न्यायो कपडा या आगोले शारीरिकरूपमा जाडोबाट मुक्ति दिलाएपनि कठिन मानसिक अवस्थाबाट नगुज्रनका लागि चाहिँ मानिसहरूसँग घुलमिल, कुराकानी र आफन्तसँगको निकटता नै महत्वपूर्ण हुन्छ । यदि आफू वरिपरि त्यसप्रकारको वातावरण छैन भने आँखा चिम्लिएर ध्यान गरौँ ।
✍ बबिता बस्नेत
आफ्नो शैक्षिक र आर्थिक अवस्था मजवुत बनाउन विभिन्न देश पुगेका युवाहरू मध्ये कतिपय फ्रष्ट्रेशन र फ्रष्ट्रेशन बढ्दै जाँदा डिप्रेशनबाट गुज्रिएको पाइएको छ । डिप्रेशनका कारण कतिको जीवन नै समाप्त भएको छ भने कति निकै कठिन अवस्थाबाट गुज्रिएको भनी आफैले सामाजिक सञ्जालमा भन्नेगरेका छन् । कतिले चुपचाप यो कठिन अवस्था गुजारिरहेका होलान् यसै भन्न सक्ने अवस्था छैन । जिन्दगीमा आइलाग्ने सङ्कटका रूप अनेक छन् । कसैलाई केको अभाव, कसैलाई केको, जीवन अब सहज होला भन्ने आशामा अनेक सङ्घर्ष गर्दै जाँदा भावनात्मक सङ्कटका कारण अप्ठ्यारो परिस्थितिमा पुग्नेहरूको सङ्ख्या ठुलो छ । सानो छँदा पढाइ सकिएपछि त आनन्द हुन्छ जस्तो लाग्ने, त्यसपछि काम पाएपछि त ब्यस्त भइहालिन्छ सबै कुरा ठिक हुन्छ भन्ने लाग्ने, अनि विवाह, बच्चा, सन्तानको पढाइ… ‘यसपछि त सब ठिक हुन्छ, अब त खुसीका दिन आउँछन्, जीवन सहज हुन्छ’ भन्दाभन्दै कुनै दिन लाग्नसक्छ, अहिले भन्दा त पहिलेकै जिन्दगी ठिक थियो, सहज थियो । मानिसहरूमा थोर बहुत ‘फ्रष्ट्रेशन’ सबैमा हुन्छ भनिन्छ, कहिले बढी हुन्छ कहिले कम, कसैमा धेरै, कसैमा कम ।
फ्रस्ट्रेशन बढ्दै गएर डिप्रेशनमा परिणत हुने कारणहरू अनेक छन्, जसमध्ये एक प्रकृतिमा हेरफेर अर्थात् मौसम परिवर्तन पनि हो । जसलाई ‘सिजनल डिप्रेशन’ भन्ने गरिन्छ । हामीमध्ये कतिलाई जाडो हुँदा या दिन धुम्म पर्दा मनमा नरमाइलो लाग्छ, यो मौसमी डिप्रेशनको सामान्य लक्षण हो । बाहिरका मात्र कुरा होइन, नेपालमै पनि जाडो महिनामा सिजनल डिप्रेशन हुनेहरूको सङ्ख्या ठुलो हुन्छ । कतिपय देशमा जाडो महिनामा घाम देख्नै नपाइने, जतिबेला पनि अँध्यारो मौसमका कारण गर्मी मौसमको तरलनामा जाडोमा सिजनल डिप्रेशन बढी हुने गर्छ । युवाहरूमा मात्र नभइ सबै उमेर समूहमा यस्तो अवस्था आउनसक्छ, आइरहेको छ ।
कतिलाई धुम्म कुइरो लाग्दा खुशी मन पनि भारी हुन्छ, घाम नलाग्दा जिन्दगीमा के-के कुराको अभाव भए झैं, ठुलै घटना÷दुर्घटनामा परे झैं नरमाइलो महसूस हुन्छ । सम्झिँदा खास त्यस्तो केही भइरहेको हुँदैन । मौसमले पनि मानिसको जीवनमा यस्तो असर पार्न सक्छ भन्ने कतिलाई थाहा नहुन सक्छ तर भित्रभित्रै असर पारिरहेको हुन्छ । हामीकहाँ यस्ता विषयमा खासै चर्चा हुँदैन । राजनीतिक खिचातानीबाट मुक्त भएका मुलुकमा आफ्ना नागरिकको सुखदुःख, खुशीलाई लिएर रिसर्चहरू हुन्छन् । अमेरिकामा २५ प्रतिशत मानिसहरू मौसमी डिप्रेशनको सिकार हुने रहेछन् । युकेमा २० लाखको हाराहारीमा मानिसहरूलाई असर पर्ने रहेछ । कतिपय मुलुकमा मौसमी डिप्रेशनबाट बच्नका लागि काउन्सिलिङको ब्यवस्था गरिँदोरहेछ । भिटामिन ‘डी’ खाने, घाम लागेको दिन बाहिर बस्ने सल्लाह दिइँदोरहेछ । हामीकहाँ पनि जाडो महिनामा मानसिक समस्याबाट गुज्रनेहरूको सङ्ख्या ठुलो छ तर रिसर्च नभएका कारण कति छ यसै भन्न सक्ने अवस्था भने छैन । आफूलाई महसूस भएपनि अरुले के भन्लान् भनेर हामी आफ्नो बारेमा बताउँदैनौँ, चर्चा गर्दैनौँ ।
मौसमी डिप्रेशन बाहेक पनि मानिसहरू अहिले बढी नै तनावबाट गुज्रिरहेको भेटिन्छ । विगतमा तनावको प्रमुख कारण आर्थिक भएपनि अहिले आएर प्रविधि पनि अर्को मुख्य कारण बन्दैछ । हिजो घरमा सीमित झगडाहरू अहिले प्रविधिको प्रयोगले विश्वब्यापी हुन थाले । मानिसहरू आफूलाई ध्वस्त बनाउने गरी सामाजिक सञ्जालमा शब्दहरू ओकलिरहेका छन् । हिजो राम्रै छवी भएकाहरू पनि जे पायो त्यही बोलेका कारण मोबाइल स्क्रोल गर्दा ‘योचाहिँ नआए हुन्थ्यो नि’ जस्तो लाग्ने भएका छन् । हेर्दाहेर्दै मानिसहरू भान्सादेखि ओछ्यानसम्मका ब्यक्तिगत कुराकानी सार्वजनिक गर्न थाले । के कुरा सार्वजनिक रूपमा ब्यक्त गर्ने, के नगर्ने ख्याल नगर्दा आफैले बोलेको कुराले मानिसलाई तनाव दिन थाल्यो । अरुले बोलेको कुरामा प्रतिक्रिया दिएको कारणले आत्मग्लानी महसूस गर्न थाले । सार्वजनिक रूपमा एउटा झुट बोलेपछि त्यसलाई छोप्न अर्को झुट बोल्नु पऱ्यो, एकपछि अर्को थेग्न नसकेर मानसिक रुपमा विक्षिप्त झैँ बनिरहेका छन् । लागुऔषध जस्तै डरलाग्दो भएर प्रविधिले मानिसलाई डिप्रेशनतिर धेकलिरहेको छ ।
भनिन्छ, आफूसँग तथ्य छैन भने नबोल्नु, आफ्ना शब्दले कसैलाई चोट लाग्छ भने नबोल्नु, आफूलाई अपमान गर्ने मान्छेको अघिल्तिर नबोल्नु । तर, कतिपय मानिसहरू आफ्नो कुरा अरुलाई पटक्कै सेयर नगर्ने हुन्छन् । कम बोल्नु या मौन रहनु जीवनमा राम्रो कुरा हो, तर मनमा पीडा राखेर गरिने मौनताचाहिँ घातक हुन्छ ।
तनाव केलाई भन्ने, कति सम्मलाई भन्ने र तनावलाई कसरी लिने भन्ने कुरा मानिसले परिस्थितिलाई हेर्ने दृष्टिकोणमा भर पर्छ । कतिले त्यही कुरालाई सामान्यरूपमा लिन्छन्, कतिले सोही कुरालाई विकराल बनाइरहेका हुन्छन्, जसका कारण उनीहरूमा ‘इमोशनल क्राइसिस’ बढ्दै जान्छ, बढ्दै गइरहेको छ । अर्काको बारेमा नराम्रो सोच्नु र बोल्नु पनि तनावको विषय हो । कसैको प्रसंशा गर्दा मनमा जति आनन्द आउँछ, नराम्रो कुरा गर्दा त्यति नै तनाव हुन्छ । कसैलाई नराम्रो भन्नका लागि मानिसले पहिला आफ्नो मष्तिष्कलाई विषाक्त बनाउनुपर्छ । हाम्रो माइण्डले सबै कुरा निर्देश गर्ने हुँदा राम्रो गर्नका लागि राम्रै विचार खेलाउनुपऱ्यो, नराम्रो गर्नका लागि नराम्रै विचारसँग खेल्नुपऱ्यो ।
धेरै बोल्नु र जे पनि बोल्नु जसरी मानसिक तनाव र भावनात्मक पीडाको कारण हो त्यसैगरी बोल्दैनबोल्नु, कुनै कुरा कसैलाई सेयर नै नगर्नु पनि अर्को कारण हो । भनिन्छ, आफूसँग तथ्य छैन भने नबोल्नु, आफ्ना शब्दले कसैलाई चोट लाग्छ भने नबोल्नु, आफूलाई अपमान गर्ने मान्छेको अघिल्तिर नबोल्नु । तर, कतिपय मानिसहरू आफ्नो कुरा अरुलाई पटक्कै सेयर नगर्ने हुन्छन् । कम बोल्नु या मौन रहनु जीवनमा राम्रो कुरा हो, तर मनमा पीडा राखेर गरिने मौनताचाहिँ घातक हुन्छ । हाम्रो समाज यस्तो बन्दै गएको छ कि आफ्नो मनको कुरा जस्ताको तस्तै सेयर गर्ने मानिस पाउन गाह्रो हुँदैछ । जीवनशैली र परिस्थितिजन्य फ्रस्ट्रेशनले मानिसमा डिप्रेशनका लक्षणहरू देखिइरहेका छन् । डिप्रेशनले धेरै मानिसहरू तनावमा छन्, तनावका कारण मानिसहरूमा डिप्रेशन बढ्दै गएको छ । हाम्रो मुड या परिस्थितिहरू जस्तो भएपनि शरीर आफ्नै सिस्टममा चल्ने हुँदा उसले गर्ने काम गरि नै रहन्छ । त्यसैले पनि परिस्थितिहरूलाई सहजरूपमा लिने शक्ति हामीले आफैमा विकास गर्नु आवश्यक हुन्छ, जुन त्यति सहज होइन तर कोशिस गऱ्यो भने असम्भव पनि छैन ।
‘स्ट्रेस कोपिङ्ग मेकानिजम’का बारेमा हामीकहाँ चर्चा हुने गरेको छैन । योग ध्यान, सकरात्मक सोच… उपायहरू फररर… भन्न जति सहज छ, हाम्रा स्कुल, कलेज, घर, कार्यस्थल, अभ्यासमै लागु गर्ने वातावरण त्यति देखिँदैन । घटना सन्दर्भहरूलाई कसरी सहजरूपमा लिने भन्ने कुरा मानिस आफैले आफूभित्र विकास गर्ने हो । कहिलेकाहीँ जीवनमा सोच्दैनसोचेका घटनाहरू एक्कासी भइदिन्छन् । हामी सबैलाई आफ्नो कारणले भन्दा अरुको कारणले हुने तनावहरू धेरै हुन्छन् जस्तो लाग्छ । तर ती तनावको ब्यवस्थापन भने अरुले गरेर हुँदैन, आफैले गर्नुपर्छ । माइण्डलाई ब्यवस्थित गर्न सक्यो भने धेरै कुराको समाधान निस्किन्छ । मानिसको माइण्ड जति डरलाग्दो हतियार हो त्यति नै राम्रो ‘कम्पास’ पनि हो जसले जीवनलाई सही दिशाका लागि मार्ग निर्देशन गर्न सक्छ । जीवन प्रकृतिको उपज भएकाले प्रकृतिसँगको सम्बन्ध निकट राख्नु आवश्यक छ ।
प्रकृति जति समावेशी संसारमा केही पनि छैन । अरुमा त गर्दैन नै, अघिपछिको कुरा मात्रै हो मृत्युमा पनि यसले पक्षपात गर्दैन । चिसोमा हुने मौसमी डिप्रेशन जो-कोहीलाई हुनसक्छ, भावनात्मक सङ्कट आउनुअघि नै यसबाट पार पाउनका लागि आफूलाई एक्लै नराखौँ, आफूमाथि भइरहेको अप्ठ्यारो परिस्थिति सेयर गरौँ । प्रविधिका कारण अरुका गोप्य कुरा थाहा पाइयो भन्दै दङ्ग नपरौँ, यस्तो त भोलि ममाथि पनि आइलाग्न सक्छ भनेर सावधानी अपनाऔँ । न्यायो कपडा या आगोले शारीरिकरूपमा जाडोबाट मुक्ति दिलाएपनि कठिन मानसिक अवस्थाबाट नगुज्रनका लागि चाहिँ मानिसहरूसँग घुलमिल, कुराकानी र आफन्तसँगको निकटता नै महत्वपूर्ण हुन्छ । यदि आफू वरिपरि त्यसप्रकारको वातावरण छैन भने आँखा चिम्लिएर ध्यान गरौँ । हिजोआज ध्यान कसरी गर्ने अनेक तरिकाहरू प्रविधिले उपलब्ध गराएकै छ । प्रविधिको प्रयोग यस्ता कुरामा हुनसक्यो भने जीवन सहज हुन्छ । मौसमी डिप्रेशनबाट बचौँ, अरुलाई पनि बचाऔँ ।
प्रतिक्रिया