जनता प्रगतिशील पार्टी, नेपालद्वारा अन्य पार्टीसँग सहकार्यका लागि वार्ता टोली गठन

जनता प्रगतिशील पार्टी, नेपालद्वारा अन्य पार्टीसँग सहकार्यका लागि वार्ता टोली गठन


जनता प्रगतिशील पार्टी, नेपालले विभिन्न राजनीतिक दलसँग सहकार्यका लागि वार्ता टोली गठन गरेको छ ।

पार्टी अध्यक्ष हृदयश त्रिपाठीले एक विज्ञप्ति जारी गरी देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भएको र अर्थतन्त्र झन् गिर्दो अवस्थामा रहेकाले दलहरूबीच सहकार्यको आवश्यकता औँल्याउँदै पार्टीले वार्ता टोली गठन गरेको जानकारी दिएका छन् ।

सो पार्टीको तर्फबाट डा. शिवजी यादवको संयोजकत्वमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ, यो गति निरन्तर ह्रासोन्मुख छ । ग्रामीण जनजीवन आक्रान्त छ । जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्यता बढ्दो छ’, अध्यक्ष त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ । तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायत दलहरूलाई सहकार्य गर्न अनुरोध गर्दछौँ ।’