रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर

रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर


पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज (७ पुस) सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको जनाकारी दिए ।

पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उनले बताए ।

यस्तै, जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताए ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताए । सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।