श्रीमान् तथा श्रीमतीका लागि सुन्दर उपहार

श्रीमान् तथा श्रीमतीका लागि सुन्दर उपहार


मैले/तपाईंले गर्नुपर्ने धेरै काम होलान् । धेरै राम्रा काम पनि गर्नुभएको होला । तपाईंलाई समाजले निकै इज्जत दिन्छ होला र, तपाईंका योगदानहरूका चर्चा पनि निकै हुन्छन् होला । तर, यदि तपाईंको दाम्पत्य सम्बन्ध राम्रो छैन भने यो सबै उपलब्धि र योजनाहरू ‘टालाटुली बटुली कति राम्री पुतली’ सरह नै हुन्छ । बाहिर जतिसुकै चमकदमक देखिए पनि तपाईं आफैभित्र जलिरहनुभएको हुन्छ, रोइरहनुभएको हुन्छ, भन्नै नसकिने असाध्य पीडाहरूबाट गुज्रिरहनुभएको हुन्छ । तर यदि उपर्युक्त सबै उपलब्धि र योजनाहरूमा तपाईं दम्पत्तिको राजामंदी छ, दाम्पत्यजीवन मिलेको छ भने माथि लेखिएका सबै उपलब्धि र योजना नभए पनि संसारका सुखी परिवार र मान्छेभित्र तपाईं पर्नुहुन्छ । सुमधुर दाम्पत्य जीवनले मान्छेलाई पूर्ण बनाउँछ भने बिग्रिएको दाम्पत्य जीवनले सुनैसुनको घरलाई पनि नर्क बनाउँछ । विश्वका सबै काम गर्नुस्, उपलब्धि प्राप्त गर्नुस् तर त्यस भन्दा पनि महत्वपूर्ण प्रयत्नचाहिँ आफ्नो दाम्पत्य जीवनलाई सरल, सहज, सुमधुर र संगीतमय बनाउन प्रयत्न गर्नुस् ।

दाम्पत्य जीवन दुई फरक-फरक व्यक्तिहरूको मिलनबाट आरम्भ हुन्छ । स्वाभाविक रूपमा कहिलेकाहीँ वैचारिक र मानसिक मतभेद हुनु अस्वाभाविक कुरा होइन, तर यस्तो मतभेद मनभेदमा रुपान्तरित हुनुहुँदैन । स-साना मतभेदहरूले दाम्पत्यजीवनलाई अझैं उर्जावान बनाउन सकिन्छ तर यस्ता मतभेदहरूलाई मनभेदका तहमा बुझिनु हुँदैन । गल्ती, कमजोरीहरू सबैबाट हुन्छन्, हरेक कमजोरी वा गल्तीलाई ‘भयानक अपराध’का रूपमा बुझ्नु हुँदैन ।

सरल र सहज दाम्पत्य जीवनका लागि लोग्ने र स्वास्नी दूवैले एकआपसमा कुरा भन्ने, सुन्ने र त्यसमा मनन गर्ने बानीको विकास गर्नुपर्छ । कुरा नभन्ने र नसुन्ने दुवैको दाम्पत्य जीवन असजिलो हुन्छ । आपसी सम्वाद गर्ने बानीले धेरै समस्याहरूको समाधान पत्तो लगाउँछ । केवल लोग्ने बोल्ने वा केवल श्रीमती बोल्ने, अर्काले सुन्ने तर प्रतिक्रियारहित हुनुले पनि समस्याहरू बल्झिन सक्छन् । त्यसैले बोल्ने र सुन्ने अभ्यास लोग्ने र स्वास्नी दुवैको पहिलो प्राथमिकता हुनुपर्छ । बोल्नेहरू भन्दा नबोल्नेहरू मानसिकरूपमा बढी चुनौतीहरू भोगिरहेका हुन्छन् । त्यसैले बोलौँ तर समस्या निदान (पहिचान) र निराकरण (अन्त्य) गर्नका लागि बोलौँ, समस्या बढाउनका लागि होइन । आफ्नो मात्रै समस्या देख्ने तर अर्काको समस्यालाई ‘बाल’ नठान्ने प्रवृत्तिले दाम्पत्य जीवनलाई सुखी बनाउन सक्दैन ।

सुखी दाम्पत्य जीवनको लागि पहिलो आवश्यकता अन्न अर्थात् शारीरिक, मानसिक तथा अध्यात्मिक रूपमा सुरक्षाको प्रत्याभूति हो । त्यसका लागि पहिलो खाद्यान्नको सहज, सरल र सुगम उपलब्धि सुनिश्चित गर्नु हो । जसले खाद्यान्न (जुन जीवनको प्रमुख आधार हो) माया गर्न सक्दैन, उसले लोग्ने वा स्वास्नी वा परिवार कसैप्रति आफ्नो दायित्व पूर्ण गर्न सक्दैन । घर, लुगा र भोजनका विषयमा सधैं लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको ध्यान राख्नुपर्छ । हो, आधुनिक समयमा अन्नको (खाद्यान्न)को विविधताले यसको महत्व कम भएजस्तो लाग्छ, तर सत्य के हो भने एलन मास्कले पनि आफ्नो र परिवारका सदस्यहरूको जीवनको लागि भोजनमै निर्भर रहनुपर्छ । त्यसैले सुखी दाम्पत्यजीवन जीवनका लागि उपलब्ध भोजन लोग्ने र स्वास्नी दूवै संगै बसेर गरौँ । सधैं संगै आफ्नै भान्छामा भोजन गर्नेहरूको दाम्पत्य जीवन सरल, सहज र प्रेमपूर्ण हुन्छ । इषे अर्थात् अन्न र भोजनबाट सन्तुष्ट रहने प्रयत्न गरौँ ।

सुखी दाम्पत्य जीवनको दोस्रो सूत्र हो उर्जा अर्थात् शारीरिक, मानसिक तथा अध्यात्मिक गतिशीलता । जब अन्नद्वारा प्राथमिक आवश्यकताहरू पूरा हुन्छन् स्वाभाविक रूपमा मान्छेको प्रवृत्ति स्वास्थ्य र गतिशील जीवनचर्यामा प्रेरित हुन्छ । यो उद्यमशीलताको प्रक्रम हो । यो प्रक्रममा पतिपत्नी दूवैको पूर्णसहमति र सहकार्य हुनुपर्छ । पत्नीले पतिको र पतिले पत्नीलाई पूर्ण सहयोग गर्नुपर्छ । सामान्यता, पश्चिमा पद्यतिको अधिकारवादी आन्दोलनले पति र पत्नीको परम्परागत सम्बन्धमा निकै क्षति पुऱ्याइरहेको छ । पत्नीहरूले आफूले आर्जन गरेको सम्पत्तिलाई ‘आफ्नै पेवा’ मान्ने तर लोग्नेले कमाएको सम्पत्तिमा आफ्नो अधिकार जमाउने प्रवृत्ति समाजमा हावी हुँदैछ । यसैगरी, तथाकथित धेरै कमाउने पतिहरूले आफूलाई ‘कूलीन’ मान्दै प्रारम्भिक जीवन-सङ्घर्षमा सघाउने पत्नीलाई अवहेलना गर्ने ‘नरपशु’ पनि प्रशस्त छन् । असलमा, शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यका लागि राम्रो मन हेर्नुपर्छ, पैसाको रवाफ होइन । पैसाले रवाफ दिन सक्छ तर माया, ममता, स्वास्थ मन दिन सक्दैन । त्यसैले पतिपत्नी दुवैले गतिशील जीवन जीउनका लागि एकअर्कालाई गतिशील बनाउनुपर्छ ।

अधिकारवाद राजनैतिक आन्दोलन हो । यसको उपयोगिता आफ्नै ठाउँ छ । तपाईंले आफ्नी श्रीमतीको र श्रीमानको सम्मान गर्नुस्, समान व्यवहार गर्नुस् र समय-परिवेशअनुसार गरम-नरम हुन सिक्नुहोस् । दाम्पत्यजीवन सरल र सहज रूपमा चल्छ । जवानी र पैसाको चलखेलमा अन्त्य भएको दाम्पत्य जीवन वृद्धावस्थाको एक्लोपनले जिउनु न मर्नु पार्छ । हो, मिल्नै नसकिनेसँग मिलेर बस्नु जरुरी छैन तर कसैको बहकाउमा परेर, जोसमा आएर, पैसाको रवाफमा (म आत्मनिर्भर छु) र आफ्नो अहङ्कार शान्त पार्न पतिपत्नीका बीचको पवित्र बन्धन तोड्नेहरू बाहिर चर्चामा रहे पनि भित्र-भित्र पति/पत्नीको माया, छोराछोरी र परिवारजनको स्नेह तथा आफ्नै सन्तोषको अमृतबाट वन्चित हुन्छन् ।

आर्थिक आत्मनिर्भरताले दाम्पत्य जीवन अझै बलियो र सहयोगी बन्नुपर्छ । यदि आर्थिक आत्मनिर्भरता नै दाम्पत्यजीवनको अन्त्यको कारण बन्छ भने सबैभन्दा दुर्भाग्य हो । त्यसैले आर्थिक आत्मनिर्भरता, अधिकारका पूर्वाग्रहहरू, अहङ्कारका असजिला काँडाहरू चिनौं र लोग्ने स्वास्नीका लागि र स्वास्नी लोग्नेका लागि निकटतम सहयोगी बनौं । रायस्पोसाय अर्थात् एकआपसमा मिलेर धन आर्जन गरौँ र सुखी दाम्पत्यजीवनका लागि त्यसको उपयोग गरौँ ।

वैदिक संस्कृतिमा ‘दम्पति’ शब्दको अर्थ पतिपत्नीको साझा स्वामित्वको ‘सम्पति’ भन्ने हुन्छ । पतिले कमाएको सम्पतिमा पत्नीको र पत्नीले कमाएको सम्पतिमा पतिको समान अधिकार छ भन्ने हुन्छ । आजभोलि धेरैजसो पतिपत्नीका सम्बन्धहरू ‘धनसम्बन्धी’को लेनदेन र उपयोगिताका सम्बन्धमा झगडाहरू भएको देखिन्छ । कहीं पत्नी दोषी हुन्छन् त कहीं पति । नेपाली समाजमा भने धेरैजसो लोग्नेहरू दोषी हुन्छन्, किनभने पत्नीकै नाममा राखिएको धनको उपयोग गर्दा पनि पत्नीकै सहमति लिँदैनन् । फलतः पश्चिमा पद्धतिका अधिकारवादीहरूले पतिपत्नीको सम्बन्धलाई घृणावादमा रुपान्तरण गर्छन् ।

असलमा, पति र पत्नी दूवैले आफूले कमाएको वा जम्मा गरेको सम्पत्ति उपयोग गर्दा एकआपसमा सल्लाह र सहमति लिनु नै पर्छ । यही दम्पति शब्द र दाम्पत्यको नीति हो । सहमतिविना नै आर्जित सम्पति खर्च गर्दा परिवारमा किचलो हुन्छ र परिवारहरू भत्किन्छन् । नेपालमा वैदेशिक रोजगारमा रहेका पतिले आर्जन गरेको धन खर्च गर्दा पतिको सहमति नलिने प्रवृत्ति बढ्दो छ जसले दाम्पत्यजीवनमा सङ्कट निम्त्याइरहेको छ । यस विषयमा सचेत हुनुपर्छ । पत्नीउपर अनैतिक सम्बन्धको शङ्का गर्ने लोग्ने र पतिको विश्वासलाई तोडेर अनैतिक सम्बन्ध बनाउने पत्नी दुवैले दाम्पत्यको सुखद पक्ष सधैंका लागि गुमाउँछन् ।

विवाह र दाम्पत्यका विभिन्न महत्वपूर्ण कामहरू मध्ये सन्तान जन्माउनु, हुर्काउनु र हुर्किसकेपछि आफ्नो शीप, ज्ञान र सम्पत्तिसमेत पुस्तान्तरण गर्नु हो । विज्ञानको विकासले सन्तान जन्माउने, नजन्माउने र कतिवटा जन्माउने भन्ने विषयमा दम्पत्तिलाई असीमित अधिकार प्रदान गरेको छ । सन्तान जन्माउने र हुर्काउने विषयको निर्णय गर्नेले जन्मेका सन्तानहरूको सम्पूर्ण रेखदेख, शिक्षा, स्वास्थ्यआदिमा सहकार्य गर्नुपर्छ । संसारका करिव ८ प्रतिशत डिभोर्सहरू सन्तानहरूको हुर्काइमा असहयोगका कारणले हुन्छन् सन्तानलाई केवल पत्नीको दायित्व ठान्ने पुरुषहरू हैकमवादी हुन् । यस्तो दाम्पत्यमा मीठास हुँदैन, दाम्पत्य जीवन बोझझैं चलिरहेको हुन्छ । त्यसैले लोग्ने र स्वास्नी दूवैले सन्तानका सवालमा आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । समय परिवेशअनुसार यदि पत्नीले जागिर खान्छिन् भने पतिले केटाकेटीको हेरविचार गर्न असजिलो मान्नु हुँदैन । तर धेरैजसो नेपाली पतिहरू भोजन, घरको हेरविचार. केटाकेटी र पाहुनालाई पत्नीको दायित्व ठानेर हैकम चलाउँछन् । ‘प्रजाभ्य’ अर्थात् छोराछोरी, आफन्तप्रतिको दायित्व निर्वाहमा पति वा पत्नीलाई एक्लो छोड्नेहरूको दाम्पत्य साह्रै असजिलो हुन्छ । सन्तान पतिपत्नीका प्रेम, एकता र त्यागका प्रतिफल हुन् भने तीप्रति अपनाउने पर्ने दायित्व पनि औचित्यमा आधारित हुनैपर्छ । एकजनाका लागि बोझ बन्नु हुँदैन ।

ऋतुको अर्थ वातावारण हो । मान्छेको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थमा वातावारण (दम्पत्ति निवास गर्ने ठाउँ, समाज, संस्कृति, राजनीति, आर्थिकस्तर र शैक्षिक अवस्थाआदि)ले गहिरो प्रभाव पारिरहेको हुन्छ । अहिले नेपाली युवायुवतिहरू रोजगारीका लागि विदेशमा हुन्छन् । मिडियाहरूले ‘फलानीको स्वास्नी अर्कासँग लागेकी छ, वैदेशिक रोजगारमा रहेका लोग्नेहरूका श्रीमती नाठो खेलाउँछन्, फलानोकी श्रीमती रंगेहात भेटिइन्, फलानीले आफ्ना बालबालिकालाई विचल्ली पारेर पोइला गई’ जस्ता अप्रिय तर युटुबमा बिक्ने सामग्री पस्कने गर्छन् । यसले विदेशमा रहेका पति/पत्नीको मनमा डर र शङ्का उपन्न्न गर्छ । यस्ता समाचारहरू ९९ प्रतिशत असत्य र अतिरन्जित हुन्छन् । दुईचार वटा घटनाका आधारमा सम्पूर्ण महिलाहरूप्रति आक्षेप र अविश्वासको वातावरण बनाउनु अनुचित हो ।

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूले आफ्नी पत्नी वा पतिसँग निरन्तर संवादमा रहेर यस्ता ‘ऋतु’हरूको सामना गर्न सक्नुपर्छ । अर्को कुरा, सधैं सँगै बस्ने दम्पतिहरूले पनि शारीरिक अवस्था, मानसिक चाहना र वाहिरी वातावारणको आधारमा एकापसमा सकारात्मक र आवश्यक व्यबहार गर्ने अभ्यास गर्नुपर्छ । उदाहरणका लागि सधैं ‘सेक्स’मा अभिरुचि नहुन सक्छ । जीवनसाथीको इच्छाको सम्मान नगरी शरीरलाई भोग्नु बलात्कार नै हो । ऋतुहरूको अपमान वा आफ्ना अहङ्कारको प्रदर्शन हो । पतिपत्नीले यस विषयमा विचार र सहमति बनाएर व्यवहार गर्ने हो भने दाम्पत्यजीवन सुखदायी हुन्छ । केवल आफ्नो इच्छालाई प्राथमिकता दिने पति वा पत्नीको लागि दाम्पत्य सुखद हुँदैन ।

तपाईंसंग धन-सम्पत्ति, सामाजिक, सांस्कृतिक सम्पर्क, नाम र काम सबै छ । पतिपत्नी एकै घरमा बस्नुहुन्छ । छोराछोरी पनि ठूला भए, आफ्नो काम गरिरहेका छन् । ठूलो घर छ, गाडी छ । सेवकहरू छन् । यदि पतिपत्नीका बीचमा मित्रताको सम्बन्ध छैन र साहु र ऋणीको जस्तो व्यवहार छ भने यस्तो दाम्पत्यलाई अर्थपूर्ण भन्न सकिन्न । दाम्पत्य जीवनको मूलसार वा तत्व भनेकै पतिपत्नीका बीचमा ‘सखे’ अर्थात् मित्रताको भाव र मित्रतापूर्ण व्यवहार हो । धेरैजसो नेपाली पतिहरू साहुजस्ता हुन्छन् र पत्नीलाई ऋणीजस्तो व्यवहार गर्छन् । साहु र ऋणीको सम्बन्ध भएका दम्पतिको दाम्पत्य केवल कर्मकाण्ड मात्र हुन्छ । त्यसैले हरेक पतिले आफ्नी पत्नीलाई सबैभन्दा प्यारो मित्र र श्रीमतीले श्रीमानलाई सबैभन्दा निकटतम मित्रका रूपमा स्वीकार गर्नुपर्छ । मित्रताको अर्थ हो- एकअर्काको शारीरिक, मानसिक र आध्यात्मिक तहमा सहयोगीपन । पतिपत्नीका बीचमा साहु र ऋणीको सम्बन्धले परिवारलाई ‘व्यापारी’झैं बनाउँछ । छोराछोरीहरू पनि आमाबुबासँग व्यापारीकै स्तरको सम्बन्ध राख्छन् । वैदिक संस्कृतिले पतिपत्नीलाई ‘पार्टनर’का रूपमा बुझ्दैन अपितु असल मित्र तथा सहयोगीका रूपमा बुझ्छ । आधुनिकताको सबैभन्दा खराब पक्ष नै दम्पतिको दाम्पत्य सम्बन्धलाई ‘पार्टनरसीप’का रुपमा लिनु र बुझ्नु हो । व्यापारिक पार्टनरले साझा कम्पनीबाट आफ्नो शेयर लिएर अलग भएझैं दाम्पत्यजीवन हुँदैन । जसले दाम्पत्यलाई पार्टनरसीप ठान्छन्, तिनको दाम्पत्य दिगो हुँदैन । त्यसैले पतिले पत्नीलाई र पत्नीले पतिलाई ‘बिजनेस पार्टनर’को रुपमा होइन जीवनसाथीका रूपमा स्वीकार गर्नुपर्छ ।

अन्त्यमा, पति र पत्नी दुवै फरक परिवेश तथा सिकाईबाट एक ठाउँमा आएको हुँदा यदाकदा समायोजन (Adjustment) मा केही समस्या देखिन सक्छ । तर एकले अर्काको भौतिक सुरक्षा, आवश्यकता, सहकार्य, परिवारसँगको कर्तव्यपालन, समय-परिवेशअनुसार एकआपसी व्यवहार, मित्रतापूर्ण र विवेकपूर्ण व्यवहारले सबै खाले समस्याहरूको समाधान गर्न सकिन्छ । दाम्पत्यजीवन जीवनको सबैभन्दा यथार्थ अवस्था हो । असली दाम्पत्य जीवनका सवालमा सबैका कुरा सुनौँ तर विवेकपूर्ण निर्णय गरेर, एकले अर्कालाई विश्वास गरेर, एकले अर्काप्रति कर्तव्य निर्वाह गरेर, एकअर्काप्रति समर्पित भएर, एकले अर्कालाई मित्र, सहयोगी तथा विश्वासपात्रका रूपमा स्वीकार गरेर दाम्पत्य जीवनलाई सहज र सुखद बनाउने बाटो रोज्नुपर्छ । दाम्पत्यजीवनबाट छुट्टिनुको पीडा र पीडक पति वा पत्नीसित दाम्पत्य बिताउँदा भोग्नु पर्ने नारकीय पीडा भोग्नेलाई थाहा हुन्छ । हाम्रो दाम्पत्य सरल, सहज र मित्रतापूर्ण हुनुको अर्थ हो- हाम्रो खुसी, पूर्णता र आनन्द हामीसँगै छ । आफ्नो परिवार, समाज र राष्ट्र हामीसँगै छ । स्वर्ग हामीसँगै छ ।