
पार्टी कमिटी ‘कोमा’मा पुर्याउने, आलोचना गर्न बाध्य बनाउने, आलोचना सुन्नासाथ अनुशासनको बन्दुक तेर्स्याउने ओली-कार्यशैलीपश्चात् एमाले कार्यकर्ताको अग्निपरीक्षा सुरु भएको छ ।
✍ नेपाली ओर्बेल
सैनिकको तागत बन्दुक हो भने एमालेको तागत मजबुत सङ्गठन र फलामे अनुशासन हो । माधव-झलनाथको बहिर्गमनपश्चात् नेता ओलीको एकमात्र लक्ष्य ‘अध्यक्षको कुर्सीमै आर्यघाट जानु’ हो । दुर्भाग्यवश ओली-नेतृत्वमा एमाले र मुलुकले सकारात्मक परिवर्तन महसुस गर्न पाएको छैन । ओली-नेतृत्वमा तमाम बेथिति, ढिलासुस्ती, भ्रष्टाचार घट्नुको सट्टा दिन प्रतिदिन नयाँ-नयाँ काण्डको खुलासा हुँदा जनताले उनप्रति सकारात्मक सोच्न छाडिसकेका छन् । आफैले बाँडेको सपनाले सिर्जना गरेको विरोधलाई रोक्न नेता ओलीले जर्ज ओर्बेल १९८४ को तरिका सापटी लिँदैछन् ।
आजको समयसँग ठ्याक्कै मेल खाने ८ जुन १९४९ मा प्रकाशित ‘जर्ज ओर्बेल १९८४’ उपन्यास मुलुकमा फेरि एकपटक चर्चित बन्दैछ । पुस्तकमा लेखिएका तथ्य वर्तमान नेपाली समाज र ओली राजनीतिसँग हुबहु मिल्दैछ । हिट्लरले निर्माण गरेको इतिहासलाई पल्टाउँदा फेला पर्ने डरलाग्दो शब्द Cleansing ले यहुदीमाथि कसरी प्रयोग गरियो ? एउटा जाति वा समुदाय र बस्ती सखाप पार्न प्रयोग भएको शब्द Cleansing कति वीभत्स थियो भन्ने जर्ज ओर्बेल १९८४ को पाना-पानामा पढ्न पाइन्छ ।पुस्तकमा एक विचार-प्रहरीको दिमागलाई देखाउँदै भनिएको छ- ओर्बेल यस्तो संस्थाको कल्पना गरिरहेका छन् जुन हरेक नागरिकको मनभित्र जन्म लिइरहेको विचार जान्दै हरेक नागरिकमाथि नजर राखिन्छ । कुनै पनि नागरिक पार्टीको खिलाफ सोच्न सक्दैनन्, लेख्न सक्दैनन्, बोल्न सक्दैनन् । ठाउँ-ठाउँमा माइक्रोफोन लगाइएको छ । टेलीस्क्रीन लगाइएको छ । जसबाट तपाईंमाथि निगरानी बढाइएको छ। तपाईंका गतिविधि हेरिएको छ । देखिएको छ । सुनिएको छ । विचार-प्रहरी चाहँदैनन् कि कुनै पनि नागरिकभित्र कुनै प्रकारको भावना जीवित रहोस्, यस्तो भावना अतिरिक्त खुसी नै किन नहोस् ! भावनामाथि पार्टीको नियन्त्रण होस् ।
नेता ओली केही न केही गरेर देखाउनुपर्ने दबाबमा छन् । लोकप्रिय बन्ने धुनमा सरकार कसैसँग सल्लाह सुझाव लिन रुचि राख्दैन । अझ भनौँ, कसैसँग सल्लाह गर्नु आफ्नो कमजोरी सम्झन्छ । केवल कुर्सी प्राप्त गर्ने सर्तमा विगतमा स्वीकार गरिएका उपलब्धिहरू ओलीको अरुचिका विषय थिए । बाध्यात्मक उपलब्धिलाई फलाउने फुलाउने जाँगर ओलीसँग थिएन/ छैन । जसले गर्दा उनको अन्तिम इनिङ गन्तव्यहीन बन्न पुगेको छ।
आफ्नै कार्यशैलीले थलिएका नेता ओली बोल्नासाथ सामाजिक सञ्जाल तातीहाल्ने दुर्भाग्यपूर्ण अवस्थाको सामना गर्दैछन् । आफ्ना असफलता छोप्न गरिएको ‘भीम रावल’ प्रकरणले उनको अलोकप्रियता थप चुलिएको छ, जसले गर्दा माले-एमाले निर्माणको चरणमा अत्यन्त दु:ख-कष्ट भोगेका कार्यकर्ता र नेताहरू ओलीसँग असन्तुष्ट छन् । पदमा नभएका, खान नपाएका मात्र हैनन् सबै अवसरको उपभोग गरिरहेका कमरेडहरू समेत ओली-कार्यशैलीबाट निराश छन् । उनी हतारमा छन् तर हतारो छैन । उनी समृद्धिका भोका छन् तर टन्न अघाएका छन् । पार्टीको मूल सिद्धान्त ‘लेनदेनवाद’ बनाउँदै ‘सुखसयलवाद’मा डुबेका छन् । जनताको आवश्यकताहरूको प्राथमिकिकरण गर्न चुकेको ओली-शासन भुइँफुट्टावाद, आवारा पुँजीवाद र दलाल पुँजीवादको सेवामा जुटेको छ ।
सोभियत सत्ता ढलेसँगै संसद्वादी भएको ओली-राजनीति संसदीय व्यवस्थाको कुरूपताभित्र रमाउँदै छ । पार्टीभित्र लोकतन्त्र मार्दै चिनियाँ लोकतन्त्रको पाठ पढाउँदै छन् । ‘काम गर्दा कमजोरी भए आएर भन्नुस्, पार्टी कमिटीमा राख्नुस्’ भन्छन् तर पार्टी कमिटी पद्धतिमा नचलेको भुसुक्कै बिर्सन्छन् । उनको कार्यकालमा पार्टी पद्धति, विधान, सिद्धान्त, नीति जस्ता अत्यावश्यक विषय मुसाको सिङ बनाएका छन् । आफ्नै कार्यकर्ताको सामान्य सुझाव सामाजिक सञ्जाल र मिडियामार्फत पोख्नासाथ अनुशासन उल्लङ्घनको डन्डा चलाउँछन् । आम जनता र कार्यकर्ताको अत्यधिक आशा र भरोसा बिसाउँदै ‘वाम आन्दोलनको हिट्लर’ बन्न आतुर छन् ।
व्यापारीलाई साक्षी राखेर देउवासँग सम्झौता गर्दै प्राप्त गरेको अल्पकालीन सत्ताको भ्रममा परेको ओली-शासन न पार्टीको हुन सफल भयो, न मुलुकको ! अत्यन्त सानो घेरामा बस्न रुचाउने, सिद्धान्तलाई बोझ ठान्ने, आफूलाई सम्पूर्ण विषयबस्तुको ज्ञाता सम्झने प्रवृत्तिको कारण कार्यकर्ता र जनताको विश्वास नराम्रोसँग गुम्दै छ । संविधान संशोधनको बहानामा ‘डिप-स्टेट’ले जन्माएको ओली शासन नागरिकको नजरमा औचित्यहीन बनिरहेको छ । आफ्नो हैसियत भन्दा बढी हौसिएको सरकार कोसँग प्रतिस्पर्धा गर्ने र कहाँ पुग्ने भन्ने भुलिसकेको छ।
उनी हतारमा छन् तर हतारो छैन । उनी समृद्धिका भोका छन् तर टन्न अघाएका छन् । पार्टीको मूल सिद्धान्त ‘लेनदेनवाद’ बनाउँदै ‘सुखसयलवाद’मा डुबेका छन् । जनताको आवश्यकताहरूको प्राथमिकिकरण गर्न चुकेको ओली-शासन भुइँफुट्टावाद, आवारा पुँजीवाद र दलाल पुँजीवादको सेवामा जुटेको छ ।
पछिल्लो समय सिंहदरबारमा नेता ओलीको रजगज चलेको छ । सुधारवाद, गुटवाद र राष्ट्रवादको पुँजीले मिलेको संसदीय अङ्कगणितपछि पछाडि फर्केर हेर्न नचाहने, छलफल, अध्ययन, परामर्श जस्ता कुरा र पार्टी पद्धतिलाई बोझ मान्ने कमरेड ओलीको दम्भपछि वामसत्ता अकल्पनीय नोक्सानीलाई स्वागत गर्न हतारिँदै छ । स्वदेशी, विदेशी, अर्ग्यानिक, हाइब्रिड मात्र हैन आर्टिफिसियल समस्याको समाधान कसरी गर्ने ? जवाफ पाउन सकिरहेको छैन । भ्रष्टाचार, सुशासन र समृद्धिको कुरा गरेर कहिल्यै नथाक्ने ओलीको कार्यकाल हर क्षेत्रमा ऋणात्मक सूचकाङ्क बनाउन हतारिएको छ ।
पार्टी र सरकारलाई गति दिन असफल ओली-कार्यकाल आफ्नै असफलताको सिकार भएको छ । आचरण, इमानदारिता र कार्यक्षमतामा ह्रास आउन सुरु भएको ओली-राजनीति पछिल्लो कालखण्डमा आफ्नो प्रतिष्ठा कायम राख्न चुक्दैछ । जबजको सिद्धान्त ‘रोगी र बुढो’ भएको पार्टी राजनीतिमा प्रतिद्वन्द्वी देख्न नचाहेको ओली-सत्ता तत्काल आँखा खोल्न राजी छैन । दुनियाँभरका पुँजीवादी शक्ति, नेपालभित्रका दक्षिणपन्थी शक्ति, लोकतान्त्रिक शक्ति र अनेक रूपमा रहेका वामविरोधी शक्तिलाई खुसी बनाउँदै एमाले पार्टीलाई दीर्घकालीन कब्जा गर्ने असफल कोसिसमा निस्किएका छन् ।
विगतदेखि वर्तमानसम्म व्यक्तिगत गुन लगाएकै भरमा अनुपयुक्त पात्रलाई उपयुक्त स्थानमा पुर्याउने उनको कार्यशैली हाइब्रिड लोकतन्त्रको दुःख बनेको छ । भाषा, धर्म, परम्परा, संविधान, कानुन, नियमको ठेलीमा पाइने कमा, फुल स्टप, ह्रस्व, दीर्घ मात्र हैन सर्वसाधारण मानिसले लगाउने टोपी कसले, कसरी लगाउँछन् भन्नेसम्मको ज्ञान भएका प्रधानमन्त्री ओली मुलुक र पार्टी निर्माणमा चुक्दैछन् । पार्टीमा अपमानित र बेरोजगार हजारौँ कार्यकर्ताको वेदनालाई आफ्नो जीत सम्झन्छन् । विकास, समृद्धि र सुशासनको माग गर्ने सर्वसाधारणको ध्यान अन्यत्र मोड्न कथित कदम चाल्छन् । विज्ञान र द्वन्द्वात्मक भौतिकवादको विसर्जन गर्न मरिहत्ते गर्दैछन् ।
छलफल, अन्तरक्रिया, कमिटी पद्धतिबाट कोसौँ टाढा रहेको ओली-राजनीति एमालेको भविष्यप्रति चिन्तित रहेको महसुस हुँदैन । कार्यकर्ता र नेतृत्वबिच अत्यन्त ठुलो खाडल, तमाम नेतामा आत्मकेन्द्रित प्रवृत्ति, नेतृत्वकेन्द्रित सिद्धान्त, भेडीगोठ केन्द्रीय कमिटी, अर्थकेन्द्रित राजनीति, दलाल, बिचौलिया, भुइँफुट्टा वर्ग, आयाराम गयारामहरुको घेराबन्दीले थला परेको एमाले उकास्ने जाँगर अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग नरहेको खुलिसकेको छ।
पार्टी कमिटी ‘कोमा’मा पुर्याउने, आलोचना गर्न बाध्य बनाउने, आलोचना सुन्नासाथ अनुशासनको बन्दुक तेर्स्याउने ओली-कार्यशैलीपश्चात् एमाले कार्यकर्ताको अग्निपरीक्षा सुरु भएको छ । वर्तमान बेथिति र अराजकतालाई खुला छुट दिँदै राजनीति छोडिदिने, पार्टीमा विद्रोह गर्दै नयाँ पार्टी निर्माण गर्ने, नितान्त व्यक्तिगत स्वार्थलाई ध्यान दिँदै नेता ओलीसँग आत्मसमर्पण गर्ने या नेतृत्वको गलत रवैयाविरुद्ध पार्टीभित्र सङ्घर्ष चर्काउने बाटो एमाले कार्यकर्ताले तय गर्नुपर्नेछ । उल्लेखित विकल्पहरूमा निर्मम ढङ्गले कदम चाल्न नसके नेता ओलीले जर्ज ओर्बेल १९८४ को नेपालीकरण गर्नेछन् । ततपश्चात् नेता ओलीको नेतृत्वमा एमाले पार्टीको ‘लिक्युडेसन’ सफलतापूर्वक सम्पन्न हुनेछ ।
प्रतिक्रिया