेमा ?
मौलुंकपुत्तले भने, ‘महाकश्यपले ठीक भनेका थिए, मेरो मनमा सोध्न कुनै प्रश्न नै बाँकी रहेन अब । न ईश्वरको बारेमा न आत्माका बारेमा । मेरो चित्त शून्य र शान्त भइसक्यो । अब केको प्रश्न, केको वादविवाद ?’
मौन बसेर अर्थात ध्यान बसेर मौलुंकपुत्तले आफ्नो समाधन पाए, ईश्वरबारे प्रश्नको अब उनको जीवनमा कुनै प्रायोजन नै छैन ।
धम्मपद श्लोक १६० (अत्तवग्गो ४) ‘अत्ताहि अत्तनो नथो, को हि नाथो परो सिया; अत्तनां व सुदन्तेन, नाथं लभति दुल्लभं ।’
अर्थात् आफ्नो स्वामी आफैं हो, अरू को हुन सक्छ ? चञ्चल चित्तलाई राम्रोसँग नियन्त्रण गरेर यो दुर्लभ स्वामित्व प्राप्त हुन्छ । ईश्वरको अस्तित्व स्वीकार गर्ने हो भने मान्छे आफ्नो मालिक आफैं भन्ने सिद्धान्तको विरोधमा पुग्छ । मानिसले प्रतित्य समुत्पादको नियम बुझ्न विपासना ध्यान गर्दैन, दुःखका कारण खोज्ने जिम्मा इश्वरलाई सुम्पन्छ र सत्यको खोज पनि छाडिदिन्छ ।
अन्त्यमा, ब्रह्माण्डमा घट्ने घटनाका कारणहरू अनेकन हुन्छन् भने त्यसका परिणामहरू पनि अनगिन्ति हुन्छन् । त्यसको श्रृंखला कहिल्यै टुङ्गिदैन । कुनै कुनै कारण र परिणामहरू ज्ञात गर्न सहज मानिन्छ । तर ब्रह्माण्डको उत्पत्तिदेखि अहिलेसम्म घटेका त्यस्ता अनगिन्ति कारण र परिणामहरू छन् जसको रहस्य विज्ञानले पनि पत्ता लगाउन सकेको छैन । मानव दुःखका कारण र परिणामहरूलाई बुझ्ने मात्र नभएर ब्रह्माण्डका रहस्यहरूलाई बुझ्ने सिद्धान्त हो प्रतित्य समुत्पाद । जसलाई साक्यमुनि बुद्धले संस्कृत भाषामा ‘कार्य–कारणवाद’को रुपमा व्याख्या गरे । यी दुःखका कारण बुझेपछि मानिसले निर्वाणको मार्ग भेट्टाउँछ । चार आर्यसत्य (दुःख आर्यसत्य, समुदय आर्यसत्य, निरोध आर्यसत्य र मार्ग आर्यसत्य) भित्र नै यो सिद्धान्त पर्ने भएकोले यसलाई दुःख र त्यसका कारण भित्र रहेर बुझ्न सकिन्छ । माथि नै भनियो, यो नियमलाई नेपालीमा सापेक्ष कारणको सिद्धान्त भनेर बुझिन्छ ।
मान्छेको मनको दूषित स्वभाव अर्थात् तृष्णा, अहङ्कार, आशक्ति, कामना अतृप्तिका कारण यसले मान्छेमा दुःखको संवद्र्धन गर्छ । मनको विकारले गर्दा त्यस्तै किसिमका जैविक-रसायनिक तत्त्वहरू शरीरमा निःसृत हुनाले नकारात्मक संवेदनाहरू जस्तैः क्रोध, घृणा, द्वेष उत्पन्न हुन्छन् र असुरक्षाको भावना जाग्छ । मान्छेले सोहीअनुसार कार्यव्यवहार गर्छ । आफूले दुःख पाउँछ, अरूलाई दुःख दिन्छ, उसबाट दुःख फर्किन्छ र यो चक्र चलिरहन्छ । मानव मुक्तिको सन्दर्भमा दुःखका यिनै सापेक्ष कारण र परिणामको चक्रलाई मेटाउन बुद्धले बिपासना ध्यानको आविस्कार पनि गरे । यो ध्यान पद्दति अहिले संसार प्रसिद्ध हुँदै गएको छ ।
विपासना ध्यान योग त्यस्तो योग हो जसले मानिसलाई आत्मा खोजको विधिबाट आत्मज्ञान पैदा गर्छ । ध्यान गर्नाले मानिस बाहिरी संसारको भोग चिन्ताबाट आफ्नो अन्तरआत्माको चेतनामा फर्कन्छ र आफ्नै कर्मको समीक्षा गर्न थाल्दछ जसलाई बुद्धले आफ्नो दुःखका कारण आफैंले खोज्ने विधि वा आत्मा खोज भनेका छन् । उक्त आत्मसमीक्षाबाट मानिसले आफ्ना विगतका कर्महरूका कारण तथा परिणामहरू पत्ता लगाउँछ । जब मानिस कर्मका कारणहरूको खोजीमा लाग्न थाल्छ, त्यसपछि अरुका विचारहरूको भारी क्रमशः फ्याकिदै जान्छन् र अरुका मिथक विचारबाट मुक्त भैसकेपछि ऊ आत्मिक स्वतन्त्रतामा प्रवेश गर्छ । त्यहि बाटोलाई बुद्धले धम्मको उज्यालो बाटो भनेका छन् । धम्म एक अनुभूति, अनुभव, इन्द्रियभन्दा बाहिरको आवाज हो जुन शिलहरूको पालना गर्दै गरिने साधनापछि भित्री आत्माको सम्पर्कमा आउँछ । त्यसपछि नै मानिसले कार्य कारणको चक्र श्रृंखलाबाट निस्केर निर्वाण प्राप्तिको ढोका खोल्दछ । त्यसैलाई बुद्धले प्रतित्य समुत्पाद सिद्धान्तको बुझाइलाई चेतन जागृतिको आधारभूत चरण भनेका हुन् । त्यसपछि मानिसले आफू निरपेक्ष नरहेको कुरा थाह पाउँछ र उसभित्र क्रमशः परम कोमलता र समताभाव उत्पन्न हुन थाल्दछ ।
बुद्ध वा बुद्धभित्र रहेको चेतनाले मानव जातिलाई बाटोमा अल्मलिएर आत्तिएको, दुःखको पासोले निःसास्सिएको र अनेकन मतको भारीले निचोरिएको पायो । संसारिक मान्छे अरुका मिथक वा विचारको कारण दास बनेको देख्यो । छ जनेन्द्रिय (सडायतन)को अनुभूतिबाट मानिस किन लालायित भै रहन्छ भन्ने कुराले बुद्धलाई कारण र परिणामहरूको श्रृंखला बुझ्न बाध्य बनायो । उनले अन्त्यमा मानव दुःखलाई देखेनन् मात्र बुझे र निराकरणको उपाय खोजे । उनको बुझाई शील र आर्यसत्यको अनुशरण गरेर तपिएको ध्यानबाट आध्यात्मिक ज्ञान प्राप्तितर्फ थियो । चिन्तनबिना ज्ञान र ज्ञानबिना निष्कर्ष प्राप्त गर्न सकिन्न । नविनतम ज्ञान प्राप्तिको बाटो भनेको ध्यान हो । ध्यानले मानिसलाई अरुबाट सृजित भ्रम र मिथकहरूबाट मुक्त गराउँछ, आत्मिक चेतनाको बत्ति जलाउँछ र निर्वाण वा मुक्तिको लागि बाटो तय गर्दछ । बासतावमा प्रतित्य समुत्पाद सिद्धान्तको सार पनि यहि हो ।
‘यदा हि तं न जन्मेति जरामरणनाशिनं।
एवं वीतरागानं शान्तं निर्वाणमुत्तमं ।’
अर्थात्, जब जन्म, वृद्धावस्था र मृत्युको अन्त्य हुन्छ, तब आसक्ति र घृणाबाट मुक्त भएर मनुष्य परम शान्ति र निर्वाण प्राप्त गर्दछ ।
(धम्मपद, श्लोक २०३)
प्रतिक्रिया