रेलचालकले आत्महत्या गर्दा फ्रान्समा रेलसेवा अवरुद्ध

रेलचालकले आत्महत्या गर्दा फ्रान्समा रेलसेवा अवरुद्ध


फ्रान्समा एक रेलचालकले आत्महत्या गर्दा रेलसेवा नै अवरुद्ध बनेको छ । रेलचालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसिएफले जनाएको छ ।

मङ्गलबारदेखि बुधबारसम्म पेरिस र दक्षिणपूर्वी फ्रान्सबीचको रेल सेवामा ढिलाइका कारण करिब तीन हजार यात्रु प्रभावित भएका बताइएको छ ।

यात्राका लागि असाधारण रूपमा व्यस्त समय क्रिसमसको पूर्वसन्ध्यामा आत्महत्या गरेपछि मङ्गलबार करिब १० वटा उच्च गतिको (टिजिभी) रेलहरू पाँच घन्टासम्म ढिलाइ भएका थिए ।

पेरिसको दक्षिणपूर्वमा रहेको मेलुनस्थित अभियोजकको कार्यालयले चालकले चलिरहेको रेलबाट उफ्रेर आत्महत्या गरेको देखिएको बताएको छ । उनको शव पछि रेलमार्गनजिकै फेला परेको थियो ।

सो घटनामा सुखद पक्ष के रह्यो भने चालकविना पनि रेलको स्वचालित आपत्कालीन प्रक्रिया सक्रिय भएकाले रेल रोकिएको थियो।

एसएनसिएफले चालकको मृत्युको पुष्टि गर्दै उनले ‘रेल चल्दै गर्दा आत्महत्या गरेको’ बताएको छ । चालकको मृत्युको परिस्थितिबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।