बहिनीहरूको न्यायको लागि पैरवी गरिरहेका दाजुहरू

बहिनीहरूको न्यायको लागि पैरवी गरिरहेका दाजुहरू


हामी चेम्बरमा थियौँ, अपरिचत नम्बरबाट फोन आयो । ‘तपाईंसँग केही कुरा गर्नुछ, दिदी कता हुनुहुन्छ ?’ उनलाई कार्यालयमै आउन आग्रह गरियो । उनी केहीबेरमै उपस्थित भए । ‘हामीसँग भेट्नुपर्ने त्यस्तो के पऱ्यो भन्नुहोस्’ भन्ने जिज्ञासाको जवाफमा उनले छोरीहरूले पैत्रिक सम्पत्तिबाट अंश पाउँछन् कि पाउन्नन् ? कानूनमा के-कस्तो व्यवस्था छ ? यही बुझ्नु थियो’ भनी आफ्नो कुरा राखे । सिभिल इन्जिनियर कोर्स सकेर थप शिक्षाको लागि उनी क्यानडा जाँदै रहेछन् । आफ्नो सानो भाइ कृषिक्षेत्रमा रुचि भएकोले फर्महाउस खोलेर बसेको जानकारी दिँदै उनले भने- ‘मेरा बहिनीहरू व्यापार गर्न चाहन्छन्, व्यापारको लागि बुवा-आमासँग पैसा माग्दा घरमा झगडा भएको र चल-अचल सम्पत्ति जे भएपनि दिनुस् हामी त्यसैबाट व्यापार गर्छौं भन्दा बुवाआमाले किन चाहियो सम्पत्ति ? तिमीहरू विवाह रोज्छौ या सम्पत्ति ? भनेर छोरीहरूलाई भनेको सुन्दा हामी दाजुभाइलाई नराम्रो लाग्यो । यसैविषयमा परामर्श लिन आएको हुँ ।’

नेपालको कानूनले पैत्रिक सम्पत्तिमा छोरीलाई पनि समान अंशियार रहने व्यवस्था गरेको जानकारी उनलाई दियौँ । कानूनी प्रावधानबारे जानकारी पाएपछि उनले यो सबै आफ्ना दुई बहिनीहरूको लागि सोधेको पुनः दोहोऱ्याए । उनले भने- बहिनीहरू जुम्ल्याहा हुन्, माघमा उनीहरू १८ वर्ष पुग्दैछन्, उनीहरूको जन्मदिनमा पैत्रिक सम्पत्तिको हक प्रदान गर्ने हामी दाजुभाइको इच्छा छ, तर आमाबुवा मान्नुहुन्न । बुवाआमाले नानीहरूको विवाह गरिदिने कुरामात्रै गर्नुहुन्छ । उनीहरूको भविष्यप्रति चिन्ता खासै गरेजस्तो लागेन । बहिनीहरू पढाइमा लगनशील छन् । उनीहरूलाई व्यापार गर्ने इच्छा पनि छ । हामी दाजुभाइले पनि बहिनीहरूको इच्छाबमोजिम उनीहरूलाई साथ दिने निर्णय गरेका छौँ ।

ती दाजुले बहिनीहरूप्रति देखाएको आत्मियता र अभिभावकत्व अत्यन्त सह्राहनीय थियो । अन्तिममा उनले आमाबुवालाई सम्झाइदिन अनुरोध पनि गरे । उनीको घरमा छोरीहरूलाई सम्पत्ति दिने विषयमा नै झगडा उत्पन्न भएको रहेछ । दुई छोराहरूले ‘पहिलाको जस्तो समय होइन, अहिले छोरीहरू धेरै माथि पुगेका छन् । बस्, आफ्नो परिवारको साथ-सहयोग हुनुपर्छ’ भन्दै बहिनीहरूको इच्छाविपरित काम नगर्न बुवाआमालाई सम्झाएका रहेछन्, तर बुवाआमाले मानेनन् । पैत्रिक सम्पत्ति छोरीलाई दिने या नदिने भन्ने विवाद बढ्यो र अदालतसम्म पुगे । अन्तमा दुई दाजुहरू र बहिनीहरूले आमाबुवाविरुद्ध अंशचलन मुद्दा नै दर्ता गरे ।

आफ्ना दुई बहिनीहरूको लागि दाजुहरूले गरेको योगदान नेपाली समाजको लागि नौलो त होइन होला, तथापि दिदी-बहिनीहरूको आत्मसम्मानको लागि दाजुभाइले पनि आफ्नो ठाउँबाट बोल्नुपर्छ भन्ने कुरालाई यी दाजुभाइले सिद्ध गरिदिएका छन् ।

छोरीलाई अंश किन ?

छोरालाई अंश दिन प्रश्न नगर्ने समाजले छोरीलाई अंश दिन किन प्रश्न गर्ने ? वास्तवमा यो सोचनीय विषय हो । यस्तो विभेद आवश्यक छैन । हाम्रो समाजमा छोरीका तमाम मुद्दाहरू सम्पत्तिमै गएर ठोकिन्छन् । जबसम्म छोरी आर्थिक रुपमा बलियो हुन्नन् तबसम्म उनमा आत्मविश्वास आउँदैन । एकै कोखबाट जन्मेको दाजुभाइले पैत्रिक सम्पतिमा हक जमाउने तर छोरीमात्र त्यसबाट बञ्चित किन त ? छोरीलाई ‘अरुको घर जाने मान्छे’को संज्ञा दिएर उनको आत्मबल तल पार्न मिल्दैन । प्रकृतिको नियम हो विवाह गर्नुपर्ने, तर विवाहको नाममा आफ्नो अस्तित्वलाई पनि जोगाएर राख्न नदिने ? यो त भएन । त्यो अस्तित्वले पूर्णता त्यतिबेला पाउँछ जब उनसँग आफ्नै हक लाग्ने सम्पत्ति हुन्छ । छोरीहरूप्रति अझ पनि हाम्रो समाज उदार छैन । छोरीको निर्णय आफैले लिन खोज्छन् । परिवारले आफ्नो सन्तानको निर्णय लिन पाउँछन् भन्नेमा दुई मत रहन्न, किनकि भोलि गएर आफ्नो सन्तानलाई केही भयो भने त्यो जिम्मा अरुले त लिँदैन, सबै जस-अपजस आफ्नै परिवारमाथि आउँछ । तर, सन्तानको चाहना वा इच्छालाई मारेर आफ्नो हैकमवाद छोराछोरीमाथि प्रयोग गर्छु भनेर कोही अभिभावकले सोच्छ भने त्यो मुर्खताबाहेक अरु केहि पनि हुँदैन । छोरीलाई आर्थिक तथा समाजिक रुपमा बलियो बनाउन पनि पैत्रिक सम्पत्तिमा समान अंशियार बनाउनु आवश्यक हुन्छ ।

के छ कानूनी व्यवस्था ?

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा १८ मा समानताको हक भन्ने व्यवस्था गरेको छ । सोही धारा १८ को ५ मा पैत्रिक सम्पत्तिमा लैगिंक भेदभावविना सबै सन्तानको समान हक हुनेछ भनेर व्यवस्था गरेको छ । यसले प्रष्ट बोलेको छ ।

यसैगरी मुलुकी देवानी २०७४ को दफा २०५ मा सगोलको सम्पत्तिमा पतिपत्नी, बाबुआमा, छोराछोरी अंशियार मानिनेछन् भनेर उल्लेख गरेको छ भने दफा २०६ मा प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन् भनेर व्यवस्था गरेको छ ।

कहिले हुन्छ सोचको विकास ?

कुनै पनि व्यक्तिमा चेतनाको स्तर कति छ त्यसबाट सिद्ध हुन्छ परिवर्तनको धार । व्यक्तिले आफ्नो बानीलाई विभिन्न क्रियाकलाप गरेर परिवर्तन गर्न सक्ला तर आफ्नो धारणालाई परिवर्तन गर्न गाह्रो नै मान्छ । यसबारे एउटा भनाइ पनि छ, संसारमा जटिल काम भनेको आफू परिवर्तन हुनु हो तर हामी अरुलाई परिवर्तन गर्ने दौडमा छौँ । यस्तै जटिलताहरू विभिन्न समयक्रमसँगै बढेर जान्छ । लैङ्गिक समानताको लागि उठाइएका सवालहरू पुरुषविरोधी होइन केवल प्रवृत्तिविरोधि हो । त्यो प्रवृत्ति महिलामा पनि हुन्छ । त्यसमा जो व्यक्ति पनि पर्न सक्छन्, जरुरी छैन कि पुरुषहरूमा मात्र सोचाइ आउनुपर्छ भन्ने, त्यो सोचाइ महिलाभित्र पनि आउनु जरुरी छ । लैङ्गिक समानताको मुद्दाले भौतिक परिवर्तन मागेको होइन केवल महिला, पुरुष यौनिक तथा लैगिंक अल्पसंख्यकहरूप्रति एकअर्काले गर्ने व्यवहार, उनीहरूप्रतिको सोचाइ र आउने धारणा परिवर्तन गर्न खोजेको छ ।

प्रायः सबैको घरमा सम्पत्तिको विषयलाई लिएर नै कलह हुन्छ । व्यक्तिको जीवनमा सम्पत्ति केही होइन भनेर तर्क गर्नेहरू पनि छन् भने कहीँ-कतै सम्पत्तिलाई प्रमुख मानेर तँछाडमछाड गर्नेहरूको पनि लर्को नै छ । विश्वमा सबै काम सम्भव छ तर धारणा परिवर्तन गर्ने काम गाह्रो छ । पुरातन सोच, मूल्य-मान्यता जहाँ पनि जकडिएको छ । समाज जति-जति शिक्षित भयो त्यति स्तर घटेको महसूस विभिन्न घटनाक्रमहरूले देखाउँछ । यसक्रममा वर्तमान समाजले छोरा र छोरीमा सिद्धान्ततः त विभेद गरेको छैन तर छोरीलाई अंश दिने कुरामा भने अहिलेसम्म व्यक्ति उदार भएको देखिन्न । अहिले पनि छोरीलाई विवाह रोज या सम्पत्ति रोज भनेर दबाबमा पारिन्छ । ‘विवाहपश्चात महिलाले त पतिको अंश पनि पाउँछ नि’ भन्ने सोच राखेको छ समाजले, तर विवाह भएको व्यक्तिको सम्पत्ति हुन्छ भन्ने पनि त छैन । केटाको सम्पत्ति नहुन पनि सक्छ । फेरि सम्पत्ति भए विवाह गर्ने नभए नगर्ने भन्ने कुरा पनि मिल्दैन । त्यसैले आफ्नो छोरीलाई पैत्रिक सम्पत्तिमा छोरासरह या बराबरको हकदार बनाए यस्ता समस्याहरू टाढा भाग्छन् । जन्मेको घरबाट जानुपर्ने, कर्मघर पतिको हुने अनि छोरीको घर कहाँ हुन्छ त ? यो प्रश्नप्रति प्रत्येक अभिभावक संवेदनशील बन्नु जरुरी छ । शिक्षाको साथमा छोरीलाई अंश पनि दिउँ । सम्पत्तिले व्यक्तिको आत्मविश्वासलाई जागृत गर्छ । उसको गरेर खाने अरु बाटो नभएको अवस्थामा भएको चल-अचल सम्पत्ति बेचेर आफनो लागि केही जोहो गर्न पनि सक्छन् । दयामायाले दिने होइन बरु छोरीको पाउनुपर्ने हक-अधिकार हो भनेर अभिभावकहरूले छोरीलाई पैत्रिक सम्पत्ति दिनुपर्छ । दिने र लिने दुवै पक्षको यसैमा कल्याण छ ।