बालकृष्ण समले उहिले नै, सायद याे वर्तमानका लागि, लेख्नु भएकाे थियाे- ‘नेपाली मृत्युसँग त्यति डराउँदैन जति परतन्त्रतासित डराउँछ ।’ त्यसै बमाेजिम २०४६ र २०६२/०६३ मा नेपालीजन प्रस्तुत भए । तर, उनै समकाे अर्काे भनाइ- ‘वीर गान्धर्व भाग्दैन, लुक्छ !’ चाहिँ आजकाे अवस्था छ । याे अवस्थाबाट नेपाल कसरी मुक्त हाेला ? याे एउटा सर्वाधिक अहम् प्रश्नकाे अभ्युदय भएकाे छ ।
✍ नकुल काजी
हुन त रुमानियामा २४ वर्ष एकाधिपत्य कायम गरी राष्ट्रपति रहेका निकाेलाई चाउचेस्कुले पनि ऐय्यासी पत्नी र शासनसत्तामा दाइँ गरिरहेका निगुरमुन्टे ‘झाेले’हरूबाट आफ्नाे नम्बरी इतिहास लेखिने भाषण बास्ने गरेका थिए भनिन्छ । निकाेलाइ र उनकी पत्नी एलेनालाई जन-अदालतमा फाँसी दिइएपछि ती भाषणहरू भरुभूमिकाे बालुवा भएर गएका थिए । एकताका युगाण्डाका राष्ट्रपति दादा ईदी अमिन पनि विश्व-समाजकै चर्चामा उकासिएका थिए, जसले प्रतिशाेषवश छ जना सैनिकका टाउका काटेर डाइनिङ टेबल अघिल्तिर फ्रिजमा ती टाउकाका अनुहार आफूतिर फर्काएर राखेका र खाना खाने समयमा फ्रिजकाे ढाेका खाेलेर स्वाद फर्माउँदै गाँस हाल्थे भन्ने अतुल ‘क्रूरता’-काे चर्चा पनि कम गन्हाएकाे हाेइन । उनकाे नाम वाफ झैं त्यतिकै फास्सफुस्स भएर गयाे । उनकाे अनुहारकाे प्रतिकृति पनि सभ्य इतिहासमा कहीँ भेटिंदैन ।
व्यापकरूपमा चर्चित इण्डियन चलचित्र ‘शाेले’-काे राक्षसी मुखपात्र ‘गब्बरसिंह’ (अमजद खान)-ले पनि चरम ‘नकारात्मक मान्छे’-काे इतिहास रचेकै हुन्, जाे एकताका झन्नै पूर्वी गाेलार्द्धकै जन-चर्चाकाे भूइँमा माैलाएकाे थियाे । अहिले पनि कसैले कसैलाई अरबख्रे स्वर उरालेर हकारेकाे सुन्नेले ‘गब्बर’-काे नाम लिन्छन् र भन्छन्- ‘कस्ताे गब्बरे झ्वाँक !’ संसारका कतिपय राष्ट्रलाई थर्कमान तुल्याउँदै धनी र शक्तिशाली राष्ट्र अमेरिकामा डरलाग्दाे घटना गराउन समर्थवान आतङ्ककारी सङ्गठन ‘अल काइदा’-का जनक ओसामा बिन लादेन मारिएकाे १३ वर्षमै उसकाे अस्तित्वकाे चर्चात के, नाम समेत नामेटप्रायः भएकाे छ । त्यति टाढा किन, नेपालकै जंगबहादुर राणाकाे नाम काठमाडाैंकाे धरहरानेर पुग्दा मात्र हाेइन, नेपाली इतिहासकाे कखरा पढेकाहरूले मात्र हाेइन, ‘साउँअक्षर’ नै नचिनेकाहरूले पनि मानवीय सम्वेदनाहीन कठाेर शासकीय घटनाका सन्दर्भमा मात्र लिने गरिराखेका छन् । त्यसाे त पुल बनाउनेकाे नाम जति चर्चामा आउँछ, पुल भत्काउनेहरू त्याेभन्दा कता हाे कता बढ्ता जन-जनका चर्चामा मात्र हाेइन इतिहासले पन्नामा नाक खुम्च्याउँदै निफनिरहेकाे हुन्छ नै ।
वर्तमान ‘संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल’-का वर्षहरूभरिमा आलाेपालाे ‘राज्यसत्ताका एकाधिपति’ बन्दै, अकुत सम्पतिले धन्य हुँदै र आफ्ना, नातेदार-आफन्तदखि निगुरमुन्टे झाेले-भक्तजनलाई समेत खाली भूइँबाट टिप्तै महलमा बसाइँ सार्ने अभ्यास गर्दै आएका तीन ठूला पार्टीका मुखिया-डफेदारहरूकाे पनि समसामयिक इतिहासमा ‘आलेख-परिवेश’ त्यस्तै-त्यस्तैभन्दा सुग्गर देखिने अनुमान हुँदै छैन ।
नागरिक जीवनकाे सिङ्गाे जिजीविषाकै सर्वस्व हाे जीवन निर्वाह, जाे क्रमिकरूपमा अत्यन्त अक्करिलाे, कष्टप्रद र दुसाध्य बन्दै गएकाे छ ! र, ‘ नागरिक समाज’ नै रित्तिंदै गएकाे छ । विदशीकाे रगरगी बढ्दै जाँदाे छ । नागरिकवृत्तमा मूल-जातीय स्वाभिमानकाे दुब्लाउँदाे अवस्था जाे मनाेवैज्ञानिक विवशतावश सहनैपर्ने स्थितिमा दह्रिंदै गइरहेकाे छ । हरेक शिशुले टाउकाेमा लगभग रु. ८७ हजार ऋणकाे भारी बाेकेर पृथ्वीकाे उज्यालाे देख्ने दुर्भाग्यले गाँजेकाे छ । कुल जनसंख्याकाे लगभग एक-तृतियांश ऊर्जावान नागरिकहरू जीवन निर्वाहका लागि विदेशिएका छन् । तिनीहरूबाट आउने रिमिट्यान्स र ऋणबाट अख्तियारशाली तथा पहुँच भएकाहरूलाई पाैलाे छ । नीतिगत र व्यक्तिगत भ्रष्टाचारले केन्द्रीयदेखि पालिकाहरूका वडा-वडासम्मै राेब जमाएर ‘देश’-लाई केवल भूगाेलभित्रकाे माटाेमा सीमित हुने स्थितितिर घिसारिंदैछ । दाेषका प्रति आक्रामक र मुखरहरूलाई ‘ऐन-कानूनका नाै सिङ’ तिखारेर कँज्याउने र सत्ताधिकारका एकाधिपतिहरू स्वयम् जाेगिने अनि तिनका बुख्याचा सरह पाउभक्तहरूलाई जाेगाउने गलत उपाय निःसंकाेच प्रयाेग गरिनेसम्मकाे निर्लज्ज प्रस्तुती भइरहेकाे छ । अतः राज्यकाे परम दायित्व र परम कर्त्तव्यमा पर्ने नागरिकका नितान्त सराेकारका उम्दा र महत्वपूर्ण विषयकाे साङ्गाेपाङ्गाे नै राज्य हाँकिरहेका डफेदारहरूका दम्भी चकचकी प्रदर्शनका लागि बनेका नवाबी महल, आकाशचुम्भी बुर्जा (टाओर), ऐय्यासी सभाभवनहरू, अनेकका बेकामे आयाेग र समितिहरूमा ‘आफ्ना भजक’-हरूलाई पाेष्ने आदि-इत्यादिका ओझेलमा पार्दै स्वनाम-धन्य बनी रमाउने दुष्कर्महरू भइरहेका छन् ।
भ्रष्टाचारकाे विराेध फलाक्तै, सुशासन र समृद्धिका रेसमी भाषण बास्तै विपक्षी विरुद्ध निचाे आलाेचना गर्नु नै शासक शिविरे उपल्ला-तल्ला नायक-नेताहरू तथा ‘राज्य’ हाँकिरहेहरू प्रायः सबैकाे मुख्य ‘उत्तरदायित्व-दैनिकी’ देख्नु-सुन्नु धरातलीय नेपालीकाे दुर्दम्य नियति बनेकाे छ ! आर्थिक-पादार्थिक उपार्जन र माेजमस्तीकाे घाेडा चढेर विकास र समृद्धिकाे गीत गाउने अहमत्याइँले देश र देशवासीकाे भविष्यलाई अतुल घातकाे ओइराे हालिंदैछ । बहुसंख्यक नागरिक कृषि पेशामा सम्पृक्त यस देशमा अहिले कृषकले उब्जाएकाे साग-सब्जी शहर-बजारिया र राजमार्गे उपभाेक्ताका चूलामा आइपुग्दा पाँचथरि विचाैलिया-कमिशनखाेरहरूकाे लुटचक्र पार गरिसकेर किसानले बेच्ताकाे मूल्यभन्दा पाँच गुणा बढी बनिरहे जस्तै अवांञ्छित चालामाला छ देशका हरेक कित्तामा ! ‘आकाशकाे ताराे’ भने झैं रेल र पानी जहाज सञ्चालनकाे प्रयाेजनका लागि भन्दै ‘खैय्यामी कल्पना’-मा खाेलिएका कार्यालयहरूमा नियुक्त सरकारी पार्टीका भजनजीवी जस्ताहरूकाे ताली पिटाइमा लल्कारिने भाषणहरूले कति दिन यस्ता चालामालाहरूलाई छाेप्ला त ? अख्तियारकाे परिधिमा ‘माथिल्ला राजनीतिक सेलेब्रिटि’-काे ‘शक्ति-सवार हल्लाबाेल’ कति दिन माैलाइरहला त ?
४६ किसिमका ‘कर-तिराे’-का थिचाेमिचाेले ‘रैती-रैतान’ बनाइएका बहुसंख्यक नेपालीले २ कराेड ८८ लाख ९१ हजार ७०० रुपैयाँकाे हाते घडीधारी सर्बहारा वर्गमार्गी कमरेडका उखान-तुक्के भाषण सुनेर कति दिन माैनब्रत बस्लान् ? जनाधारकाे प्राप्तिले वैकल्पिक शक्ति बन्छ भन्ने संत्रास आज कसरी समन-दमनकाे गुरुयाेजना अन्तर्गत फँसेकाे छ भन्ने हिसाब नागरिक तप्काले राखेका दृष्यहरू मञ्चित छैनन् र ? ‘त्रिरत्न’-मध्येका बालकृष्ण समले उहिले नै, सायद याे वर्तमानका लागि, लेख्नु भएकाे थियाे – ‘नेपाली मृत्युसँग त्यति डराउँदैन जति परतन्त्रतासित डराउँछ ।’ त्यसै बमाेजिम २०४६ र २०६२-०६३ मा नेपालीजन प्रस्तुत भए । तर, उनै समकाे अर्काे भनाइ – ‘वीर गान्धर्व भाग्दैन, लुक्छ !’ चाहिँ आजकाे अवस्था छ । याे अवस्थाबाट नेपाल कसरी मुक्त हाेला ? याे एउटा सर्वाधिक अहम् प्रश्नकाे अभ्युदय भएकाे छ ।…. बस्, आजलाई यत्ति नै ! शेष फेरि –
प्रतिक्रिया