पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको सोमबार (८ पुस) देखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ । प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा सोमबार जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।
जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको जानकारी दिँदै उनले भनेका छन्, ‘आज एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुन्छ, सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुन्छ ।’
यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनको भनाइ छ ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको बताइएको छ ।
सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।
लामिछानेमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।
प्रतिक्रिया