संविधान संशोधन कार्यदल चाँडै बनाइने गृहमन्त्रीको उद्घोष

संविधान संशोधन कार्यदल चाँडै बनाइने गृहमन्त्रीको उद्घोष


गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन् । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको जानकारी उनले दिए ।

‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौं । त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौं’, गृहमन्त्री लेखकले भने, ‘त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।’

समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो ।