तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


परेर होइन पढेर चलचित्रको निर्देशक बन्नुभएका चलचित्र निर्देशक हुनुहुन्छ लक्ष्मीनाथ शर्मा । लामो समयदेखि चलचित्र कर्मलाई निरन्तर रूपमा अगाडि बढाउँदै आउनुभएका शर्माका थुपै्र चेला अहिले चलचित्रकर्ममा रामै्र स्थानमा छन् । चलचित्र लेखन, निर्देशन र चलचित्र कलासम्बन्धी पुस्तकका लेखक लक्ष्मीनाथ शर्मा आफ्नो पूरा जीवन नै चलचित्र विधामा लगाउने सोचका साथ लागिपर्नुभएको छ । ओस्कार कलेजका प्राध्यापक शर्माले बदलिँदो आकाश, छोरी–बुहारी, साथी, मिलनलगायत दुई दर्जन सिनेमाको निर्देशन गरिसक्नुभएको छ । व्यक्ति एक व्यक्तित्व अनेकका रूपमा परिचित शर्माको भोगाइमा जीवन के हो ? घटना र विचार साप्ताहिकको स्तम्भ तपाईंको दृष्टिमाका लागि उहाँ राजन घिमिरेसँग यसरी प्रस्तुत हुनुभयो ।

० जीवन के हो ?
– प्रकृतिको अमूल्य बरदान, जीवन खुर्पाको बिंड हो– श्रीखण्ड पनि हो
० प्रेम के हो ?
– आकर्षण, माया, स्नेह र विश्वास
० सुन्दरता के हो ?
– अलौकिक आनन्दप्रदायी अनुभूति
० मन के हो ?
– अस्थिर एवम् चञ्चले यात्रु
० भावना के हो ?
– अस्थायी र स्थायी वैचारिक एवम् काल्पनिक उडान
० विवाह के हो ?
– सामाजिक विधान र स्वीकृति
० बन्धन के हो ?
– मीठो र नमिठो सीमारूपी पिँजडा
० अपमान के हो ?
– ग्लानि एवम् पीडाप्रदायी अनुभूति ।
० इज्जत के हो ?
– सामाजिक एवम् राष्ट्रिय सम्मान र प्रतिष्ठा
० बेइज्जती के हो ?
– दुष्कर्म र दुष्चरित्रको प्रतिफल
० मिलन के हो ?
– मेलमिलाप पनि हो, भेट हुनु पनि हो, अनि वियोगपछिको सहमति र सम्झौता पनि हो, आकाङ्क्षाको परिपूर्ति पनि हो
० विछोड के हो ?
– ‘मिलन’ भन्ने शब्दको ठीक उल्टो कुरो ।
० जवानी के हो ?
– आफ्नै खुट्टामा उभिएर उमेर तथा समयको सदुपयोग गर्नुपर्छ भन्ने कुराको हेक्का राख्नुपर्ने बेला हो
० बालापन के हो ?
– निर्दोषिताको प्रतीक पनि हो र साना केटाकेटीले अज्ञानता प्रदर्शन गरेझैं वयस्कले कुनै कार्य गर्नु पनि हो
० तृष्णा के हो ?
– अतृप्त आकाङ्क्षा र चाहना, कहिल्यै नमेटिने तिर्खा
० रिस के हो ?
– एक्कासि तीव्र भई मनमा जाग्ने विनाशकारी भावना
० जोस के हो ?
– असमर्थ हुँदाहुँदै पनि एक्कासि समर्थ बन्नु पनि हो, अनि हठात् आँखा चिम्लिएर नगर्नुपर्ने काम गर्ने आँट गर्नु पनि हो
० नसा के हो ?
– मन्द विष
० यौन के हो ?
– जानेमा प्रकृतिको अत्यन्त उपयोगी र सुखदायी उपहार
० सन्तुष्टि के हो ?
– समाप्ति
० कर्तव्य के हो ?
– सफलता मापक यन्त्र
० विश्वास के हो ?
– उदारता हो, हितकारी भावना, प्रगाढ माया हो । विश्वास भन्ने कुरा बाध्यतावश पनि गर्नुपर्छ । यो एउटा सामाजिक आडम्बर र देखासिकी पनि हो ।
० असल के हो ?
– आफू भलो त जगत भलो
० खराब के हो ?
– अविश्वास, घमण्ड, स्वार्थ, भ्रष्ट विचार, नसा, अनैतिकता
० सबैभन्दा ठूलो धोका के हो ?
– जीवन स्वयम् नै धोखा हो
० दु:ख के हो ?
– जीवनको बढी अंश
० सुख के हो ?
– क्षणिक वस्तु
० खुसी के हो ?
– क्षणिक भ्रम
० आनन्द केमा छ ?
– जे गरे पनि छैन, क्षणिक कुरा हो
० मित्र को हो ?
– आपत पर्दा आफूलाई नै आपत परे पनि अर्काको भलो गर्ने मानिस
० शत्रु को हो ?
– घुसघुसे, कपटी, चिप्ले, इष्र्यालु, स्वार्थी, अवसरवादी, नातावादपरस्त व्यक्ति तथा बौलाहा
० सङ्घर्ष के हो ?
– लक्ष्य प्राप्ति र सफलताको चुलीमा पुग्ने फराकिलो सिँढी
० प्राप्ति के हो ?
– सुख र सन्तुष्टिको कारक तŒव
० आस्था के हो ?
– अनुशासनसम्बन्धी स्मृति प्रदायक कुरा
० धर्म के हो ?
– अनुशासन र सुकर्मप्रति सजग गराउने संस्कार
० नैतिकता के हो ?
– असल आचरण बोध गराउने तŒव
० चरित्र के हो ?
– व्यवहार, गुण र बानी–व्यहोराको सूचक
० ज्ञान के हो ?
– दूध र पानी खुट्याउन सक्ने विवेकपूर्ण सामथ्र्य
० बुद्धि के हो ?
– मन र मस्तिष्कमा उत्पन्न हुने बेजोड व्यावहारिक ज्ञान
० सम्झौता के हो ?
– जित र हार तथा बाध्यता र क्षमताबीचको समन्वय
० सृष्टि के हो ?
– प्रकृतिको वरदान र उपहार पनि हो, मानव मस्तिष्क र विज्ञानद्वारा सिर्जित नौलो सुविधा पनि हो । सृष्टि भनेको विश्व ब्रह्माण्ड नै हो ।
० गुरु को हो ?
– आमा, पुस्तक, शिक्षक तथा महान् विद्वान्हरू पनि गुरु हुन्, अनि, निजी अनुभव र असफलताहरू पनि गुरु नै हुन् ।
० राजनीति के हो ?
– समाज एवम् राष्ट्रको इमानदारीपूर्वक गर्नुपर्ने सेवा हो । तर, नेपालमा चाहिँ अचेल भ्रष्टाचार, घुसखोरी, नातावाद, स्वार्थ, अवसरवादिता र धोकालाई पनि राजनीतिमा समावेश गरिएको छ
० देश के हो ?
– आमा र सन्तानको पुज्य वासस्थान । देश भनेको अत्यन्त संवेदनशील भावनाको प्रतीक हो
० समाज के हो ?
– एउटा बृहत् घर, विशाल महल, एउटै परिवार
० पद के हो ?
– कर्तव्य, उत्तरदायित्व र इमानदारीको आसन
० विकास के हो ?
– यथास्थितिमा प्रगति र उन्नति हुनु
० व्यापार के हो ?
– विभिन्न सरसामान बेचबिखन गरी धनार्जन तथा जीविकोपार्जन गर्ने व्यवसाय ।
० अनुशासन के हो ?
– आफू ठीक ठाउँमा बसी जीवनको उत्तरोत्तर प्रगति गराउँदै प्रतिष्ठा र मर्यादा बढाउने उपाय ।