धादिङ उद्योग वणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेदवारी

धादिङ उद्योग वणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेदवारी


धादिङ उद्योग वणिज्य संघको ११औँ अधिवेशनबाट नयाँ कार्यसमितिको लागि हुने निर्वाचनमा धादिङका लोकप्रिय युवा व्यवसायी रोहित भण्डारीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

यही पौष २६ र २७ गते जिल्ला सदरमुकाम धादिङवेसीमा हुन लागेको धादिङ उद्योग वणिज्य संघको ३१औँ साधारणसभा तथा ११औँ अधिवेशनमा भण्डारीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

शनिबार (१३ पुस) आयोजित एक औपचारिक कार्यक्रमबीच भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको उम्मेदारीलाई धादिङ उद्योग वणिज्य संघका ६ जना पूर्वअध्यक्षहरु तेजबहादुर भण्डारी, ध्रुवबहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्री र हालका वरिष्ठ उपाध्यक्ष तथा ११औँ अधिवेशनपछिका अध्यक्ष रामकुमार डल्लाकोटी लगायतले समर्थन जनाएका बुझिएको छ ।

२०४८ सालमा स्थापना भएको धादिङ उद्योग वणिज्य संघमा हाल १ हजार ९ सय १८ अठार सदस्य रहेका छन् । ११औँ अधिवेशनले ३३ जनाको कार्यसमिति चयन गर्नेछ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा निर्वाचन हुने र पछि अध्यक्ष स्वतः वरिष्ठबाट जाने अनि अध्यक्षले कार्यसमितिको बैठकबाट पदाधिकारी चयन गर्ने विधानमा ब्यवस्था रहेको छ ।

यस्ता छन् रोहित भण्डारीका सार्वजनिक प्रतिवद्धताहरु :

✍ धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा भौतिक रुपले आधुनिक, सेवा प्रवाहका हिसाबले ब्यवसाय मैत्री र क्षमताका हिसाबले सक्षम जनशक्ति सहितको ब्यवसायिक परामर्श केन्द्र स्थापना गर्ने ।

✍ वैध रुपमा जिल्लामा सञ्चालित सबै प्रकारका उद्यम, व्यवसायलाई संघमा आवद्ध गरी उनीहरुको ब्यवसायिक प्रवर्द्धन र बजारीकरणमा प्राथमिकता दिने ।

✍ उद्योग ब्यवसायमैत्री नीतिको तर्जुमा, नीतिहरुको पुनरावलोकन र भयरहित ब्यवसाय विकासको वातावरण तयार गर्न प्रयत्नरत रहने ।

✍ उद्यमशीलता, नेतृत्व विकास र प्राविधिक सीप विकासका कार्यशाला, सेमिनार र प्रशिक्षणहरु संचालन गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल गर्न सघाउने ।

✍ मेलाहरुलाई उत्सवका रुपमा संचालन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय(अन्तराष्ट्रिय रुपमा प्रवर्द्धन गर्दै स्थानीय ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरुबीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने ।

✍ उद्यमी/ब्यवसायीहरुलाई ऋण वा लगानीका अवसरहरु सुरक्षित गर्न मद्दत गर्ने, वित्तिय संस्थाहरुसंग समन्वय गर्ने एवम् वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने ।

✍ राष्ट्रिय/अन्तराष्ट्रिय फर्महरुसँग साझेदारीमार्फत नयाँ प्रविधिहरुमा जिल्लाका उद्यम ब्यवसायलाई जोड्ने ।

✍ महिला, विपन्न, सिमान्तकृत समुदाय एवम् अपांगता भएका ब्यक्तिहरुका लागि सम्भाब्य उद्यम ब्यवसाय छनौट गरी उनीहरुको पहुँच स्थापित गर्ने ।

✍ जिल्लाको पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षणका क्षेत्रमा ब्यवसायिक संभाव्यताको थप अध्ययन गरी कार्यक्रम बनाउने ।

✍ जिल्लाको राजमार्ग क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्नुका साथै बुढीगण्डकी जलविद्युत परियोजना यथासिघ्र कार्यन्वयनमा ल्याउन संस्थागत पहल गर्ने ।

✍ जिल्लाको मुख्य आम्दानीको श्रोत रहेको खनिजजन्य उत्पादन, जडीवुटी लगायतको विविधीकरण र बजारीकरणको लागि पहल गर्ने ।

✍ स्थानीय तह स्तरमा उद्योग वाणिज्य संघको भूमिकालाई थप प्रभावकारी बनाउन स्थानीय तह स्तरिय उद्योग वाणिज्य समितिहरु गठन गरि सक्रिय तुल्याउने ।