मनले सोचेका कुराहरू पूरा नहुँदा नै मानव जीवनमा अनेकौँ चुनौतीहरू थपिन्छन् जसलाई एक्लै होइन कि आफ्नो विश्वासिलो पात्र वा अभिभावकसँगको पारस्परिक सम्वादले समयमै सामाधान गर्न कोसिस गर्नुपर्छ । यसो गर्दा पनि सम्भव नभए शरीरलाई व्यायाम, योगामा व्यस्त राख्न सक्नुपर्छ साथै पर्यटकीय स्थलको भ्रमणले पनि सहयोग पुग्दछ । अन्यथा मनोपरामर्शदाताको सहायता लिनु पर्दछ ।
✍ दीपक डल्लाकोटी

सामान्यतया मानिसको मनमा स्वचालित ढङ्गले सकारात्मक र नकारात्मक विचार, ज्ञानको उत्पत्ति हुन्छ । मनले धेरै सोच्ने वा धेरै चिन्ता लिइ आफ्नो दैनिक कार्यमा बाधा-अवरोध पुऱ्याएको हुन्छ, जसलाई नै मनोरोग भनिन्छ भने आफ्नो मनको क्रियाकलाप र त्यसका असरहरूको बारेमा ज्ञान लिनु र बच्ने उपायहरूको खोज गर्नु नै मनोविज्ञान हो । मनोविज्ञानको अध्ययनले हरेक ब्यक्तिले जीवनको सकारात्मक र नकारात्मक व्यवहारहरूको बारेमा जानकारी लिन सक्छन् । जस्तै-
१) नातागत सम्बन्ध मा सुधार
२) आफ्नै बारेमा जानकारी
३) आलोचनात्मक सोचमा वृद्धि
४) मानसिक स्वास्थमा जागरुकता
५) तनाव को व्यवस्थापन
६) एक मजबुत सम्बन्ध बनाउने आदि
मनोविज्ञानको अध्ययनले खानपिन, स्नेह, सुरक्षा तथा स्याहारसुसार जस्ता दैनिक गर्नुपर्ने काममा समेत सहयोग गर्दछ । मनरोगले मन या ‘मुड’लाई प्रत्यक्ष प्रभावमा राख्दछ भने मनोविज्ञानले सोही मनलाई ठिकठाक राख्न सहयोग गर्दछ ।
मन र विज्ञान :
मन भन्नाले सरल भाषामा लक्ष्य, मत, विचार तथा बुद्धि बुझाउँदछ । जब मानिसले कुनै लक्ष्य तय गर्दछन् जुन असल या खराब दुवै हुन सक्दछन्, यदि मानिसले आफ्नो जीवनमा अप्ठ्यारो, असफलता र सुन्यता महसूस गर्छ तब आफूलाई लक्ष्यहीन दिशातिर अग्रसरता गराउन सक्दछ । जसले असाधारणदेखि अकल्पनीय घटना पनि घटाउन सक्छ । तर, यदि उसले आफूमा आत्मबल बढाउने शिक्षा र ज्ञान पाउँदछ भने ती असजिला खुड्किलाहरूलाई पार गर्दै सफलता चुम्न पनि पुग्दछ । मन नै त्यस्तो चिज हो जसलाई नकारात्मक भन्दा सकारात्मक दिशा प्रदान गर्न विज्ञानको आवश्यकता पर्दछ । स्वस्फूर्त चेतनाभन्दा बाहेक मानिसले विज्ञानसँग परिचित हुन आवश्यक छ । विज्ञान भन्नाले सामान्यतया त्यस्तो ज्ञानलाई जनाउँछ जुन प्रयोग, तथ्य र सिद्धान्तबाट प्रत्युत्पादन भई लिपिवद्ध भएको हुन्छ । त्यही प्रयोग र अवलोकनबाट प्राप्त ज्ञानलाई मानिसको मनसँग जोड्ने विद्या नै मनोविज्ञान हो ।
मानवको विचलित भावलाई विज्ञानसँग जोड्नु चुनौतीपुर्ण रहँदै आएको छ ।
मनोवाद र मनोविज्ञान :
मन आफै सोच्ने, केही सोचेको वा मनले भनेको कार्य गर्न उत्प्रेरित संज्ञा हो । मनोवाद भनेको सोचेको कार्य सम्पन्न गर्न भित्रभित्रै आफैमा सम्वाद गर्ने क्रिया हो । जब मानिसले अन्तरमनमा सकारात्मक सम्वाद सुरु गर्छन् तब नयाँ–नयाँ सिद्धान्त र तथ्यहरूलाई स्थापित गरेका छन् । तर त्यही मनोवादबाट गरिने असफल कार्यले नकारात्मक परिणाम दिइ स्वयं व्यक्तिलाई हानी वा समाजलाई क्षति पुऱ्याउने पनि गर्छ । मनोवाद र मनोरोगबीचको भेद छुट्याउन सके मानिसले आफूलाई असल मार्गतिर डोऱ्याउन सक्छ ।
जब ज्ञानको भण्डारमा मानिस समाहित हुन्छ उसले आफूलाई एक्लाउँदै लैजान सक्छ, एक्लोपनमा रमाउन थाल्दछ, जस्तै आकासका असङ्ख्य ताराबाट अलग्गिएर चम्किरहेको चन्द्रमालाई देखाएर मुस्कुराउन थाल्दछ । मानिसले आफूलाई सकारात्मक पक्षमा उभ्याउन सके रचनात्मक र सृजनात्मक कार्यहरू पनि गर्न सक्दछन् । जस्तै, एकान्तपन वा ध्यान र तपश्याबाट गौतमबुद्ध संसारमा शान्तिको ज्ञान (सन्देश) छर्न सफल भए । यदि मानिस आफ्ना योजना र कार्यक्रममा असफल भए, पीडाबोध गर्न सक्छ, हो त्यही पीडादायी समय पहिल्याउनु र समयमै त्यसको ओखति गर्न मनोविज्ञानको सहयोग लिनु पर्दछ । उदाहरणको लागि एक मानिस आफ्नै आगनमा एकाग्रताका साथ वरिपरि दौडिँदा नलडेपनि मनमा सयौंथरि सोचहरू बोकेर दौडँदा लड्न पुग्छ किनकि आफ्नो क्षमताभन्दा बढी मानेवादको भारीले थिचिएर शरीरिक भाव विचलित हुन्छ, जहाँ दौडने क्रिया विज्ञान बाहिर परिवेशमा पुग्दछ । जब मनलाई विज्ञानसँग जोडेर कर्म गरिन्छ मानवका रहेक चुनौतीहरूको समाधानको उपाय भेटिन्छ ।
धन र गरिबीले उत्पन्न हुने मनोवाद :
गरिब हुनु वा गरिब परिवारमा जन्मनु आफैमा दोषी हुनु होइन । मानिस जब गरिब परिवारमा जन्मिन्छ, उसले गरिबीबाट उन्मुक्तिको लागि हरेक काम र उपायको खोजी सुरु गर्दछ । मनमनै धेरै छलफल र विवेचना गर्दछ कहिले भौतिक सुख–सुविधाबाट पीडित हुन पुग्छ त कहिले ती गरिबीका पर्खालहरू पार गरी खुशी पाउन सक्दछ । गरिबी र अभावले मानवको जीवनमा मनोवादको संख्या बढाउँदछ र प्रतिक्रियात्मक पनि बनाउँछ ।
यदि कुनै मानिस गरिबी तथा अभावसँग जुध्दैछ भने उसका मनका कुरा जति सुने पनि सकिने छैनन्, त्यसैले होला समाजमा धनी भन्दा गरिबहरू नै बढि मनोवादले घेरिएका हुन्छन् । गरिबीमा चेतनशील मन हुन्छ जुन बाहिरबाट देखिन्छ र उसलाई सधैं विवेकशील बनाइदिन्छ । बाहिर देखिएको परिस्थिति र अवस्थाले डर, भय थपिदिएको हुन्छ जुन कुरा भित्री अवचेतन मनसम्म पुग्न नदिन सम्वादको सहयोग लिनुपर्छ । चेतन अवस्थामै नकारात्मक सोच र विचारलाई परास्त गर्नु आवश्यक हुन्छ, किनकि अवचेतन मनले सही वा गलत छुट्याउँदैन, केवल चेतन मनले दिएको आदेश पालन मात्रै गर्दछ ।
अब मन सँग सम्बन्धित क्रिया तथा प्रतिक्रियाहरूबाट उत्पादित समस्याहरूको विवेचना गरौँ-
मनरोग (Mental disorder)
कहिलेकाहीँ मानिस आफैमा रमाउन खोज्दछ, जहाँ उसले आफ्नो दैनिक कार्य बिर्सन्छ । उसका मनभित्र खेल्ने कुराहरू, जस्तै- हर्षबढाइँ, श्रृंगार, रोमान्स, कला-संस्कृति, लेखरचना, दुःखद, बिभत्स आदि सबै परिवेश र वातावरणअनुसार प्रकट हुन्छन् । त्यसैले मानिसले नयाँ-नयाँ सपना आफ्नै बुन्ने र देख्ने गर्छन् । जब सपनाहरूले उत्साहित गर्दछ अनि मनमनै गुनगुनाउन थाल्दछ । यसरी उर्लिएका मनोभावलाई लिपिबद्ध गर्न सके साहित्य र संगीतमा सफल हुन सकिन्छ । एक्लै हुनु र गुन्गुनाउनु मनोरोग होइन तर त्यही एक्लोपन तथा गुन्गुनाहटले उसको दैनिक जीवनमा असर गरे मनोरोगमा परिणत हुन सक्छ ।
मानिसले सपना देख्नु नराम्रो होइन तर त्यही सपनामा अल्झिएर अनावश्यक बहस गरी समय तथा पैसा खर्च गर्नुचाहिँ मनोरोग नजिक पुग्नु हो । सपना सबै साकार हुदैनन् । सपना साकार बनाउन आफ्नो क्षमता, कौसलको भरपुर प्रयोग गर्नुपर्छ । आफ्ना सपना पूरा गर्ने धुनमा परिवारका अन्य सदस्यको दैनिकी जीवन र जगतमा दख्खल दिनुचाहिँ कदापि हुँदैन किनकि तपाईंको सपनासँग अरुको सपना मेल नखान सक्छ र दैनिकजसो एकआपसमा वैरभाव, बेमेल उत्पन्न गर्दछ, जसले मनरोग सम्म पु ऱ्याउन सक्दछ ।
लत लाग्नु (Addiction)
बालबालिका वा युवायुवतीलाई दैनिकी कार्य, जस्तै- बिहान उठ्ने, सरसफाइ गर्ने, खाजा/नास्ता खाने, लेख्ने पढ्ने तथा परिवारमा सहयोगी भूमिका निर्वाह गर्न पटक्कै मन लाग्न छोड्छ । बालबालिका वा युवा अवस्थामा हुनुपर्ने जोस, जाँगर, उत्साह गुमाइ कुलत वा अव्यवहारिक कार्य तथा अनुपयोगी काममा समय खर्च गरिरहन थाल्छन्, जसबाट बाहिर निस्कन स्वयंले वा अभिभावकले निकै कष्ट झेल्नुपरेको दृष्टान्त पनि छन् । त्यस्तो बेला कसैले बोलाए पनि झर्को लाग्ने, रिसाउने, आवेगमा चिच्याउने गर्दछन् भने लत बसेको बुझ्नुपर्दछ । यसबाट बिस्तारै शारीरिक र मानसिक असर देखिने गर्दछ, जस्तै- पेट दुख्ने, टाउको सुन्निने, दुख्ने, आँखाका डिल सुन्निने, आँखा रातो हुने, आत्तिने आदि हुन्छ । अझ नसालु पदार्थ सेवन गर्ने बानी छ भने त त्यसको खोजी गर्ने त्यस्तो समान उपलब्ध गराउने ब्यक्तिसँग फोनमा ब्यस्त रहने, सेवन गर्न नपाए रुने कराउने, सरसमान फुटाउने, पैसा तारन्तार माग्ने (डिमान्ड गर्ने) आदि गर्छन् । त्यसैले लत बस्नु पनि समय र पैसाको बर्बादीको प्रमुख कारण भएको छ ।
मानसिक रोग (Mental illness)
मानिसले सोच्नु, छलफल गर्नु, विचार आदानप्रदान गर्नु स्वाभाविक व्यवहार हुन्, जसले उनीहरूलाई आफैमा रमाउन सहयोग गर्दछ । तर, अनावश्यक वा अत्यधिक एकै विषयमा सोच्ने गर्दा प्रकृति र समाजबाट बेखबर रहन पुग्छन् । परिणामस्वरुप डर लाग्ने, असजिलो महसूस गर्ने, तर्सिने, अनिन्द्रा हुने, शारीरिक आलस्यता बढ्दै जाने हुन्छ भने त्यस्तो अवस्थालाई मानसिक रोग भन्न सकिन्छ ।
अभिभावकको आड, भरोसा तथा असल साथ-संगतले पनि धेरै यस्ता रोगहरू गाउँ घरमै ठिक हुन सक्छ । तर कडा रुपमा शारीरिक र मानसिक समस्या बढ्दै गए, जस्तै- दिनदिनै मानिस दुब्लाउँदै जाने, आत्तिएर वा तर्सिएर घरबाहिर बर्बराउँदै हिँड्ने, रातिमा उठेर कुद्ने, सास फेर्न गाह्रो भइ छट्पटिएर बेहोस हुने वा लडिबुडि गर्ने गर्दछन् भने यस्तो अवस्थाका ब्यक्तिले स्वयंलाई हानी पुऱ्याउने अरु सदस्यलाई पनि नोक्सान गर्न सक्छन् । यस्तो अवस्थाका मानिसले डिमान्ड (माग) गर्ने धेरै गरिरहन्छन् । उक्त मागबमोजिम नदिए हात टोक्ने, टाउकोमा हान्ने, कपडा च्यात्ने जस्ता क्रियाकलाप देखाउँछन् ।
केही मानसिक अवस्थाहरू जस्तै Anxiety, Depression, Psychosis, Abuse, Dementia आदिको बारेमा केही उल्लेख गर्नु उपयुक्त रहन्छ, किनकि यी कुराहरू सामान्यतया हामी सबैमा कुनै पनि बेला देखापर्न सक्दछन् ।
ब्यग्रता (Anxiety)
कुनै पनि विषयसँग सम्बन्धित चिन्ता (तनाव)को अनुपात मनमा बढ्दै गई आत्तिने वा चिन्ता हटिसकेपछि पनि उकुसमुकुस हुने अवस्थालाई एन्जाइटी भनिन्छ । यस समयमा डर लागिरहने, मन आत्तिने शारीरिक लक्षणका साथै दैनिकी क्रियाकलापमा बाधा अड्चन देखापर्दछ । यसमा बिरामीलाई आफू चिन्ताबाट ग्रस्त छु भन्ने ज्ञान हुन्छ तर मानिसक रोगी हुँ भनेर स्विकार्दैन । सकभर आफै उपचार गर्न कोसिस गर्छन् ।
उदासीपन (Depression)
दिनहुँ दुखित रहने, कुनै कुरामा चाख नदिने, खुशी नहुने, थकान र दिग्दारी मात्रै महसूस गर्ने अवस्था नै डिप्रेसन हो ।
– उठ्ने बित्तिकै नैराश्यताका कुरा गर्ने, हीनता भावले ग्रसित हुने
– झुट्टा कुरामा विश्वास गरी मन बिगार्ने
– मेरो कोही छैन, म गरिब भएँ, फलानोले धेरै कमायो भन्ने सोच्दै आफू समाजमा अपहेलित भएको महसूस गर्ने
– सुनाइमा भ्रम हुने
– आँखामा विनाकारण आँसु लिएर झोक्राउने
– शारीरिक सरसफाइमा ध्यान नदिने, मैला कपडा लगाउने, कपाल नकोर्ने
– आत्मग्लानी वा म मरे पनि हुन्छ भन्ने सोच्ने
यस्ता भावनाले मन-मुटु भरिभराउ गरेको हुन्छ ।
दुर्व्यवहार (Abuse)
मानविय स्वाभावले असल कर्म गर्ने तथा फलको आश गर्ने हुन्छन् तर व्यवहारमा काम पनि कम गर्ने फाइदा धेरै खोज्ने (आश धेरै गर्ने) मनोभावले ग्रसित भइ मानिस आरोप-प्रत्यारोपमा उत्रन्छन्, जसलाई अब्युज भनिन्छ । शोध र अनुसन्धानकर्ता तथा चिकित्सकका अनुसार दुर्व्यवहार मनोवैज्ञानिक र भावनात्मक गरि दुई प्रकारमा विभाजन गरिएका छन् । मनोवैज्ञानिक भन्नाले मनसँग सम्बन्धित रहन्छ भने भावनात्मकचाहिँ मनको क्रिया वा आवेगसँग सम्बन्धित छ, जसले हिंसासम्मको मद्दत लिने गर्दछ ।
भावनात्मक दुर्व्यवहारमा मौखिक आरोप तथा निरन्तर आलोचनादेखि हेराफेरि गर्ने, डर देखाउने जस्ता रणनीतिहरू समावेश हुन्छन् । यो कसैलाई नियन्त्रण गर्न, वशमा पार्न, एक्लोपनमा पुऱ्याउन प्रयोग हुन्छ ।
मनोविकृति (Psychosis)
यस्तो मानिसक अवस्था हो जसमा बिरामीले मानविय सोच, व्यवहार भन्दा बेग्लै अनौठो क्रियाकलाप देखाउँछन् । जसमा बिरामीले म रोगी हुँ भन्ने आभास गर्दैनन्, मानसिक सन्तुलत गुमाउन पुग्छन्, फलस्वरूप उनीहरूको भाव, भावना (Mood) मै गडबडी हुने गर्दछ । यस्ता शारीरिक र मानसिक दुबै अव्यवस्थाका लागि मनभित्र कुद्ने समवेदनाहरू रोक्ने उपाय तथा ओखतिमुलो आवश्यक पर्दछ ।
पागलपन वा उन्मत्तता (Dementia)
उन्मत्तता वा विक्षिप्तपन भनेको सोच्ने, सम्झने, तर्क गर्ने क्षमतामा ह्रास आएको अवस्था हो, फलस्वरूप निजको ब्यक्तिगत जीवन, गतिविधि लथालिङ्ग र भताभुङ्ग अवस्था पुग्दछ । यस्ता ब्यक्तिले आफ्ना भावनाहरूको नियन्त्रण गर्न सक्दैनन् र ब्यक्तित्व पागलपनमा परिणत हुन पुग्दछ ।
नकारात्मक क्रियाकलापले उसको व्यक्तित्वमा हस्तक्षेप गरेको हुन्छ । स्मरण शक्तिको कमीले सकारात्मक कार्यबाट ध्यान भड्किन्छ, तिनले नकारात्मक परिणाम र अनुभूतिमा संसार देखिरहेका हुन्छन् । यस्ता मानसिक अवस्थाका मानिसलाई अस्पतालमै भर्ना गरि चिकित्सकको निगरानीमा ओखतिमुलो गरेर रेखदेख गर्नु पर्दछ । यी सबै समस्याहरू बढ्दै जानुमा परिवारबीच बेमेल, बदलिँदो आर्थिक तथा सामाजिक परिवेश र विकसित संचार प्रविधिको दुरुपयोगले पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
सारंशमा
मनोवाद र मनोरोग तथा सम्वादबीच अन्तरसम्बन्ध छ । ब्यक्तिगत सीप र शैक्षिक योग्यता अनि आर्थिक परिधिको सही मुल्यांकन गरि आफ्ना सपनाहरूलाई फुकाउनुपर्छ, नत्र मानिस कुनै मनोभावबाट उत्साहित भएर काम फत्ते गर्न दौड्दा उदासिन भई फर्कनुपर्ने हुनसक्छ किनभने तपाईंले आफ्नो मनको भावलाई सम्वादमा परिणत गर्नुभएको छैन वा आफ्नो मनको कुरा समकक्षी वा सरोकारवाला सम्म पुऱ्याउनु भएको छैन वा उनिहरूलाई सहमत गराउनुभएन वा सहमत गराउन आवश्यक ठान्नु भएन भने पनि ठेस खानु पर्दछ । तसर्थ, आफैमा दोष देख्नुपर्ने अवस्था आइरहन्छ । यसरी आफ्नो गल्ती वा अरु कसैबाट थोपारिएको नकारात्मक सोचमा बहस (डुबेर) गरेर आफूभित्र रहेका हजारौं सकारात्मक उर्जालाई खेर नफाल्नु उत्तम नै हुन्छ । त्यस्तो हटाउन नसकिएको सोच (मनोवाद)लाई तत्काल सम्वादमा परिणत गर्नु अत्यावश्यक हुन्छ जुन एउटा सीप पनि हो ।
हरेक ब्यक्ति ब्यक्तिबीचको सम्वाद साधन हो भने मानिसको मनको वाद (कुरा) साध्य हुन् । साध्य र साधन दुबैको प्रयोगले मानिसका सपना पूरा हुन सक्छन् वा उसले सन्तुष्टि प्राप्त गर्न सक्दछ । जे-जस्तो अवस्था रहेपनि मनोवाद र सम्वादबीचको अन्तरसम्बन्धले मानिसका अनेकौँ प्रकारका मनोसमस्या समय नै समाधान गर्न सहयोग गर्दछ । मनले सोचेका कुराहरू पूरा नहुँदा नै मानव जीवनमा अनेकौँ चुनौतीहरू थपिन्छन् जसलाई एक्लै होइन कि आफ्नो विश्वासिलो पात्र वा अभिभावकसँगको पारस्परिक सम्वादले समयमै सामाधान गर्न कोसिस गर्नुपर्छ । यसो गर्दा पनि सम्भव नभए शरीरलाई व्यायाम, योगामा व्यस्त राख्न सक्नुपर्छ साथै पर्यटकीय स्थलको भ्रमणले पनि सहयोग पुग्दछ । अन्यथा मनोपरामर्शदाताको सहायता लिनु पर्दछ । जब मनलाई सन्तुलित राख्न सकिन्छ तब मात्रै पारिवारिक सुख तथा सभ्य, संस्कार युक्त समाजको निर्माणमा सहयोगी भूमिका निर्वाह हुनेछ । यी माथि उल्लेख गरिएका मानसिक समस्याहरूको समयमै पहिचान गर्न सके निदानको सही उपाय अपनाइ मानसिक रोगलाई टाटा वाई-वाई गर्न सकिन्छ भन्ने विश्वास गर्न सकिन्छ ।
(लेखक टोरेन युनिभर्सिटी अस्ट्रेलियामा सामाजिक सेवा तथा विज्ञान विषयका अध्यार्थी हुन् ।).
प्रतिक्रिया